रास्वपाले करारपत्रदेखि सांसदका कर्तव्यबारे दिँदै छ प्रशिक्षण

पहिलो दिन सांसदहरूलाई करारपत्र, संसदीय भूमिका, कानुन निर्माण र संवैधानिक जिम्मेवारीबारे प्रशिक्षण दिइनेछ भने दोस्रो दिन योजना र बजेट निर्माण, सुशासन र जिम्मेवारीपूर्ण राजनीतिक संस्कार विकासका सम्बन्धमा प्रशिक्षण दिने कार्यतालिका रहेको छ ।

चैत्र २, २०८२

जयसिंह महरा

The Rashtriya Swayamsevak Sangh (RSS) is providing training on the duties of MPs, from contract to contract.

What you should know

काठमाडौँ —  

सांसदको पदमा रहेर गर्न हुने र गर्न नहुने काम, सांसदका काम, कर्तव्य र अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे प्रशिक्षण दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम राखेको छ । कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिसहित सबै नेता तथा सांसदहरू सहभागी हुने बताइएको छ ।

फागुन २१ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको रास्वपाले ललितपुरको होटल रोयल टुलिपमा सांसदहरूका लागि दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम मंगलबार र बुधबार हुँदै छ ।

रास्वपा प्रशिक्षण विभाग प्रमुख तथा सहमहामन्त्री विपिन आचार्यका अनुसार अभिमुखीकरण कार्यक्रममा पार्टीका नीति र सांसदका रूपमा गर्नुपर्ने कामबारे नवनिर्वाचित सांसदहरूलाई जानकारी गराइनेछ । ‘हाम्रो पार्टीबाट निर्वाचित सांसदहरूलाई यो सुरुवाती चरणको प्रशिक्षण हो । सबै जना निर्वाचित भएर आउनुभएको छ र सबै जनाको भेट पनि भएको छैन । यो कार्यक्रमले परिचयात्मक कार्यक्रमको पनि काम गर्नेछ,’ आचार्यले भने, ‘अभिमुखीकरणका कार्यक्रममा पार्टीसँग जोडिएका नीतिका कुरा रहेका छन् भने सांसदसँग जोडिएका विषय पनि छन् । पार्टी के उद्देश्य लिएर सरकारमा जाँदै छ, हाम्रा बाचा के हुन् भन्ने विषयमा सांसदहरूलाई प्रशिक्षण दिइनेछ ।’ खासगरी पहिलो पटक सांसद बनेकाहरूलाई काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण, कार्यदिशाबारे सुसूचित गर्न, काममा एकरूपता कायम गर्नका लागि प्रशिक्षणको कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ ।

रास्वपा कानुन तथा न्याय विभाग प्रमुख तथा सांसद सोबिता गौतमले पार्टीका सांसदहरूलाई कानुन निर्माण प्रक्रियादेखि लिएर संसदीय गतिविधिबारे प्रशिक्षण दिन अभिमुखीकरण कार्यक्रम राखिएको जानकारी दिइन् । उनले कानुन निर्माणका क्रममा पार्टीका सांसदहरूबीच समान बुझाइ रहोस् भन्नका लागि यस्ता कार्यक्रमको आवश्यकता महसुस गरिएको बताइन् । ‘नवनिर्वाचित सांसदहरूलाई संसदीय अभ्यास र कानुन निर्माणको प्रक्रिया कस्तो हो भन्ने विषयमा जानकारी दिनका लागि पार्टीले कार्यक्रम आयोजना गरेको हो । रास्वपाका अधिकांश सांसद नयाँ हुनुहुन्छ । कानुन निर्माणमा कस्तो भूमिका खेल्नुपर्छ, सांसदका काम, कर्तव्य र अधिकार के हुन् भनेर बुझाइमा स्पष्टता ल्याउनका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो,’ गौतमले भनिन् ।

