संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका सीके राउत भन्छन्- ‘अब अधिकारका लागि संघर्ष’

ईकान्तिपुरसँग कुरा गर्दै उनले भने- ‘अधिकारका लागि हमेसा लडिरहने आम जनतालाई विश्वास दिलाउन चाहन्छु ।’

चैत्र २, २०८२

विद्यानन्द राम

CK Raut, who announced his retirement from parliamentary politics, says - 'Now fight for rights'

What you should know

राजविराज — जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले पूर्वनिर्णयअनुसार नै संसदीय राजनीतिबाट सन्न्यास लिएको बताएका छन् ।

ईकान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘अहिलेको निर्वाचनको परिणामसँग यो खासै सम्बन्धित चाहिँ होइन, मेरो राजनीतिमा प्रवेश भनेकै कुनै पद वा सांसद बन्न वा मन्त्री बन्नका लागि थिएन ।’ 

पहिला आफूहरुले राजनीतिक पार्टीबिना नै अधिकारका लागि संघर्ष गर्ने गरेको भन्दै राउतले पछि मूलधारको राजनीतिमा आउँदा पनि कसैले पद नलिँदा बाध्यतावश पार्टी अध्यक्ष बन्नु परेको बताए । ‘२०७९ को चुनावमा पनि आफ्नो इच्छाविपरीत लड्नु परेको थियो । तर, त्यो निर्णयमा पछुतो छैन, नलडेको भए राष्ट्रिय पार्टी पनि बन्दैन्थ्यो,’ उनले भने, ‘यसपालि पनि नलड्ने भन्दाभन्दै बाध्यतावश लड्नुपर्‍यो । तर, हारमा पनि कुनै पछुतो छैन, नलडेको भए पार्टी धराशायी बन्नुमा मलाई नै दोष आउँथ्यो ।’

उनले आफ्नो व्यक्तिगत लगाव नै अधिकारका लागि संघर्ष गर्ने रहेको बताए । ‘संघर्षमा नै मूल रुपमा केन्द्रित हुनका लागि यो निर्णय लिएको हुँ,’ उनले भने, ‘जनताका लागि सडकबाटै संघर्ष गर्नेछु र त्यसबाट कहिले पछि हट्दिनँ । अधिकारका लागि हमेसा लडिरहने आम जनतालाई विश्वास दिलाउन चाहन्छु ।’

अहिले महाधिवेशनपूर्व आफू अध्यक्षकै जिम्मेवारीमा रहने भन्दै अध्यक्ष राउतले त्यसपछि महाधिवेशनको परिणामअनुसारको भूमिकामा रहने बताए । ‘तर, आवश्यकता रहेसम्म पार्टी र जनताको मागलाई अलपत्र हुन दिन्न, आवश्यकता रहेसम्म जनता र कार्यकर्ताकै साथमा हुनेछु,’ उनले भने, ‘त्यसमा कसैले पनि पीर नमान्दा हुन्छ– हामी अलपत्र भयौं कि भन्ने बिलकुलै पीर नगर्नुहोला । म यहाँहरुकै लागि जीवन नै लगाइसकेको छु । सधैं जनता, कार्यकर्ता र पार्टीको साथमा रहनेछु ।’ 

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी-२ सिके राउत भारी मतका साथ विजयी भएका थिए । निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले उनले पराजित गरेका हुन् । राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा यादवले १६ हजार ९७९ मत मात्रै पाएका थिए ।

गत २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा भने राउतले लज्जास्पद हार बहोर्नुपर्‍यो । पहिलेकै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका राउत तेस्रो स्थानमा खुम्चिए । त्यहाँ रास्वपाका रामजी यादवले निकटतम् प्रतिस्पर्धी जसपाका उमेशकुमार यादवलाई पराजित गरे । रामजीले २८ हजार ४०४ मत पाउँदा तेस्रो स्थानमा सीमित राउतले ९ हजार ८८० मत मात्रै ल्याए ।

बेलायतको क्याब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका राउत २०६८ सालमा नेपाल फर्किएका थिए । स्वतन्त्र मधेश गठबन्धनका नाममा तराई मधेशमा स्वतन्त्र मधेश अभियान चलाउँदै आएका राउत २०७५ फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका हुन् । 

शान्तिपूर्ण राजनीतिमा आएपछि उनले 'जनमत पार्टी' गठन गरेका हुन् । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully