आज बालेन सरकार

१६ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी, एक तिहाइ महिला प्रतिनिधित्व गराउने प्रयास

चैत्र १३, २०८२

जयसिंह महरा

Today Balen government

काठमाडौँ — रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । उनले शुक्रबार नै पद तथा गोपनीयताको शपथग्रहण गर्ने तयारी छ । प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट निर्वाचित ३६ वर्षीय शाहले झन्डै दुईतिहाइ बहुमतको सरकारमा नेतृत्व गर्न लागेका हुन् । 

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ८२ सांसद रहेको रास्वपाले शाहलाई बिहीबार संसदीय दलको नेता चयन गरेको छ । यसको जानकारी राष्ट्रपति कार्यालय पुगिसकेको छ । संविधानको धारा ७६ (१) मा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने’ र ‘निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने’ व्यवस्था छ । यसरी नियुक्त प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने छैन । 

रास्वपाका एक नेताका अनुसार प्रधानमन्त्रीसहित १६ जनाको मन्त्रिपरिषद् बनाउने योजना छ । त्यसमा महिलाको प्रतिनिधित्व एक तिहाइ गराउने प्रयास भइरहेको छ । रास्वपामा प्रत्यक्षबाट १३ र समानुपातिकबाट ४८ गरी एक तिहाइ महिला सांसद छन् । ‘पर्यटन र उद्योग मन्त्रालय एउटै मन्त्रीलाई दिने तयारी छ । भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय पनि एउटै मन्त्रीले हेर्ने गरी छलफल भइरहेको छ,’ ती नेताले भने । 

मन्त्री चयन, सरकारका सुरुवाती चरणका प्राथमिकतालगायतका विषयमा सभापति र वरिष्ठ नेता निरन्तर छलफलमा रहेको रास्वपाका नेताहरूले जानकारी दिएका छन् । कसलाई मन्त्री बनाउने भन्नेबारे भने अन्य नेताहरूलाई सभापति र वरिष्ठ नेताले जानकारी नदिएको रास्वपाका दोस्रो तहका नेताहरूले बताएका छन् । रास्वपाका एक शीर्ष नेताले भने, ‘को मन्त्री बन्ने भन्नेबारे उहाँहरूले निरन्तर छलफल गरिरहनुभएको छ । तर को बन्दै हुनुहुन्छ भनेर अनुमान गर्न सक्ने अवस्था छैन ।’

मन्त्रीहरूको नाम टुंगो लगाउन शुक्रबार बिहान ७ बजे सभापति लामिछाने र वरिष्ठ नेता शाहसहित उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बैठक तय गरिएको छ ।ती नेताका अनुसार मन्त्री बन्ने सूचीमा स्वर्णिम वाग्ले, शिशिर खनाल, सोबिता गौतम, इन्दिरा राना, सुनील लम्साल, सस्मित पोखरेललगायतको नाम चर्चामा छ । ‘अर्थमन्त्रीमा वाग्ले, परराष्ट्रमन्त्रीमा खनालले शपथ लिने निश्चितजस्तै छ । लम्सालले गृह र भौतिक पूर्वाधारमध्ये कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने टुंगो लागिसकेको छैन,’ उनले भने, ‘आन्दोलनबाट आएका सुधन गुरुङलाई पनि मन्त्री बनाउने गरी छलफल भइरहेको छ, मन्त्रालय टुंगो लागेको छैन ।’  

लगातार दुई पटक प्रत्यक्ष प्रणालीबाट निर्वाचित सोबिता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा दिने तयारी छ । यसै पटक समानुपातिक प्रणालीबाट सांसद बनेकी प्रतिभा रावललाई पनि मन्त्रीको जिम्मेवारी दिनेबारे छलफल चलिरहेको रास्वपाका अर्का नेताले जानकारी दिए । ‘सस्मित पोखरेलको पनि चर्चा छ,’ उनले भने, ‘कांग्रेस सभापति गगन थापालाई पराजित गरेर सर्लाही–४ बाट निर्वाचित अमरेशकुमार सिंहलाई मन्त्री बनाउने छलफल भइरहेको छ ।’ 

