नेकपाको महाधिवेशन कहिले ? दाहाल र नेपालले चाहन्छन् जहिले

१९ कार्तिक २०८२ मा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका ८ दलको एकता सम्झौतमा ५ महिनाभित्र महाधिवेशन गर्ने सहमति गर्दै तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संयोजक र समाजवादी अध्यक्ष माधवकुमार नेपालाई सहसंयोजक तोकेको थियो ।

चैत्र ४, २०८२

गंगा बीसी

When is the NCP's general convention? Dahal and Nepal want it whenever they want.

What you should know

काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन मिति अनिश्चित बनेको छ । १९ कार्तिक २०८२ मा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका ८ दलको एकता सम्झौतमा ५ महिनाभित्र महाधिवेशन गर्ने सहमति गर्दै तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संयोजक र समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई सहसंयोजक तोकेको थियो ।

संयोजक दाहाल र सहसंयोजक नेपालको नेतृत्वमा चुनावमा गएको नेकपाको आकार खुम्चिएपछि महाधिवेशनको माग चर्किन थालेको छ । जेन-जी आन्दोलनपछि दाहालले अध्यक्ष पद छाडेको भन्दै आफूलाई संयोजक घोषणा गरेका थिए । असोज तेस्रो साता उनले भनेका थिए, ‘जेन-जी आन्दोलनको मागलाई सम्बोधन गर्नुपर्छ भनेर नै केन्द्रीय समिति भंग गर्ने, आयोजक समिति बनाउने, अध्यक्ष पद छोड्ने, संयोजक हुने, अधिवेशनमा जाने र लिडरसिप नै बदल्ने बारे मैले प्रष्ट रुपमा केन्द्रीय समिति बैठकमा भनेको थिएँ ।’

संयोजक दाहाल ३६ वर्षदेखि पार्टी नेतृत्वमा छन् । नेकपाका नेताहरूका अनुसार नेतृत्व हस्तान्तरण गर्न दाहाल इच्छुक छैनन् । ‘प्रचण्ड संयोजक हुँदै फेरि अध्यक्ष हुने तयारीमा हुनुहुन्छ,’ नेताहरु भन्छन् ।  

माओवादी र नेकपा एकीकृत समाजवादीलगायत दलबीच कार्तिकमा भएको सहमतिअनुसार यहि बैशाखमा एकता महाधिवेशन गर्नुपर्ने हुन्छ । ‘आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ,’ सहमतिपत्रमा उल्लेख छ । तर, महाधिवेशनका लागि पार्टीभित्र प्रारम्भिक तयारी समेत भएको छैन । 

सुरुमा ८ दलबीच भएको एकता अभियानमा २५ पुगिसकेको छ । केन्द्रीय समिति सदस्यहरू २ हजार ५ सय पुगिसकेका छन् । नेकपा जन्मिएपछि केन्द्रीय समिति बैठक बस्न सकेको छैन । विधानअनुसार केन्द्रीय कार्य समिति ६०१ जनाको हुने उल्लेख छ । तर, अहिलेसम्म यो समिति समेत बनिसकेको छैन । महाधिवेशन आयोजक समितिका २ हजार ५ सय सदस्यले जिम्मेवारी समेत पाएका छैनन् ।

नेकपाले केन्द्रीय पदाधिकारी नबनाई संयोजक दाहाल र सहसंयोजक नेपालमार्फत सबै निर्णय हुँदै आएको छ । उनीहरूले आवश्यकताअनुसार वरिष्ठ नेताहरूलाई सहभागी गराई महत्वपूर्ण निर्णय गर्दै आएका छन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि समानुपातिक सूची बनाउने र प्रत्यक्षतर्फ टिकट वितरण उनीहरूकै निर्णयमा भएको थियो । २५ दलको नेकपाले निर्वाचनमा भने प्रत्यक्षतर्फ ८ र समानुपातिक ९ गरी १७ सिट जितेको छ । 

