चुनावमा पराजयबारे उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरे २७ बुँदे प्रारम्भिक समीक्षा, चुनाव हार्नुमा पुरानो कार्यशैलीलाई देखाए दोष, राजीनामा अस्वीकार गर्ने शर्माको प्रस्ताव, आइतबार निर्णय हुने
What you should know
काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव गरेका छन् । थापा अनुपस्थित रहेको बैठकमा बोलेका सबै केन्द्रीय सदस्यले राजीनामा अस्वीकार गर्ने मत राखेका छन् ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा उपसभापति शर्माले चुनावको प्रारम्भिक समीक्षा र सभापतिको राजीनामा अस्वीकार गर्ने दुईवटा प्रस्ताव बैठकमा पेस गरेका छन् । ‘पहिलो दिन शुक्रबार बैठकमा पार्टी सभापतिको राजीनामाका विषयमा २४ नेताले धारणा राख्नुभयो । नेताहरूको बोल्ने क्रम जारी छ । बैठक आइतबार पुनः बस्छ,’ उनले कान्तिपुरसँग भने ।
निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै थापाले पार्टी सभापतिबाट राजीनामा दिएका हुन् । उनले उपसभापति शर्मालाई राजीनामा बुझाएका हुन् । बैठकको प्रारम्भमै शर्माले राजीनामा पत्र पढेर सुनाएका थिए । उनले सभापतिको राजीनामा अस्वीकृत गर्नुपर्ने प्रस्ताव पनि बैठकमा पेस गरे ।
सरकारको नेतृत्व सम्हालेको सुरुवाती सय दिनलाई ‘हनिमुन पिरियड’ भनिने गरेको उल्लेख गर्दै थापाले नेतृत्व लिएको ५० दिनलाई त्यही रूपमा लिनुपर्ने शर्माको भनाइ छ । ‘वार्मअपको अवधिमा कामको सकारात्मक या नकारात्मक संकेत बुझ्न सकिन्छ, तर सम्पूर्ण परीक्षण र समग्र समीक्षा गर्न सकिँदैन,’ शर्माले भनेका छन्, ‘त्यही कोणबाट समीक्षा गर्दा विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको ५० दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्यायसंगत हुँदैन ।’
प्रतिकूलतालाई चिरेर पार्टीलाई अनुकूलतामा पुर्याउने ‘कमान्ड’ छाडेर थापाले पदत्याग गर्नु संगठनप्रति न्याय नहुने शर्माले बताएका छन् । सभापति थापाले देखाएको नैतिक जिम्मेवारीको उच्च कदर गर्दै उनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव शर्माको छ । ‘सभापतिले नैतिक जिम्मेवारी लिएर राजीनामा गर्नु उच्च नैतिक प्रस्तुति निश्चय नै हो, यसलाई पार्टीले सम्मान र कदर गर्दछ,’ उनले भनेका छन्, ‘तर यो पराजयको समग्र जिम्मेवार न केवल एक नेतृत्व हो न केवल एक कार्यसमिति । हामी समग्र कांग्रेस यो समग्र पराजयको जिम्मेवार हौं ।’
विशेष महाधिवेशन भएको पाँच दिनमा उम्मेदवारी दर्ता अनि ५० औं दिनमा निर्वाचनको समयावधिलाई उपसभापतिले सम्झाएका छन् । विशेष महाधिवेशनले दिएको परिवर्तनको सन्देश छोटो अवधिमा नागरिकको मन मस्तिष्कसम्म पुर्याउन नसकिएको उल्लेख गर्दै उनले लामो समयदेखि कायम नागरिकको असन्तुष्टिलाई छोटो अवधिमा ‘यू–टर्न’ गराएर विश्वासमा बदल्न नसकिएको जनाएका छन् । ‘विशेष महाधिवेशनबाट पार्टीलाई उचाइमा उठाउन सुरु गरियो, तर समय पर्याप्त नहुँदा शिखरमा पुग्न सकिएन,’ उनले भनेका छन्, ‘कम्तीमा एक कार्यकाल पूरै नेतृत्व गरेपछि गम्भीर पराजय हुन्छ भने पद त्यागको नैतिक दायित्व पनि गम्भीर रूपमै आकर्षित हुन्छ । तर डढेलो लागेको जंगलमा आगो निभाउन अन्तिममा पुगेको व्यक्तिलाई आगो ननिभ्दा आगलागीको दोष बोकाउनु न्यायसंगत बिल्कुलै हुँदैन ।’
