इरानविरुद्ध छिटो विजय हासिल गर्न सकिन्छ भन्ने अमेरिकी-इजरायली आकलन गलत देखिन्छ : पूर्वराजदूत भारद्वाज

‘दुई हप्तायताको युद्ध प्रक्रियालाई हेर्दा उनीहरूको आकलन गलत थियो भन्ने देखिन्छ,’ उनले भने, ‘इरानको आन्तरिक सैनिक शक्ति लामो समयदेखि तयारीमा रहेकाले उसले प्रत्याक्रमण गर्न सकेको छ।’

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

US-Israeli assessment of quick victory against Iran appears to be wrong: Former Ambassador Bhardwaj

What you should know

काठमाडौँ — कतारका लागि नेपालका पूर्वराजदूत डा. नारदनाथ भारद्वाजले इरानमाथि इजरायल र अमेरिकाले गरेको आक्रमणले क्षेत्रीय युद्धलाई मात्र नभई विश्वस्तरको द्वन्द्वतर्फ धकेल्ने जोखिम रहेको बताएका छन्।

अहिलेको तनाव छिट्टै समाधान नभए शक्तिशाली राष्ट्रहरूको संलग्नता बढ्दै गएर विश्वयुद्धसम्मको अवस्था सिर्जना हुन सक्ने उनको चेतावनी छ।

कान्तिपुरसँगको अन्तर्वार्तामा उनले भने, ‘इरानमाथि भएको इजरायल र अमेरिकाको आक्रमणको गहिरो अर्थ छ। अहिलेको तनाव छिटो समाप्त भएन भने थप ठूला शक्ति राष्ट्रहरूको संलग्नता भई विश्वयुद्ध नै हुन नसक्ला भन्न सकिने स्थिति छैन।’

उनका अनुसार इजरायल र अमेरिकाले छोटो अवधिमा अत्यधिक शक्ति प्रयोग गरेर इरानमाथि विजय हासिल गर्न सकिने अनुमान लगाएका थिए। तर हालसम्मको युद्धको अवस्था हेर्दा त्यो आकलन सही साबित नभएको उनको भनाइ छ।

‘दुई हप्तायताको युद्ध प्रक्रियालाई हेर्दा उनीहरूको आकलन गलत थियो भन्ने देखिन्छ,’ उनले भने, ‘इरानको आन्तरिक सैनिक शक्ति लामो समयदेखि तयारीमा रहेकाले उसले प्रत्याक्रमण गर्न सकेको छ।’

भारद्वाजका अनुसार इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैनिक अड्डा, जासुसी संस्था र आर्थिक केन्द्रहरूलाई लक्षित गर्दै प्रतिक्रिया जनाएकाले युद्ध थप गम्भीर चरणमा पुगेको छ।

उनले इरानविरुद्ध अमेरिकाले ‘सक एन्ड अ’ (Shock and Awe) रणनीति अपनाएको दाबी गरे। ‘अमेरिकाले अत्यधिक शक्ति प्रयोग गरेर छोटो समयमै विपक्षीलाई तहसनहस पार्ने नीति अपनाएको देखिन्छ, जसलाई ‘सक एन्ड अ’ रणनीति भनिन्छ,’ उनले भने, ‘यस्तो रणनीति अमेरिकाले सिरिया, लिबिया र इराकमा पनि प्रयोग गरिसकेको छ।’

गत जुनमा गरिएको आक्रमणका क्रममा इरानका तीन प्रमुख आणविक केन्द्रलाई लक्षित गरिएको उल्लेख गर्दै उनले अमेरिकाले इरानको आणविक कार्यक्रमलाई लिएर चिन्ता व्यक्त गर्दै आएको बताए।

‘अमेरिकाको बुझाइ के छ भने इरानले युरेनियम इन्रिचमेन्ट बढाउँदै आणविक बम बनाउन सक्ने अवस्थामा पुग्दैछ,’ उनले भने, ‘यदि इरान आणविक सम्पन्न देश बन्यो भने मध्यपूर्वको शक्ति सन्तुलन खलबलिन सक्छ।’

उनका अनुसार अमेरिकाले मध्यपूर्वमा इजरायललाई मुख्य सहयोगी शक्तिका रूपमा समर्थन गर्दै आएको छ। ‘इजरायलका लागि इरानविरुद्धको यो युद्ध अमेरिकाले लडिरहेको जस्तो देखिन्छ,’ उनले भने, ‘विश्वका धेरै रणनीतिक अध्येताहरूको विश्लेषण पनि यही छ।’

कान्तिपुर

Link copied successfully