नेविसंघलाई परम्परागत राजनीतिक अभ्यास वा दलगत दबाबबाट स्वतन्त्र राख्ने उद्देश्यसहित नेतृत्व, निर्णय प्रक्रिया, विधान र दैनिक गतिविधिमा पूर्ण स्वायत्तता सुनिश्चित गरिएको प्रस्तावमा उल्लेख छ ।
What you should know
काठमाडौँ — नेपाल विद्यार्थी संघले कांग्रेसको भ्रातृ संगठनबाट अलग हुने प्रस्ताव गरेको छ । गत बिहीबार त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा बसेको संघको केन्द्रीय सिनेट बैठकले उक्त प्रस्ताव गर्ने निर्णय गरेको प्रवक्ता सुरज सेजुवालले जनाए ।
कांग्रेसको विधानमा नेविसंघ भ्रातृ संगठनका रुपमा रहने उल्लेख छ । नेविसंघले बैठकको निर्णय सार्वजनिक गर्दै संगठनलाई संस्थागत सुधार र पुनर्संरचना गरी कार्यगत स्वायत्तता सुनिश्चित गर्दै स्वचालित अधिवेशन प्रणाली लागू गर्न माउ पार्टी कांग्रेसलाई प्रस्ताव गर्ने निर्णय गरेको जनाएको छ ।
‘विद्यार्थीहरुका माग र मुद्दा संस्थागत ढंगले अघि बढाउने उद्देश्यका साथ स्थापना भएका र देशमा भएका विभिन्न राजनीतिक परिवर्तनको संवाहकको भूमिका निर्वाह गरेका स्थायी प्रतिपक्षका रुपमा विद्यार्थी संघसंगठनहरु आज पार्टी पंक्तिको अधीनमा रहेको तथ्यलाई निर्मम आत्मसमीक्षा गर्दै नेविसंघले भ्रातृ संगठनका रुपमा रहेको विद्यार्थी संगसंगठनहरु दलगत अधीनमा सीमित भएको यथार्थलाई आत्मसमीक्षा गरियो’, नेविसंघले गरेको निर्णयमा भनिएको छ, ‘विद्यार्थी आन्दोलनको ऐतिहासिक योगदान र सामाजिक भूमिकाको सम्मानका लागि संघसंगठनलाई संस्थागत सुधार र पुनर्संरचना गरी संघको कार्यगत स्वायत्तता सुनिश्चित गर्दै, स्वचालित अधिवेशन प्रणाली अवलम्बन गर्न कांग्रेस विधानमा आवश्यक परिमार्जन गर्न सिनेट बैठकले मातृ पार्टी कांग्रेसलाई प्रस्ताव गर्ने निर्णय गर्यो ।’
नेविसंघले वैशाख २१ र २१ गते १२ औं केन्द्रीय अधिवेशनको मिति समेत तोकेको छ । कांग्रेस र नेविसंघबीचको कार्यगत स्वायत्ततासहित साझेदारीको खाकासमेत प्रस्ताव गरिएको छ । जसमा नेविसंघ मातृत्व र भ्रातृत्वमा आधारित नभई साझेदारीमा आधारित संस्था हुने उल्लेख छ ।
‘संघले पार्टीसँग सहकार्य राख्दै स्वतन्त्रता र स्वायत्तताको सन्तुलन कायम गर्ने लक्ष्य राख्छ । साथै नेविसंघलाई परम्परागत राजनीतिक अभ्यास वा दलगत दबाबबाट स्वतन्त्र राख्ने उद्देश्यसहित नेतृत्व, निर्णय प्रक्रिया, विधान र दैनिक गतिविधिमा पूर्ण स्वायत्तता सुनिश्चित गरिएको छ,’ प्रस्तावमा भनिएको छ ।
नेविसंघलाई पार्टीको प्रत्यक्ष हस्तक्षेप हुन नहुने उल्लेख छ । नेविसंघ र कांग्रेस पार्टीबीच समन्वयात्मक साझेदारी सम्बन्ध कायम रहने भनिएको छ । कांग्रेसको मार्गदर्शन सिद्धान्त, नीति, कार्यक्रम र रणनीतिमा सहकार्य गर्ने तर नेतृत्व चयन वा विघटनमा पार्टीको हस्तक्षेप नहुने प्रस्तावमा उल्लेख छ ।
नेविसंघबाट कांग्रेस महाधिवेशन प्रतिनिधि, महासमिति, केन्द्रीय समिति र संघीय संसदमा प्रतिनिधि हुने सुनिश्चित गर्न प्रस्ताव गरिएको छ । कांग्रेस सभापति नेविसंघको मानार्थ संरक्षक रहने भनिएको छ । तर केन्द्रीय समिति निर्माण, अध्यक्ष, पदाधिकारी, सदस्य नियुक्ति, कार्यसमिति विस्तार वा विघटनमा सभापतिको संलग्नता नहुने प्रस्ताव गरिएको छ ।
नेविसंघमा दुजाङ शेर्पालाई महाधिवेशन गराउनेसहित कांग्रेसले सभापतिको जिम्मेवारी तोकेको थियो । तर उनीसहितको कार्यसमिति महाधिवेशन गराउन असफल हुँदै आएको छ ।