शर्माले लिखित रूपमा प्रस्तुत गरेको प्रस्तावमा कांग्रेस पहिलो दल नबने पनि पार्टीले अपनाएको मूल नीतिको विजय भएको दाबी गरिएको छ । कांग्रेसले अंगीकार गरेको राजनैतिक र आर्थिक नीतिमा पुराना/नयाँ सबै दल उभिन आइपुगेको दाबी गर्दै शर्माले वर्तमान संविधान, संसदीय प्रणाली, संघीयता र सामाजिक न्यायसहितको उदार अर्थव्यवस्था अबको नेपालको सबैको साझा मूलमार्ग बन्न पुगेको धारणा राखेका छन् । कांग्रेस पराजित भइरहँदा पनि देशले जिम्मेवार प्रतिपक्ष पाएको र प्रतिपक्षी बेन्चबाट राम्रा कुरालाई साथ, खराबीमा खरो विमति राख्ने उनले उल्लेख गरेका छन् ।
चुनाव हार्नुमा पुरानो कार्यशैलीलाई दोष
उपसभापति शर्माले ०४६ को परिवर्तनपछि भएका आमनिर्वाचनमा कांग्रेसले आलोपालो गरी विजय/पराजय भोग्दै आएको संस्मरण गराएका छन् । एउटा चुनावमा पहिलो र अर्कोमा दोस्रो हुने क्रम चलिरहेको उदाहरण दिँदै उनले लगातार दुई पटकको जित वा लगातार दुई पटकको पराजय कांग्रेसले नव्यहोरेको आफ्नो समीक्षामा उल्लेख गरेका छन् । ‘पार्टीलाई समयमै सही ढंगले सम्हाल्न, बदल्न र मतदातामा त्यसलाई सम्प्रेषण गर्न सकेको भए अहिलेको भन्दा भिन्न परिणाम आएको हुन सक्थ्यो,’ उनले भनेका छन् ।
शर्माले विशेष महाधिवेशन अघि र पछि दुई खण्डलाई जोडेर चुनावी समीक्षा गरेका छन् । संविधान जारीपछि नागरिकमा देखिएको नयाँ शैली र नयाँपनको अपेक्षाअनुसार राजनीतिक दलहरू परिमार्जन हुन नसक्नु, स्थिर सरकार दिन नसक्नु, प्रधानमन्त्रीमा उनै पुराना अनुहार दोहरिरहनुले नागरिक पंक्तिमा वितृष्णा बढाएको शर्माको विश्लेषण छ । ‘यो उपक्रमले नेतृत्वप्रति नागरिकको विकर्षण बढाउँदै लग्यो, अन्ततः त्यसको सिकार सम्बन्धित राजनीतिक दलहरू बन्न पुगे,’ शर्माले भनेका छन्, ‘देश निर्माणको नीति र थितिमै कैयौं बेथितिको प्रश्न उब्जिएपछि त्यसले नागरिक पंक्तिमा असन्तुष्टि बढ्नु स्वाभाविक थियो । परिणाम हामीले भोग्यौं ।’
राजनीतिक दलबीच चुनाव जित्नका लागि प्रयोग भएको गठबन्धनले पनि जनतामा रोष र आक्रोश बढाएको चुनावी समीक्षामा उल्लेख छ । जनतामा पार्टीप्र्रति आक्रोश बढ्नुमा पार्टीको अघिल्लो नेतृत्वको कार्यशैलीलाई शर्माले दोष देखाएका छन् । कांग्रेस ०७९ को चुनावबाट सबैभन्दा ठूलो दल बन्दा सरकारको नेतृत्व गर्न वा निरन्तर प्रतिपक्षमा बस्न तयार नभएकामा उनले आलोचना गरेका छन् । चुनावमा माओवादीसँग र पछि एमालेसँग सत्ता गठबन्धन गर्दा पनि पार्टी र नागरिक पंक्तिमा चर्को वितृष्ण बढाएको उनले तर्क गरेका छन् ।
