रामबहादुर थापा : पहिले दाहालका प्रिय, अहिले ओलीका 

तत्कालीन नेकपामा दाहाल र ओलीबीच शक्तिसंघर्ष चर्किँदा थापाले ओलीलाई साथ दिएका थिए । कम बोल्ने तर पार्टीको आधिकारिक लाइन नछाड्ने स्वभावकै कारण ओलीले उनलाई ‘विश्वासपात्र’का रूपमा व्यवहार गर्दै आएका छन् । 

चैत्र १, २०८२

गंगा बीसी

Ram Bahadur Thapa: Formerly Dahal's favorite, now Oli's

What you should know

काठमाडौँ — एमालेले प्रतिनिधिसभा सभानुपातिकतर्फका १६ सांसदहरूमा उपाध्यक्ष रामबहादुर थापा (बादल) सिफारिस भएका छन् । आदिवासी/जनजाति ‘क्लस्टर’ को पुरुषतर्फ एक नम्बर सूचीमा थापा पर्नुमा अध्यक्ष केपी शर्माको ओलीको मुख्य रोजाइ हो । 

एमाले केन्द्रीय सचिवालयले शनिबार थापालाई समानुपातिक १६ सांसदको नाम टुंगो लगाएर निर्वाचन आयोगमा पठाइसकेको छ । एमालेले प्रत्यक्षमा ९ सिट जित्दा समानुपातिकमा १६ सांसद पाएको छ । एमालेका १६ समानुपातिक सांसदमध्ये सबभन्दा वरिष्ठ नेता थापा नै हुन् । एमालेका एक नेताका अनुसार पार्टीको ससदीय दलको नेता थापा हुने सम्भावना छ । 

माओवादीमा रहँदा तत्कालीन अध्यक्ष पुष्पकमल दाहालका प्रिय पात्र थापा एमालेमा प्रवेश गरेपछि ओलीका उत्तिकै प्रिय बने । उनलाई ओलीले रुचाउनुमा केही खास कारण छन् ।

२०७४ को प्रतिनिधिसा निर्वाचनमा एमाले र माओवादीबीच पार्टी एकता गर्नेगरी चुनावी गठबन्धन बन्यो । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल संयुक्त चुनावी अभियानमा लागेका थिए । ०७४ मंसिर ३ मा अचानक दाहाल पुत्र प्रकाशको निधन भयो । दाहाल शोकमा भइरहेका बेला पनि चुनावी अभियान जारी रहृयो । त्यो अभियानमा दाहालले थापालाई ओलीसँगै खटाए । ओली र थापाबीच त्यहीबेला हिमचिम बढ्यो । कम बोल्ने तर पार्टीको आधिकारिक लाइन नछाड्ने थापासँग ओली प्रभावित भए । 

०७५ जेठमा एमाले र माओवादीबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी बन्यो । नेकपाका दुई अध्यक्ष ओली र दाहाल बने । एमाले र  माओवादी मिलेर बनेको नेकपाको संसद्‍मा १७४ सिट ल्यायो । ०७४ मा थापा राष्ट्रिय सभा सदस्य बने ।

Ram Bahadur Thapa: Formerly Dahal's favorite, now Oli's

सरकारको नेतृत्व ओली र पार्टी सञ्चालन दाहालले गर्ने समझदारी भए पनि त्यो लामो समय टिकेन । नेकपा बनेको एक वर्ष नबित्दै ओली र दाहालबीच शक्ति संघर्ष सुरु भयो । उनीहरुको शक्ति संघर्ष एकले अर्कोलाई विस्थापित गर्ने तहसम्म पुगेपछि केन्द्रीय सचिवालयमा रहेका थापाले ओलीलाई साथ दिए । त्यतिबेला ओली प्रधानमन्त्री र थापा गृहमन्त्री थिए । तत्कालीन प्रधानमन्त्री ओलीको विश्वासमा गृहमन्त्री थापाले काम गरे । यो थापाले ओलीलाई पारेको दोस्रो ठूलो प्रभाव थियो ।

तत्कालीन नेकपाको ९ सदस्यीय केन्द्रीय सचिवालयमा ओली अल्पमतमा परेका थिए । उनलाई नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा र तत्कालीन महासचिव विष्णु पौडेलले साथ दिएका थिए । दाहालको पक्षमा माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उभिएका थिए । 

२०७७ पुसपछि विवाद उत्कर्षमा पुगेर पार्टी फुट्ने अवस्थामा पुग्दा पूर्वमाओवादीका धेरै नेताहरू दाहालको पक्षमा लागे, तर थापाले ओलीलाई रोजे । संकटको सारथीको रुपमा थापा उभिएपछि ओलीले अघि बढाउँदै आएका छन् । 

