बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

प्रधानमन्त्रीसहित १६ जनाको मन्त्रिपरिषद् बनाउने योजना छ । त्यसमा महिलाको प्रतिनिधित्व एक तिहाइ गराउने प्रयास भइरहेको छ ।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

These are the names of potential ministers in Balendra's government, an effort to include one-third of women

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार शपथका लागि निर्धारित समयभन्दा केही अगाडि राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी छ । 

उनले दिउँसो १२ : ३४ मा शपथ लिने समय तय भएको छ। शाहसँगै आजै मन्त्रीहरूले पनि शपथ लिने छन्। 

रास्वपाका एक नेताका अनुसार प्रधानमन्त्रीसहित १६ जनाको मन्त्रिपरिषद् बनाउने योजना छ । त्यसमा महिलाको प्रतिनिधित्व एक तिहाइ गराउने प्रयास भइरहेको छ । 

रास्वपामा प्रत्यक्षबाट १३ र समानुपातिकबाट ४८ गरी एक तिहाइ महिला सांसद छन् । ‘पर्यटन र उद्योग मन्त्रालय एउटै मन्त्रीलाई दिने तयारी छ । भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय पनि एउटै मन्त्रीले हेर्ने गरी छलफल भइरहेको छ,’ ती नेताले भने । 

मन्त्री चयन, सरकारका सुरुवाती चरणका प्राथमिकतालगायतका विषयमा सभापति र वरिष्ठ नेता निरन्तर छलफलमा रहेको रास्वपाका नेताहरूले जानकारी दिएका छन् । 

कसलाई मन्त्री बनाउने भन्नेबारे भने अन्य नेताहरूलाई सभापति र वरिष्ठ नेताले जानकारी नदिएको रास्वपाका दोस्रो तहका नेताहरूले बताएका छन् । रास्वपाका एक शीर्ष नेताले भने, ‘को मन्त्री बन्ने भन्नेबारे उहाँहरूले निरन्तर छलफल गरिरहनुभएको छ । तर को बन्दै हुनुहुन्छ भनेर अनुमान गर्न सक्ने अवस्था छैन ।’

ती नेताका अनुसार मन्त्री बन्ने सूचीमा स्वर्णिम वाग्ले, शिशिर खनाल, सोबिता गौतम, इन्दिरा राना, सुनील लम्साल, सस्मित पोखरेललगायतको नाम चर्चामा छ ।

‘अर्थमन्त्रीमा वाग्ले, परराष्ट्रमन्त्रीमा खनालले शपथ लिने निश्चितजस्तै छ । लम्सालले गृह र भौतिक पूर्वाधारमध्ये कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने टुंगो लागिसकेको छैन,’ उनले भने, ‘आन्दोलनबाट आएका सुधन गुरुङलाई पनि मन्त्री बनाउने गरी छलफल भइरहेको छ, मन्त्रालय टुंगो लागेको छैन ।’  

लगातार दुई पटक प्रत्यक्ष प्रणालीबाट निर्वाचित सोबिता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा दिने तयारी छ । यसै पटक समानुपातिक प्रणालीबाट सांसद बनेकी प्रतिभा रावललाई पनि मन्त्रीको जिम्मेवारी दिनेबारे छलफल चलिरहेको रास्वपाका अर्का नेताले जानकारी दिए ।

‘सस्मित पोखरेलको पनि चर्चा छ,’ उनले भने, ‘कांग्रेस सभापति गगन थापालाई पराजित गरेर सर्लाही–४ बाट निर्वाचित अमरेशकुमार सिंहलाई मन्त्री बनाउने छलफल भइरहेको छ ।’ 

मन्त्रीहरूको नाम टुंगो लगाउन आज बिहान ७ बजे सभापति लामिछाने र वरिष्ठ नेता शाहसहित उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बैठक तय गरिएको छ । 

यससम्बन्धी खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। विस्तृत स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस्।

कान्तिपुर

Link copied successfully