पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई पक्राउ गरिएकोमा सडक संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै कार्यकर्ताहरु काठमाडौंलगायत देशभर प्रदर्शनमा उत्रिएका छन् ।
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशका विभिन्न जिल्लामा प्रदर्शन गरिएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई पक्राउ गरिएकोमा सडक संघर्ष गर्ने सचिवालय बैठकको निर्णयसँगै कार्यकर्ताहरु काठमाडौंलगायत देशभर प्रदर्शनमा उत्रिएका छन् ।
एमालेमा विभिन्न जनसंगठनमा आबद्ध कार्यकर्ताहरुले दिउँसो ३ बजेदेखि माइतीघरमा भेला भएर प्रदर्शन गरेका छन् । एमाले कार्यकर्ताले ओलीको रिहाइको माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका छन् । सडकका डिभाइडर तोडफोड गर्दै टायर बालेर प्रदर्शन गरेका कारण सडकमा सवारीसाधन ठप्प छ । टायर र डिभाइड जम्मा पारेर कार्यकर्ताले जलाउँदा प्रहरीले त्यसलाई रोक्ने प्रयास गरेको छ ।
कान्तिपुर संवाददाता प्रताव विष्टका अनुसार हेटौंडामा एमालेका नेता–कार्यकताहरुले विरोध जुलुस निकालेका छन् । हेटौंडा उपमहानगरपालिका-५ स्थित पार्टी कार्यालयबाट निस्केको जुलुसले नगर परिक्रमा गर्दै अध्यक्ष ओलीलाई रिहा गर भन्दै नारा लगाएका थिए । नगर परिक्रमापछि बुद्धचोकमा भएको भेलालाई सम्बोधन गर्दै युवा नेता राजेश नगरकोटीले पार्टी अध्यक्ष ओलीलाई बिनासर्त रिह नगरे वर्तमान सरकारले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए ।
सप्तरीको राजविराज बजारमा पनि एमाले नेता–कार्यकर्ताले प्रदर्शन गरेका छन् । उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै पार्टी अध्यक्ष र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाइ गर्न माग गरे ।
पार्टी कार्यालयबाट निकालिएको र्याली बजारमा प्रदर्शन गर्दै नेता चोकमा गरिएको कोणसभामा नेताहरुले पार्टी अध्यक्ष ओलीलाई गैरकानुनी र अलोकतान्त्रिक ढंगले पक्राउ गरिएको दाबी गरेका कान्तिपुर संवाददाता विद्यानन्द रामले जनाएका छन् ।
यस्तै चितवन भरतपुरको चैबिसकोठी चोकमा शनिबार दिउँसो एमालेमा आबद्ध विभिन्न संघ संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । कान्तिपुर संवादादता रमेशकुमार पौडेलका अनुसार प्रदर्शनमा एमाले युवा संघ, विद्यार्थी संगठनलगायतका संगठनका प्रमुख, प्रतिनिधिहरु तथा पार्टीका नेताहरु सहभागी थिए । केन्द्रीय परिपत्रअनुसार प्रदर्शन गरेको एमाले चितवनले जनाएको छ ।
प्रदर्शनका क्रममा कार्यकर्ताहरूले कार्की आयोगको प्रतिवेदन जलाउँदै सरकारविरुद्ध कडा नाराबाजी गरेका छन् । उनीहरूले वर्तमान सरकारको कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आन्दोलन अझै चर्काउने चेतावनीसमेत दिएका छन् । साथै, प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णय नै पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको आरोप लगाउँदै गृहमन्त्री सुदन गुरुङको राजीनामा माग गरेका कान्तिपुर संवाददाता नवराज श्रेष्ठले जनाएका छन् ।
यसैगरी सिरहामा एमालेका भ्रातृ संगठनहरूले प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेशनल भोलेन्टियर फोर्सले सदरमुकाममा प्रदर्शन गरेको कान्तिपुर संवाददाता विनय आजादले जनाएका छन् ।
प्रदर्शनकारीले ओलीको तत्काल रिहाई गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन् ।
भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न बनेको गौरीबहादुर कार्की संयोजकत्वको आयोगले गरेको सिफारिस कार्यान्वयनका लागि भन्दै सरकारले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई उनीहरुकै निवासबाट शनिबार बिहान पक्राउ गरेको हो । आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
