रौतहट–४ बाट प्रतिनिधि सभा सदस्यका लागि आमजनता पार्टी (आजपा) बाट मोबाइल चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका धमलाले निकै न्यून मत प्राप्त गरेपछि उनको धरौटी पनि जफत भएको थियो । गणना गरिएको ७३ हजार ३ सय ९८ सदर मतमध्ये धमलाले ६ सय ५५ मत मात्रै प्राप्त गरेका थिए ।
What you should know
रौतहट — प्रतिनिधिसभा निर्वाचनमा नमिठो पराजय भोगेका चर्चित पत्रकार ऋषि धमला पुनः आफ्नो निर्वाचन क्षेत्र रौतहट फर्किएका छन् ।
निर्वाचनको परिणाम घोषणा भएको केही समय मौन रहेका धमला यतिबेला गाउँ पुगेर मतदातासित भेटघाट र आफ्नो सामाजिक पकड बलियो बनाउन सक्रिय देखिएका हुन् । उनले शनिबार आफू निर्वाचन लडेको रौतहट– ४ का समस्या र सम्बोधनका उपायबारे मतदातासित अन्तरक्रिया गरे । ‘रौतहटबासीको शिक्षा र स्वास्थ्य निःशुल्क सपना’ भन्दै त्यो पूरा गरेरै छाड्ने उद्घोष गरे ।
निर्वाचनमा सोचेजस्तो मत नपाए पनि धमलाले हारलाई निराशाभन्दा पनि पाठको रूपमा लिएको बताएका छन् । काठमाडौंको ‘प्राइम टाइम’ टेलिभिजन र रिपोर्र्ट्स क्लबको व्यस्ततालाई विश्राम दिँदै उनी सडक, चिया पसल र टोल–टोलमा स्थानीयसित भलाकुसारी गरेर फर्किएका छन् ।
‘चुनाव एउटा हारजितको उत्सवजस्तै हो । मैले हारेको छैन । तपाईंहरूको मन जितेकै छु,’ धमलाले स्थानीयसँगको भेटघाटमा भनेका छन्, ‘म चुनाव हारे पनि रौतहटबासीको मन जित्न आएको हुँ, राजनीतिमा हार–जित प्राविधिक कुरा हो, तर मेरो माटोप्रतिको दायित्व कहिल्यै सकिँदैन ।’ उनले आफ्नो क्षेत्रका जनताको चाहना अनुसार विकास निर्माणको काम गरेरै छाड्ने प्रतिबद्धता पनि जनाए ।
धमलाको पछिल्लो सक्रियतालाई यहाँका स्थानीयले दीर्घकालीन रणनीतिका रूपमा हेरेका छन् । पत्रकारिता छाडेर राजनीतिलाई अँगालेका धमलाले चुनौतीका बीच रौतहटलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउने संकेत दिएका छन् । उनी हावाहुरीका कारण चन्द्रपुर–३ र ४ स्थित केरा खेतीमा भएको क्षति हेर्न गाउँ पनि पुगे । उनले किसानको समस्याको समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गर्दै प्रभावित किसानलाई राहत उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए । भविष्यमा यस्ता विपत्तिबाट जोगिन बिमा लगायतका दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्न सम्बन्धित निकायमा पहल गर्ने पनि उनले बताए । जिल्लामा विकासको लहर ल्याउने र धेरै काम गर्न बाँकी रहेको भन्दै धमलाले उद्योग र कलकारखाना खोल्न उद्योगपतिहरुसित निरन्तर संवाद गरेको सुनाए ।
रौतहट–४ बाट प्रतिनिधि सभा सदस्यका लागि आमजनता पार्टी (आजपा) बाट मोबाइल चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका धमलाले निकै न्यून मत प्राप्त गरेपछि उनको धरौटी पनि जफत भएको थियो । गणना गरिएको ७३ हजार ३ सय ९८ सदर मतमध्ये धमलाले ६ सय ५५ मत मात्रै प्राप्त गरेका थिए । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पौडेल ३६ हजार ८ सय ७६ मतसहित विजयी भए । चुनावी रेसमा ३७ जना सहभागी थिए । एमालेसहित ३४ उम्मेदवारको धरौटी जफत भएको छ । यस क्षेत्रबाट कांग्रेस र नेकपाले भने धरौटी जोगाएका छन् ।
