निर्वाचन सफल पार्न सहयोग गरेको भन्दै प्रधानमन्त्री कार्कीले एमालेलाई दिइन् धन्यवाद

प्रधानमन्त्री कार्कीले एमाले नेतृत्वलाई बालुवाटारमै बाेलाएर धन्यवाद दिएकी हुन् । प्रधानमन्त्रीको आमन्त्रण स्वीकार्दै म‌ंगलबार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए ।

चैत्र ३, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Karki thanks UML for helping make the election successful

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण र सफल रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै एमालेलाई धन्यवाद दिएकी छन् । प्रधानमन्त्री कार्कीले एमाले नेतृत्वलाई बालुवाटारमै बाेलाएर धन्यवाद दिएकी हुन् । प्रधानमन्त्रीको आमन्त्रण स्वीकार्दै म‌ंगलबार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए ।  

'यो कठिन अवस्थालाई शान्तिपूर्ण रुपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो । राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरूले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु,' उनले भनिन् । 

उनले निर्वाचनमा जित-हार स्वभाविक भन्दै एकपटकको जनादेशबाट विचलित नहुन शान्त्वना पनि दिइन् । 'एकैपटकको जनमतले सधैंका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन । भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौं । राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस् ।'

एमाले नेताहरूले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उनको नेतृत्वको सरकारलाई बधाई दिए । मुलुकलाई कठिन घडीमा नेतृत्व प्रदान गरी सर्वस्वीकार्य, शान्तिपूर्ण र लोकतान्त्रिक निकास दिएकामा धन्यवाद दिए । उनीहरूले यसपालिको निर्वाचनमा प्रशासनको भूमिका निष्पक्षता रहेको भन्दै सरकारको प्रशंसा समेत गरे । साथै, चुनावी अभियानहरू विगतभन्दा  स्वस्थ, शान्तिपूर्ण र कम खर्चिलो भएको उनीहरूले अनुभव सुनाए ।

यसअघि प्रधानमन्त्री कार्की आइतबार पितृशोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न गुन्डुस्थित निवासमै पुगेकी थिइन् । 

कान्तिपुर

Link copied successfully