थेबेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेलगत्तै सिदिङवा गाउँपालिका–३ आङखोपमा रहेको आगेपा आधारभूत विद्यालयलाई दिने घोषणा गरेका हुन् ।
ताप्लेजुङ — ताप्लेजुङबाट निर्वाचित एमाले सांसद क्षितिज थेबेले आफ्नो पहिलो महिनाको तलब विद्यालयलाई दिने निर्णय गरेका छन् । थेबेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेलगत्तै सिदिङवा गाउँपालिका–३ आङखोपमा रहेको आगेपा आधारभूत विद्यालयलाई दिने घोषणा गरेका हुन् ।
यो उनले पढेको वा आफ्नो घर नजिकको विद्यालय भने होइन । ‘चुनावी प्रचारका क्रममा म त्यहाँ पुगेको थिएँ,’ थेबेले भने, ‘विद्यार्थी सङ्ख्या एकदम धेरै र भवन पनि जीर्ण अवस्थामा रहेछ । आवश्यक जग्गा पनि नभएकाले आफैंबाट सहयोगको सुरुवात गरेको हुँ ।’ जग्गा प्राप्ति र भवन निर्माणका लागि अन्य निकायमा पनि आफूले पहल गर्ने उनले बताए ।
चुनावी प्रचारका क्रममा उक्त विद्यालय पुगेको र जीर्ण अवस्था देखेको थेबे बताउँछन् । शिक्षामा गरिएको सानो योगदानले पनि बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक आधार तयार पार्ने विश्वास रहेको उनले बताए ।
हाल सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ तलब पाउँछन् । यसबाहेक सांसदहरूले प्रति महिना विशेष भत्ता स्वरूप १ हजार रुपैयाँ पाउँछन् । त्यस्तै सञ्चार खर्च स्वरूप फोन, इन्टरनेट र पत्रपत्रिकाका लागि ३ हजार रुपैयाँ र पानी तथा विद्युत् खर्चका लागि २ हजार रुपैयाँ भत्ता उपलब्ध गराइन्छ ।