संसद्भित्रको पहिलो कांग्रेस र दोस्रो एमालेबीच गठबन्धन गर्दा पार्टीको महामन्त्री तहमा समेत संवाद नगरी अपारदर्शी ढंगले रातारात गरिएको शर्माले उल्लेख गरेका छन् । ‘संसद्मा रहेका मुख्य दुई दलमध्ये एकले नागरिकको असन्तुष्टिको रचनात्मक प्रतिनिधित्व गरेर संसद्मा प्रतिपक्षी कित्ता सम्हाल्नैपर्थ्यो,’ उनले भनेका छन् ।
संसद्मा प्रतिपक्षी स्वर कमजोर बनाउनुलाई शर्माले ठूलो गल्ती भनेका छन् । दुई ठूला दल मिलेर सरकार बनाउँदा तीव्र अपेक्षा बढे पनि सरकारको प्रस्तुति औसत रहेको तथा गर्नुपर्ने काम पनि गर्न नसकेको उनको निष्कर्ष छ । ‘गर्नुपर्ने काम नगर्ने, सामाजिक सञ्जाल बन्द जस्ता नगर्नुपर्ने कर्ममा हात हाल्ने गतिविधिले दुष्परिणाम जन्माउने हेक्का राखिएन,’ शर्माले भनेका छन्, ‘फलतः जेन–जी विद्रोहका लागि जमिन तयार गर्यो अनि अहिलेको पराजयका लागि वातावरण ।’
विश्वविद्यालयको नेतृत्व, राजदूतको नियुक्ति र संवैधानिक नियुक्तिमा भागबन्डाले नकारात्मक योगदान पुर्याएको स्मरण पनि उपसभापति शर्माले गराएका छन् । अपेक्षित रूपमा भ्रष्टाचार नियन्त्रण हुन नसक्नु, सुशासन स्थापित हुन नसक्नु, सेवा प्रवाहमा ढिलासुस्ती, ३५ वर्षदेखि केही नभएको भाष्य बनाइनु, लोकप्रियतावादको लहरलाई नबुझ्नु जस्ता विषयलाई शर्माले हारको कारण देखाएका छन् ।
सामाजिक सञ्जालको ‘अल्गोरिदम’ को कैदबाट मतदातालाई छोटो समयमा स्वतन्त्र विवेकको खुला मैदानमा ल्याउन नसक्नुलाई पराजयको एउटा कारणमा उनले उल्लेख गरेका छन् । कुनै दलले चुनाव जिते रोजगारीका लागि बाहिर जानु पर्दैन भन्ने प्रचार तथा त्यसले परिवारमा पारेको भावनात्मक मनोविज्ञानलाई पनि शर्माले उठाएका छन् । कांग्रेसले पराजय भोग्नुमा पार्टीको पुरानो ढाँचा तथा पार्टीभित्रै कतिपयले मौन बसेर निभाएको ‘साइलेन्स किलिङ’ को भूमिकालाई पनि उनले कारण मानेका छन् । पार्टीभित्रै नेताले देखाएको मौनता र निष्क्रियताउपर नैतिक प्रश्न उठिरहेको उल्लेख गर्दै शर्माले असहयोगको भूमिका छानबिनको दायरामा आउने पनि संकेत दिएका छन् ।
उपसभापति पुष्पा भुसालले चुनावको परिणामको जिम्मेवारी सभापतिको व्यक्तिगत मात्रै नरहेको बताएकी छन् । ‘अहिले जति मत आएको छ । त्यो नयाँ नेतृत्वकै परिणामले हो,’ कान्तिपुरसँग उनले भनिन्, ‘चुनाव हार्नुमा विगतमा पार्टीका तर्फबाट भएका गल्तीहरू नै मुख्य कारण हो ।’ सभापतिको राजीनामा अहिलेको समस्याको समाधान नरहेको उल्लेख गर्दै सिंगो पार्टी राजीनामालाई अस्वीकार गरेर जाने पक्षमा रहेको भुसालले जानकारी दिइन् ।
उपसभापति भुसालका अनुसार आइतबार हुने बैठकले सभापतिको राजीनामा अस्वीकार गर्ने निर्णय लिनेछ । त्यसपछि सभापतिकै नेतृत्वमा चुनावको विस्तृत समीक्षा, विशेष महाधिवेशनले गरेका निर्णयहरूलाई संस्थागत गर्ने तथा १५ औं महाधिवेशनको तयारीमा पार्टी जुट्ने उनले जानकारी दिइन् ।
