अर्जुननरसिंह केसीले खुवाउनेछन् नवनिर्वाचित सांसदहरूलाई शपथ

सभामुख र उपसभामुख निर्वाचित नभएको अवस्थामा प्रतिनिधिसभाको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक प्रावधान रहेको छ ।

चैत्र ६, २०८२

कान्तिपुर संवाददाता

Arjun Narsingh KC will administer the oath to newly elected MPs

काठमाडौँ — कांग्रेस सांसद अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने भएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार २००४ सालमा जन्मिएका केसी अहिले निर्वाचित सांसदहरूमध्ये सबैभन्दा ज्येष्ठ हुन् । 

सभामुख निर्वाचित नहुँदासम्मका लागि बैठकको अध्यक्षता केसीले गर्ने प्रवक्ता गिरीले जानकारी दिए । 

केसीलाई शपथ गराउनका लागि राष्ट्रपति कार्यालयलाई पत्र लेखिने पनि सचिवालयले जनाएको छ । गिरीका अनुसार केसीले चैत ११ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ खानेछन् । त्यसपछि उनले चैत १२ गते दिउँसो सांसदहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ । 

प्रतिनिधिसभा निर्वाचन ऐनले प्रतिनिधिसभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष निर्वाचित सांसदले शपथ लिनुपर्ने तोकेको छ । सभामुख र उपसभामुख निर्वाचित नभएको अवस्थामा प्रतिनिधिसभाको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संविधानको धारा ९१(५) मा उल्लेख छ ।

नयाँ बन्दै गरेको संसद् भवनमा रहेको बहुउद्देश्यीय हललाई सांसदको शपथग्रहण समारोहका लागि तयार गरिँदै छ ।

कान्तिपुर

Link copied successfully