उद्घाटन कार्यक्रममा पार्टी उपसभापति र वरिष्ठ नेताले औपचारिक उद्घाटन गर्ने कार्यतालिका तय गरिएको छ । अभिमुखीकरणमा पार्टीले जनतामाझ गरेको ‘करार’का विषयवस्तुबारे पनि प्रशिक्षण दिइनेछ । देशको वर्तमान अवस्था, पार्टीको बाचा, जिम्मेवारी र सांसदको भूमिकाबारे सांसदहरूलाई प्रशिक्षण दिइने विषय राखिएको छ । नेपालको संघीय संसद्को संरचना र कार्यप्रणालीमा सांसदको भूमिका के हुने र अधिकार र जिम्मेवारी के–के छन् भन्नेबारे पनि सांसदहरूलाई प्रशिक्षण दिइने विषय राखिएको छ । संघीय संसद्को कानुन निर्माणमा के कस्तो भूमिका रहेको छ तथा डिजिटल युगमा सांसद र नागरिकबीच कस्तो र कसरी सम्बन्ध कायम गर्ने भन्नेबारे पनि सांसदहरूलाई विज्ञले प्रशिक्षण दिनेछन् । रास्वपाबाट यसअघि सांसद बनेकाहरूले नयाँ सांसदहरूमाझ आफ्ना अनुभव बाँड्ने कार्यतालिका पनि तय गरिएको छ ।

अभिमुखीकरणको पहिलो दिन नवनिर्वाचित सांसदहरूलाई संसदीय भूमिका, कानुन निर्माण र संवैधानिक जिम्मेवारीबारे प्रशिक्षण दिने कार्यतालिका रहेको प्रवक्ता तथा सांसद मनिष झाले जानकारी दिए । दोस्रो दिनमा योजना र बजेट निर्माण, सुशासन र जिम्मेवारीपूर्ण राजनीतिक संस्कार विकासका सम्बन्धमा प्रशिक्षणको कार्यक्रम रहेको उनले बताए । ‘संसदीय अभ्यासबारे सांसदहरूलाई धेरै विषय थाहा हुँदैन । हामी सदनमा जाँदै गर्दा संसद्ले प्रशिक्षण दिनुपर्नेमा त्यसको व्यवस्था गरिएको हुँदैन । संसद्‌मा उठाउने विषय र विभिन्न प्रस्तावका बारेमा र त्यसक्रममा सांसदले गर्नुपर्ने कर्तव्यका सम्बन्धमा अभिमुखीकरण तालिम दिन्छौं । संसदीय कामकारबाहीका क्रममा विभिन्न समयका बारेमा पनि जानकारी दिइनेछ । कुन समयमा कस्तो विषयवस्तु राख्ने भन्ने प्रशिक्षण दिनका लागि पार्टीले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो,’ झाले भने, ‘संसदीय व्यवस्थामा प्रशिक्षणको व्यवस्था गरियोस् भनेर कानुन बनाउने काम हाम्रो हो । संसद्ले यस्ता कार्यक्रम नगरेकाले हाम्रो पार्टीले प्रशिक्षण कार्यक्रम राखेको छ ।’ यो कार्यक्रममा सांसदहरूले आधारभूत कुराहरू सिकाइने उनले बताए ।

सांसदहरूलाई प्रशिक्षण दिनका लागि रास्वपाले संसदीय अभ्यासका जानकार, संविधानविद्, इतिहासविद्, परराष्ट्रविद्, अर्थविद्हरूलाई आमन्त्रण गरेको छ । पहिलो दिनको कार्यक्रम पार्टी वरिष्ठ नेता तथा उपसभापतिले उद्घाटन गर्नेछन् भने समापन समारोहलाई सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । अभिमुखीकरण कार्यक्रममा प्रत्यक्षबाट निर्वाचित १२५ र समानुपातिकबाट निर्वाचित ५७ गरी १ सय ८२ सांसदलाई सहभागी गराइने रास्वपाले जनाएको छ ।

रास्वपाले अभिमुखीकरण कार्यक्रमका लागि तयार पारेका पहिलो दिनको सुरुवात बिहान १० बजेपछि सुरु हुने उल्लेख छ ।

मोबाइल निषेध

अभिमुखीकरण कार्यक्रममा सांसदहरूलाई मोबाइलको प्रयोग गर्न र तस्बिर खिच्न भने प्रतिबन्ध लगाइएको छ । रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले सोमबार एक निर्देशन जारी गर्दै सांसदहरूले अभिमुखीकरण अवधिभरि के गर्ने, के नगर्ने भन्नेबारे उल्लेख गरेका छन् । ‘कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ । कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुनेछ । परिवार सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण गर्न निषेध गरिएको छ,’ बुर्लाकोटीले जारी गरेको पत्रमा भनिएको छ, ‘सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन छ ।’

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully