रास्वपा सचिवालय बैठकमा सभापति लामिछानेले भने : पदका लागि कोही पनि घरघर नधाउनुहोला

पदका लागि घरघरमा धाउने काम नगर्न सांसदहरूलाई भनिदिनुहोला, त्यही प्रथाको विरोध गरेर हामी आएका हौँ : रवि लामिछाने

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

At the RSVP Secretariat meeting, President Lamichhane said: No one should go door to door for the post.

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले घरघर डुलेर सांसद पद नपाइने बताएका छन् । आइतबारको सचिवालय बैठकमा सभापति लामिछानेले पार्टीले सबैको विषयमा राम्रो निर्णय गरेको बताएका हुन् । 

बैठकमा सहभागी एक सदस्यका अनुसार रविले बैठकमा पार्टीले कसैलाई पनि अन्याय नगर्ने बताएका थिए । 'पदका लागि घरघरमा धाउने काम नगर्न सांसदहरूलाई भनिदिनुहोला, त्यही प्रथाको विरोध गरेर हामी आएका हौँ,' उनले बैठकमा भनेका थिए । 

साथै सचिवालयले ४८ जना महिला र ९ जना पुरुषको नाम समानुपातिक सांसद पदका लागि प्रस्ताव गर्दै निर्वाचन आयोगमा पठाएको छ । आयोगले रुजु गरेर प्रमाणित नगरेसम्म नाम सार्वजनिक नगर्न पनि उनले आग्रह गरे । उनले भने, 'समानुपातिकको सूची सार्वजनिक नगरियोस् । निर्वाचन आयोगले रुजु गरेपछि मात्रै सार्वजनिक गर्ने हो । कसैको नाम सार्वजनिक भएपछि आयोगमा मिलाउँदा सांसद बन्न नपाए सम्बन्धित व्यक्तिलाई गाह्रो हुन्छ ।' 

रविले सबै कामका लागि वरिष्ठ नेता बालेन्द्र शाहसँग कुराकानी भइरहेको पनि जानकारी गराएका थिए । 'म र वरिष्ठ नेताबीच सल्लाह भइरहेको छ । सबै कामका लागि सल्लाहमै छौं,' उनको भनाइ छ । उनले अगाडि भने, 'सांसदहरूलाई पदका बारेका मिडिया ट्रायल नगर्नु भन्नुहोला । मिडिया ट्रायल गरेर कसैले केही पाउदैनन् ।   पदका लागि कसैलाई भन्न लगाउने र घर धाउने काम नगर्न भन्नुहोला ।'

कान्तिपुर

Link copied successfully