कान्तिपुरसँगको कुराकानीमा झापा–५ का अधिकांश मतदाताले शान्ति स्थिरता र सुशासनसँगै सरकारले स्थायित्व पाउनुपर्ने धारण व्यक्त गरेका हुन् ।
What you should know
पाँचथर — पटक–पटक प्रधानमन्त्री चुनेका झापा–५ का मतदातामा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सुशासन र स्थिरताको अपेक्षा गरेका छन्।
कान्तिपुरसँगको कुराकानीमा झापा–५ का अधिकांश मतदाताले शान्ति, स्थिरता र सुशासनसँगै सरकारले स्थायित्व पाउनुपर्ने धारणा व्यक्त गरेका हुन्। झापा–५ मा रास्वपा वरिष्ठ नेता शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए। ‘यसपटक नयाँ अनुहार चुनेर पठायौं, अबको सरकार ५ वर्षसम्म चलोस्, सुशासनको बिजारोपण होस्, यत्ति भए पुग्छ,’ दमकका डम्बर खतिवडाले भने।
दमक बजारमा व्यवसाय गर्दै आएका लक्ष्मी काफ्लेले यसअघि पटक–पटक सरकारको नेतृत्वमा पुगेका दल र सरकारी संयन्त्रमा रहेर भ्रष्टाचारको आरोप लागेका व्यक्तिमाथि छानबिन गरिनुपर्ने बताए। ‘नयाँ जोस र जनादेशसहित आएको दलबाट बनेका नयाँ अनुहारले पुराना फाइल पल्टाएर छानबिन सुरु गरून्, दोषी प्रमाणित भएका जोकोहीलाई कानुनी दायरामा ल्याउन सकून् मेरो चाहना यहीँ हो,’ उनले भने।
झापाको गौरादह घर भएर दमक–काठमाडौं बस चलाउँदै आएका विक्रम लिम्बू नवनियुक्त प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारले यातायात क्षेत्रमा रहेका विकृति अन्त्य गर्न कदम चाल्नु पर्ने अपेक्षा गर्छन्।
‘लाखौं लगानी गरेर सुरु गरेको व्यवसाय आन्दोलनकारीका नाममा निस्कने समूहले बन्द गर भने बन्द गरिदिनु पर्छ, हड्तालका नाममा आधा बाटो र जंगलमा गाडी रोकेर दिनरात कटाउनु पर्छ। साँच्चिकै परिवर्तनको अनुभूति दिलाउने हो भने कानुन अनुसार कर तिरेर निर्धक्क काम गरेर खाने वातावरण हुनुपर्यो,’ उनले भने।
गौरीगन्जकी सिर्जना राजवंशी नयाँ सरकारले किसानमैत्री कार्यक्रम ल्याउन पर्ने धारणा राख्छिन्। ‘रातदिन दुःख गरेर उब्जनी गरेको धान र गहुँ कहिले बाढी त कहिले असिनाले लगिदिन्छ, बालीमा रोगकीरा लाग्दा उपचार गर्ने माध्यम छैन, टोलटोलमा प्राविधिक आइपुग्ने वातावरण बनोस्, पशु र बाली बिमा लागू गरियोस्, यत्ति भए किसानको हित हुनेछ,’ उनले भनिन्।
उनीहरूले यसअघि जिताएका जनप्रतिनिधिले पटक–पटक देशको नेतृत्व गर्दा अरु क्षेत्रको तुलनामा यहाँ विकास भए पनि समानुपातिक बजेट वितरण हुन नसकेको बताए। ‘यसअघि विकास निर्माण र बजेट वितरण समानुपातिक थिएन, पहुँच हुनेले आफ्नो क्षेत्रमा बजेट खन्याउँथे, अब यस्तो परिपाटी सधैंका लागि अन्त्य होस्,’ किराँत चोकका शिव राईले भने।
‘पटक–पटक एउटै दललाई भोट दियौं, हामीले जिताएका नेता मुलुकको महत्वपूर्ण जिम्मेवारीमा पुगे, तै पनि उनीहरूको कार्यशैलीसँग सन्तुष्ट हुन सकेनौं। जेन–जी आन्दोलन पश्चात भएको निर्वाचनमा नयाँ दलबाट उदाएका युवा जोसका उम्मेदवारलाई जिताएर पठाएका छौं। उनको नेतृत्वमा मुलुकले काँचुली फेरोस्,’ राईले भने।