नेता बेदुराम भुसाल भन्छन्- महाधिवेशन गर्नेमा पार्टीभित्र कुनै विवाद छैन

नेकपा नेता बेदुराम भुसाल भने महाधिवेशन गर्ने विषयमा पार्टीभित्र विवाद नभएको दाबी गर्छन् । ‘पार्टी एकताका क्रममा ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति भएको थियो । निर्वाचन सम्पन्न भइसकाले अब कहिले र कसरी गर्ने भन्ने छलफल हुनेछ,’ उनले भने, ‘केन्द्रीय महाधिवशेन पहिले गर्ने कि तल्ला समितिबाट गर्ने भन्ने छलफलको विषय हो ।’ 

नेपालका कम्युनिस्ट पार्टीहरू सामूहिक नेतृत्वमा चल्नुपर्ने माग हुँदै आएको छ । व्यक्तिलाई धुरी बनाउने प्रवृत्तिका कारण कम्युनिस्ट पार्टीहरूको विधि ओझलमा परेको नेता भुसालको भनाइ छ । ‘व्यक्तिलाई धुरी बनाउने प्रवृत्ति छ । कम्युनिस्ट पार्टीमा सामूहिक नेतृत्व मुख्य विधि हो । यो कमजोर भयो कि भन्ने प्रश्न छ,’ उनले भने, ‘व्यक्ति होइन, कमिटी निर्णायक बनाउनुपर्छ ।’ 

निर्वाचन परिणामले पार्टीको समग्र पुनर्संरचना अवश्यक देखिएको युवा नेताहरुको भनाइ छ । नेकपाको जम्बो कमिटी प्रभावकारी नभएकाले अब ढिला नगरी पार्टी पुनर्संरचना गर्ने अभियानमा लाग्नुपर्ने नेकपाका नेता लेखनाथ न्यौपानेको भनाइ छ ।

‘निर्वाचन परिणामले देखाइसक्यो कि अब पार्टीका पुनर्संरचना नगरी सुखै छैन,’ उनले भने, ‘वैचारिक, सांगठनिक, मुद्दाको पुनर्संचना गर्न जरुरी भइसकेको छ ।’

गोरखा-२ बाट नेकपाका उम्मेदवार न्यौपानेले परम्परागत वैचारिक मुद्दाले जनताको मत जित्न नसकिकने भएकाले भौतिक र टेक्नोलोजीको विकाससँग कम्युनिस्ट विचारलाई परिस्कृत गर्नुपर्ने बताए ।

‘अब परम्परागत विचारले काम गर्ने देखिँदैन । विचारलाई परिस्कृत गर्दै जनताले भोगिरहेका विभेद अब मुद्दा बन्नुपर्छ,’ उनले भने, ‘भौतिक विकासले विभेद हटाउँदैन । सामाजिक न्यायको विषय महत्वपूर्ण हुन्छ । त्यो नीति कसरी कार्यान्वयन गर्ने मुख्य विषय हो ।’

नेकपामा नीति कि नेतृत्व परिवर्तन भन्ने बहस चल्दै आएको छ । संयोजक दाहाल नीति नै प्रमुख भएकाले त्यसमै जोड दिनुपर्ने पक्षमा छन् । हाल नेकपाबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका जनार्दन शर्माले माओवादीमा रहँदा नीति फेर्न, नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाउँदै आएका थिए । संयोजक दाहाल र उनीबीच अन्तरसंघर्ष चर्किएकपछि उनी नेकपामा सामेल भएनन् ।

निर्वाचनपछि युवा नेताहरूले पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्ने बताउन थालेका छन् । ‘समग्र पार्टी रुपान्तरण अहिलेको आवश्यकता हो । नीति र नेतृत्व एकअर्कासँग सम्बन्धित विषय हो,’ नेता सरल सहयात्रीले भने, ‘नीति र नेतृत्व रुपान्तरणले मात्र पार्टी निर्माण गर्न सकिन्छ ।’ 

माओवादीको आठौं महाधिवेशन पुस २०७८ मा र एकीकृत समाजवादीको असार २०८१ मा भएको थियो । माओवादी महाधिवेशनले दाहाललाई र एकीकृत समाजवादीले माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको थियो । 

दुई दलले जेन-जी आन्दोलनपछि पार्टी रुपान्तरण गर्ने भन्दै नेकपा गठन गरेका थिए । त्यसको संयोजकमा दाहाल र सहसंयोजमा नेपाल तोकिएका थिए ।

गंगा

Link copied successfully