समानुपातिक सांसद फिर्ता बोलाउन सक्ने प्रावधानबारे कांग्रेसले गरायो जानकारी

संशोधित विधानअनुसार समानुपातिक सांसद फिर्ता बोलाउने अधिकारबारे कांग्रेसले सांसदहरूलाई जानकारी गराएको छ ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Nepali Congress provides information on provision for recalling proportional representation MPs

काठमाडौँ — कांग्रेसले आफ्ना समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने नयाँ प्रावधानबारे सांसदहरुलाई सुसूचित गरेको छ l 

`संसदीय सचेतना कार्यक्रम´ मा उपसभापति विश्वप्रकाश शर्माले पार्टी विधानमा रहेकोे यस्तो व्यवस्थाबारे स्मरण गराएका हुन् । सो क्रममा उनले विशेष महाधिवेशनबाट परिमार्जित विधानको दफा ४० पढेर सुनाए l सो दफामा कांग्रेसको संसदीय दलसम्बन्धी व्यवस्था छ l जसमा चारवटा उपदफा छन् l

चौथो उपदफापछिको स्पष्टीकरण खण्डमा भनिएको छ- 'पार्टीका तर्फबाट उम्मेदवार भई समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य भएको संसदीय जिम्मेवारीलाई प्रभावकारी र जवाफदेही बनाउन- निजले प्रचलित कानुन विपरीत काम गरेमा, पार्टीको निर्देशन र मूल्यमान्यता विपरीत काम गरेमा, कार्यसम्पादन मूल्यांकन सन्तोषजनक नदेखिएमा समानुपातिक सांसदलाई पार्टीले जुनसुकै बेला फिर्ता बोलाउन सक्नेछ l' 

उक्त व्यवस्था कार्यान्वयनका लागि पार्टीले सांसदहरु समेतको सुझाव माथेर चाँडै निर्देशिका बनाउने पनि `संसदीय सचेतना कार्यक्रम´ मा उपसभापति शर्माले जानकारी दिए l

कांग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिएको हो ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । 

कान्तिपुर

Link copied successfully