केन्द्रीय महाधिवेशनको तिथिसँगै तल्लो तहका अधिवेशनका तालिका समेत संशोधित भएका छन् ।
काठमाडौँ — कांग्रेसले पार्टीको १५ औं महाधिवेशनको प्रस्तावित तालिका संशोधन गरेर असोज १६–१९ मा गर्ने निर्णय गरेको छ । सभापति गगन थापाले मंगलबारको बैठकमा भदौ २४–२६ को कार्यतालिका प्रस्तावित गरेका थिए ।
प्रवक्ता देवराज चालिसेका अनुसार त्यतिबेला वर्षात्को समय पर्ने भएकाले असोजमा सारिएको बताए । केन्द्रीय महाधिवेशनको तिथिसँगै तल्लो तहका अधिवेशनका तालिका समेत संशोधित भएका छन् । क्रियाशील सदस्यता वितरण, अद्यावधि गरेर अन्तिम सूची क्षेत्र र जिल्लामा पठाइसक्ने अवधि चैत २१ बाट जेठ १५ सम्ममा हुनेछ । जेठ मसान्तसम्ममा सदस्यताको सूची केन्द्रमा पठाउने र केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने अवधि असार १५ सम्म र निर्वाचन आयोगलाई असार मसान्त सम्ममा बुझाउने समय तोकिएको छ ।
निर्वाचन आयोगलाई सदस्यता अर्थात् मतदाताको सुची बुझाईएपछि साउन मसान्तभित्रमा विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन गर्ने समय दिइएको छ । त्यसपछि सुरु हुने गाउँ, नगर वडा अधिवेशन ६ हजार ७ सय ४३ वटामानै एकैदिन भाद्र २ गते हुनेछ ।
गाउ“–नगरपालिका अधिवेशन भाद्र ७, प्रदेशसभा क्षेत्रीय अधिवेशन भाद्र १७, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एकमात्र क्षेत्र भएको जिल्लाको अधिवेशन समेत) भाद्र २४, जिल्ला अधिवेशन असोज २ र ३, प्रदेश अधिवेशन असोज ७ र ८ गते हुनेछ । त्यसपछि केन्द्रीय अधिवेशन असोज १६–१९ गते हुने तालिका बैठकबाट पारित गरिएको छ ।
संविधान संशोधन अध्ययनका लागि पुष्पा भुसालको संयोजकत्वमा समिति गठन
कांग्रेसले संविधान संशोधनका लागि कानुनी पृष्ठभूमि भएकी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा कानुनीविज्ञ, संविधानविद्, राजनीति शास्त्रीलगायतका सरोकारवालाहरुको प्रतिनिधित्व रहनेछ ।
संविधानका कुन–कुन क्षेत्रमा सुधारको आवश्यकता छ भन्नेमा अध्ययन गर्न समिति बनाइएको हो । समितिले ल्याएको प्रतिवेदनमा आधारमा कांग्रेसले संविधान संशोधनका लागि अन्य दलसँग पनि संवाद र छलफल गर्ने प्रवक्ता चालिसेले बताए ।