मन्त्रीहरूको नाम टुंगो लगाउन शुक्रबार बिहान ७ बजे सभापति लामिछाने र वरिष्ठ नेता शाहसहित उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बैठक तय गरिएको छ । 

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार शपथका लागि निर्धारित समयभन्दा केही अगाडि राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी छ । प्रधानमन्त्रीका रूपमा शाहको शपथ कार्यक्रमका लागि राष्ट्रपति कार्यालयले अतिथिलाई निम्तो पठाइसकेको छ । ‘प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुने अतिथिलाई ११ बजेदेखि राष्ट्रपति कार्यालय प्रवेश गराइने भनी निम्तो पठाएका छौं । शपथ कार्यक्रम करिब १२ बजे सुरु हुन्छ,’ प्रवक्ता शाक्यले भने । 

उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, मन्त्री, सांसद, संवैधानिक निकायका पदाधिकारी, विशिष्ट सरकारी अधिकारी, सुरक्षा अंगका प्रमुख तथा अधिकृत, नेपालभित्र रहेका विदेशी कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, सञ्चारकर्मीलाई शपथग्रहण समारोहमा निम्तो पठाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

रास्वपाले प्रधानमन्त्रीका रूपमा शाहको शपथ शुक्रबार दिउँसो १२ः३४ बजेका लागि साइत जुरेको जानकारी राष्ट्रपति कार्यालयलाई पठाइसकेको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार शपथग्रहण कार्यक्रममा ‘७ वटा शंखबाट शंखनाद, १०८ बटुकबाट स्वस्ति शान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठ’ को व्यवस्था गराउन आग्रह गरिएको छ । शपथग्रहणपछि शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा करिब २ः१५ बजे पदभार ग्रहण गर्ने तय भएको बुर्लाकोटीले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा गरेको दुई महिनामै शाह मुलुककै कार्यकारी प्रमुख बन्न लागेका हुन् । २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर मेयर बनेका उनले गत १३ पुसमा रास्वपासँग एकताको सहमति गरेका थिए । २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनले झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका थिए । 

रास्वपाको बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा शाहलाई निर्विरोध निर्वाचित गरेको थियो । सिंहदरबारमा सांसद पदको शपथ लिएपछि बैठक बसेको थियो । बैठकपछि रास्वपा सांसद सोबिता गौतमले गत १३ पुसमा रास्वपा र शाहबीच भएको सहमतिअनुसार संसदीय दलको नेता चयन गरिएको जानकारी दिइन् । ‘दुई महिनाअघि भएको राजनीतिक सहमतिका आधारमा पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको थियो । त्यही सहमतिलाई औपचारिक निर्णयमा रूपान्तरण गर्दै संसदीय दलको नेता चयन गर्न केन्द्रीय समिति बैठकले संसदीय दलसमक्ष सिफारिस गर्ने निर्णय गर्‍यो,’ उनले भनिन्, ‘लगत्तै बसेको संसदीय दलको बैठकले केन्द्रीय समितिको सिफारिसबमोजिम बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्‍यो ।’

शाह नेतृत्वको सरकारमा को–को मन्त्री बन्ने भन्ने टुंगो भने रास्वपाले लगाइसकेको छैन । मन्त्रीहरू चयनका लागि रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहसँगै शीर्ष नेताहरू निरन्तर छलफलमा छन् । केन्द्रीय कार्यालयमा बसेको बैठकमा सभापति लामिछानेले मन्त्री, संसदीय समिति सभापति तथा अन्य पद माग्नका लागि नधाउन सांसदहरूलाई भनेका थिए । मन्त्री चयनका लागि नेतृत्वलाई विश्वास गर्न उनले आग्रह गरेका थिए । 

‘संसदीय दलको नेता चयनपछि सभापतिले पुरानो पार्टीहरूमा जस्तो मन्त्री, समिति सभापति, अन्य पदधिकारी बनाइदिनुस् भनेर नआउनुस्, यस पटक नेतृत्वलाई विश्वास गर्नुस्, सबै पदाधिकारी चुन्ने अधिकार नेतृत्वलाई दिनुस् भन्नुभयो, सबैले त्यसलाई स्वीकार गर्‍यौं,’ बैठकमा सहभागी एक सांसदले भने ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully