विधानको 'राइट टु रिकल'को व्यवस्था कडाइका साथ लागू गरिनेछ : सभापति लामिछाने

संख्या घट्ला र अल्पमतमा पर्ला भन्ने कुराको प्रवाह नगरी रास्वपाले जन्मदेखि आफ्नो विधानमा व्यवस्था गरेको 'राइट टु रिकल'को व्यवस्था यसपटक कडाइका साथ लागू गर्ने सभापति लामिछानेले प्रतिबद्धता व्यक्त गरेका छन् ।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

The 'Right to Recall' provision of the statute will be strictly implemented: Speaker Lamichhane

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरूलाई अनुशासन उल्लंघन गरेमा फिर्ता बोलाउने चेतावनी दिएका छन् । पार्टीका सांसदहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको समापनमा सम्बोधन गर्दै लामिछानेले उक्त धारणा राखेका हुन् । 

पार्टीमा अनुशासन अत्यावश्यक रहेको भन्दै सभापति लामिछानेले सांसदहरूले अनुशासन उल्लंघन गरेमा पदबाट फिर्ता बोलाउने बताएका हुन् । पार्टी ठूलो बनेको र सरकार सञ्चालन गर्ने जिम्मेवारीमा रहेको बताउँदै उनले प्रत्येक सांसद अनुशासनमा बस्नुपर्ने बताएका हुन् । 'सरकार करिब दुई तिहाइको बन्दैछ, संख्या घट्ला, अल्पमतपमा पर्ला भन्ने कुराको प्रवाह नगरीकन रास्वपाले जन्मदेखि आफ्नो विधानमा व्यवस्था गरेको 'राइट टु रिकल'को व्यवस्था यसपटक कडाइका साथ लागू गर्नेछ,' उनले भने । 

The 'Right to Recall' provision of the statute will be strictly implemented: Speaker Lamichhane

रास्वपा विधानको दफा ६९ मा जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकारको व्यवस्था रहेको छ । 'पार्टीका सम्बन्धित क्षेत्रको साधारण सदस्यहरूलाई आफ्ना जनप्रतिनिधिले चित्त बुझ्दो काम नगरे फिर्ता बोलाउन पाउने अधिकार हुनेछ । केन्द्रीय समितिले बनाउने नियमावली बमोजिम सम्बन्धित क्षेत्रको साधारण सदस्यहरू निश्चित संख्या वा प्रतिशतले निर्णय गरे पार्टीको केन्द्रीय समितिले सम्बन्धित जनप्रतिनिधिको पदको खारेजीलाई प्रक्रिया सुरु गरिनेछ,' रास्वपा विधानमा लेखिएको छ, 'पार्टीका समानुपातिक जनप्रतिनिधिले पार्टीहित विपरीत काम गरेमा वा कार्यसम्पादन मूल्याङ्कनको आधारमा वा अन्य मनासिव कारण भएमा केन्द्रीय समितिले फिर्ता बोलाउन सक्नेछ । केन्द्रीय समितिले नियमावली बमोजिम जनप्रतिनिधिको पद खारेजीसम्मको प्रक्रिया गर्नेछ ।'

सांसदहरूको स्वतन्त्रता हुने तर अनुशासन कायम राख्नुपर्ने सभापति लामिछानेको भनाइ छ । स्वतन्त्रता र अनुशासनबीचको घेरा तोड्न नहुने उनको भनाइ थियो । 

सांसदका व्यक्तिगत स्वतन्त्रता हनन नगर्ने सभापतिका रूपमा आफ्नो मनसाय नरहेको बताउँदै सभापति लामिछानेले आगामी दिनमा पार्टीले अनुशासन कडाइका साथ पालना गराउने बताए । 'यसपटक परिवार ठूलो छ, अनुशासन भएन भने अराजकता हुनेछ,' लामिछानेले भने । 

कान्तिपुर

Link copied successfully