फागुन २१ मा भएको निर्वाचनमा एमालेले ठूलो हार बेहोरे पनि ससदीय दलको नेताका रूपमा ओलीले थापालाई अघि बढाउँदै आएका छन् । ओली र दाहालको शक्ति संघर्षका उत्कर्षमा पुगिरहेको बेला ०७७ फागुनमा सर्वोच्च अदालतले एक निवेदनमा सुनवाइ गर्दै एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काइदियो । माओवादी पृष्ठभूमिका देव गुरुङ, पम्फा भुसाललगायत नेताहरू माओवादीतिर लागे भने थापाचाहिँ एमालेमै रहे । उनी एमालेमै रहनुको मुख्य कारण ओलीसँग निकट सम्बन्ध थियो ।

Ram Bahadur Thapa: Formerly Dahal's favorite, now Oli's

गत भदौको एमालेको ११ औं महाविशेनमा पूर्वमाओवादी पृष्ठभूमिका नेतालाई नेतृत्वमा पुग्न सकस थियो । तर ओलीले ‘शक्ति प्रयोग गरी’ थापा र अर्का नेता लेखराज भट्ट जिताउन महाधिवेशन प्रतिनिधिहरुलाई निर्देशन दिए । थापा उपाध्यक्ष र भट्ट उपमहासचिव निर्वाचित भए ।

माओवादीमा रहँदा होस् वा एमालेमा बसेको बेला थापा संस्थान पक्षमा खुलेर लाग्छन् । नेकपा रहेको बेला उनले ओलीलाई साथ थिए । एमालेमा अन्तरसंघर्ष चलेको बेला थापा सस्थापनको पक्षमा उभिन्छन् । यो उनको यो पुरानै बानी एमालेको भदौको ११औं महाधिवेशनसम्म निरन्तर रहृयो ।

ओलीको मन्त्रिपरिषद्‍मा थापा २०७७  देखि र २०७८ असारसम्म गृहमन्त्री भएका थिए । २०६४ को संविधानसभा निर्वाचनपछि २०६५ साल असारमा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री र थापा रक्षामन्त्री भएका थिए । 

०६६ वैशाखमा माओवादी नेतृत्व सरकारले तत्काली प्रधानसेनापति रुक्मांगत कटवाललाई बर्खास्त गरी बलाअध्यक्ष कुलबहादुर खड्कालाई प्रधानसेनापति नियुक्त गर्ने निर्णय गरेको थियो । तत्कालीन रक्षामन्त्री थापाले नै कटवाललाई कारबाही गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेका थिए । राष्ट्रपति रामवरण यादवले त्यो निर्णय उल्ट्याएपछि कटवाल जोगिएका थिए । 

सरकार र नेपाली सेनाबीच विवाद चुलिएपछि २०६६  वैशाख २१ गते माओवादीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री दाहालले राजीनामा दिएका थिए ।

त्यबेला माओवादी अध्यक्ष दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यदिशामा अघि बढेपछि अर्का उपाध्यक्ष मोहन वैद्य पक्षले फरक मत राखेको थियो । त्यो अन्तरसंघर्षमा थापा वैद्यतिर लागेका थिए । ०६९ जेठ ३ गते काठमाडौंको बौद्धमा मोहन वैद्यको नेतृत्वमा नेकपा माओवादीको गठन गरेको थियो । त्यसको एक पहिनापछि असारमा एकीकृत नेकपा (माओवादी) औपचारिक रूपमा विभाजित भएको थियो ।

०७३ मा जेठमा वैद्यसँग मतभेद भएपछि थापाको नेतृत्वमा अर्को दल गठन भएको थियो । त्यसपछि ०७४ को निर्वाचनको मुखमा थापा, देव गुरुङ, पम्फा भुसाल माओवादीमै फर्किएका थिए । ०७७ फागुनपछि भने थापा एमालेमा रहे भने अरु नेता माओवादीमा रहेका थिए ।

०१२ मा जन्मिएका थापा पञ्चायतकालमा कृषि विषयमा उच्च शिक्षा अध्ययनका लागि रुस (तत्कालीन सोभियत संघ) गएका थिए । उनी आफ्नो अध्ययन पूरा नगरी स्वदेश फर्केर पूर्णकालीन राजनीतिमा लागेका थिए । 

०३८ पछि तत्कालीन नेकपा (मशाल) मा आबद्ध भई राजनीतिमा सक्रिय भएका थिए । भूमिगत जीवनमा बादलका नामले उनी चर्चित थिए । माओवादीले ०५२ फागुनमा सशस्त्र युद्ध सुरु गर्नुअघि रुकुम रोल्पा कार्यक्षेत्र थियो । युद्धको आधार बनाउन त्यसबेला उनले भूमिका खेलेका थिए । त्यसतबेला रुकुम रोल्पामा ‘रुसमा सैन्य विज्ञान’ पढेको भन्दै ‘बादल’ चर्चा व्यापक चलेको थियो । माओवादी लडाकु हुन चाहनेहरूका लागि ‘बादल’ रोलमोडल थिए । कम बोल्ने तर पार्टीको लाइन स्पष्ट दिन सक्ने भएकाले रुकुम, रोल्पातिर उनको छाप परेको थियो ।

गंगा

Link copied successfully