गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव बैठकमा पेस हुने 

निर्वाचनमा हारको नैतिक जिम्मेवारी लिँदै थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

Proposal to reject Gagan Thapa's resignation to be presented in the meeting

काठमाडौँ — कांग्रेसको शुक्रबारदेखि सुरू हुने केन्द्रीय कार्यसमितिको पहिलो एजेन्डा सभापति गगन थापाले दिएको राजीनामाको विषयमा छलफल हुने भएको छ । निर्वाचनमा हारको नैतिक जिम्मेवारी लिँदै थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए ।

पार्टी विधानमा सभापतिले उपसभापतिलाई राजीनामा दिने र उपसभापतिले निर्णयार्थ केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । 

उपसभापति शर्माले थापाले राजीनामाको नैतिक जिम्मेवार लिने विषय सकारात्मक भएपनि उनको राजीनामा स्वीकृत नगर्ने बताएका छन् । शर्माले बैठकमा राजीनामामाथि प्रारम्भिक समीक्षा गरेर अस्वीकृत गर्ने प्रस्ताव पेस गरिने बताए । शर्माले राजीनामा अस्वीकृत गर्ने प्रस्ताव अघि बढाएमा सिंगो केन्द्रीय कार्यसमितिले अस्वीकृत गर्ने सम्भावना प्रबल रहेको एक पदाधिकारीले बताए । 

‘नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक हो । तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो । बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुनेछ,’ शर्माले भने,‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउन न्यायसंगत हुँदैन ।’ 

महामन्त्री प्रदीप पौडेलले सभापतिको राजीनामाको विषयमाथि छलफल गरेर टुंगो लगाएपछि मात्रै अरू विषयमा छलफल हुने बताए । ‘पहिला सभापतिकै राजीनामाको विषय महत्त्वपूर्ण हो, सम्भवतः त्यो भोलिकै बैठकमा टुंगो लाग्छ,’ उनले भने,‘त्यसपनि निर्वाचनको समीक्षा र नियमित महाधिवेशनको विषयमा छलफल हुनेछ ।’

कान्तिपुर

Link copied successfully