रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जारी गरेको निर्देशनमा भनिएको छ- 'सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन छ ।'
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ । रास्वपाले पार्टीबाट निर्वाचित सांसदहरूका लागि ललितपुरको होटल रोयल टुलिपमा मंगलबार र बुधबार अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको हो ।
अभिमुखीकरण कार्यक्रममा सांसदहरूलाई मोबाइल फोन प्रयोग गर्न र तस्बिर खिच्न भने प्रतिबन्ध लगाइएको छ । रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले सोमबार एक निर्देशन जारी गर्दै सांसदहरूले अभिमुखीकरण अवधिभरि के गर्ने, के नगर्ने भन्नेबारे उल्लेख गरेका छन् । 'कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध हुनेछ । कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुनेछ । परिवार सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्रण गर्न निषेध गरिएको छ,' बुर्लाकोटीले जारी गरेको पत्रमा भनिएको छ, 'सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन छ ।'
रास्वपाले सांसदको अभिमुखीकरणका लागि आवासीय कार्यक्रम आयोजना गरेको हो । अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने तय भएको छ ।
रास्वपाले प्रत्यक्षबाट १२५ र समानुपातिकबाट ५७ गरी प्रतिनिधिसभामा १८२ सिट जितेको छ ।
