३५ वर्षयताकै सबैभन्दा बढी मत यसपालि बदर

समानुपातिकमा भन्दा प्रत्यक्षमा बढी मत बदर, समानुपातिकतर्फ २०७४ र २०७९ मा भन्दा यो वर्ष सुधार

फाल्गुन ३०, २०८२

राजेश मिश्र

The highest number of votes in 35 years were invalidated this time.

काठमाडौँ — यसपालि प्रतिनिधिसभा निर्वाचनमा बदर मत प्रतिशत अघिल्ला चुनावहरूभन्दा बढी देखिएको छ । निर्वाचनमा अपनाइएका दुई प्रणालीमध्ये समानुपातिकमा भन्दा प्रत्यक्षमा बढी मत बदर भएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ १ करोड ८९ लाख ३ हजार ६ सय ८९ कुल मतदातामध्ये १ करोड ११ लाख ६८ हजार ३२ जना अर्थात् ५९.०८ प्रतिशतले मतदान गरेका थिए । खसेको मतमध्ये ६ लाख ९ हजार १५ मत (५.४५ प्रतिशत) बदर भएको छ । समानुपातिकतर्फ ४.१० प्रतिशत मत बदर भएको छ । १ करोड १३ लाख १२ हजार ४ सय ५५ मत (५९.८४ प्रतिशत) खसेकामा ४ लाख ६३ हजार ३ सय ७३ मत बदर भएको हो ।

आयोगले निर्वाचन शिक्षा शीर्षकमा यस पटक २५ करोड खर्चको अख्तियारी पाएको थियो । आयोगले हरेक वडामा स्वयंसेवक परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । वडा तहमा त्यसरी स्वयंसेवक परिचालन गर्दा मात्र ७ करोड ४६ लाख रुपैयाँ खर्च भएको छ । त्यसबाहेक मतदाता शिक्षाका लागि डिजिटल प्लाटफर्म तथा सार्वजनिक सञ्चारमाध्यम, पर्चा पम्प्लेट, नमुना मतपत्र छपाइमा ठूलो धनराशि खर्च भएको छ । बदर मत घटाउन तथा मतदान प्रतिशत बढाउन मतदाता शिक्षाले योगदान गर्ने विश्वास गरिन्छ । तर विगतको तुलनामा बदर मत बढेको छ, मतदान प्रतिशत घटेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन नतिजाको सम्पूर्ण तथ्यांकको अध्ययन र विश्लेषण भइनसकेकाले अहिले नै त्यसबारे टिप्पणी नगर्ने बताए । ‘समानुपातिकतर्फ विगतको तुलनामा बदर मत प्रतिशत घटेको बुझेको छु । प्रत्यक्षतर्फ विगतका चुनावमा जस्तै अवस्था छ,’ उनले भने, ‘बदर मत घटाउन मतदाता शिक्षामार्फत हरसम्भव प्रयास गरिएको हो । त्यसले केही प्रतिफल पनि दिएको छ तर के कस्तो प्रतिफल आयो वा आएन, तथ्यांकहरूको अध्ययन र विश्लेषणपछि मात्रै त्यसबारे टिप्पणी गर्न सक्छौं ।’

२०७९ को चुनावमा प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको थियो । १ करोड ७९ लाख ८८ हजार ५ सय ७० कुल मतदातामध्ये १ करोड १० लाख ४७ हजार ३४ (६१.४१ प्रतिशत) मतदान भएको थियो । त्यसमध्ये ५ लाख ५९ हजार ७६ मत बदर थियो । त्यस्तै समानुपातिकतर्फ ५ लाख ६६ हजार १ सय ४४ अर्थात् ५.०९ प्रतिशत मत बदर भएको थियो । त्यति बेला पनि मतदाता शिक्षामा २५ करोड रुपैयाँ खर्च गरिएको थियो ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५.१७ प्रतिशत मत बदर भएको थियो । कुल १ करोड ५४ लाख ७९ हजार ३८ मतदातामध्ये १ करोड ५ लाख ९४ हजार ४४ मतदाता (६८.६६ प्रतिशत) ले मतदान गरेका थिए । त्यसमध्ये ५ लाख ४८ हजार ५ सय ७० मत बदर भएको थियो । खसेको मतमा समानुपातिकतर्फ ९५ लाख ४४ हजार ७ सय ७९ मत मात्रै सदर भएको थियो । त्यस बेला समानुपातिकतर्फ ठूलो संख्यामा मत बदर भएको थियो । आयोगले २०७४ को नतिजा प्रतिवेदनमा समानुपातिकतर्फको बदर मतको प्रतिशत सार्वजनिक गरेको छैन । खसेको मत र सदर मतबीचको अन्तर १० लाख ४९ हजारको देखिन्छ । समानुपातिकतर्फ बदर भएको मत ९.९० प्रतिशत देखिन्छ ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ४ लाख ७१ हजार ८ सय २६ अर्थात् ४.९६ प्रतिशत मत बदर भएको थियो । त्यस्तै, समानुपातिकतर्फ ३ लाख १२ हजार ८ सय ४१ (३.२० प्रतिशत) मत बदर थियो । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५ लाख ६० हजार ११ मत (५.१५ प्रतिशत) बदर भएको थियो । समानुपातिकतर्फ ४ लाख ७ हजार ४ सय ६२ मत (३.२६ प्रतिशत) बदर भएको थियो । त्यसअगाडि मिश्रित निर्वाचन प्रणाली थिएन । २०४८, २०५१ र २०५६ मा क्रमशः ४.४२, ३.१६ र २.७५ प्रतिशत मत बदर भएको थियो ।

निर्वाचन पर्यवेक्षण गर्दै आएको डेमोक्रेसी रिसोर्स सेन्टरका कार्यकारी निर्देशक शेखर पराजुली मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा बदर मत प्रतिशत घट्नुको साटो बढेको बताउँछन् । ‘खर्च भयो तर त्यसको उपादेयता देखिएन, आयोगले वडा तहमा स्वयंसेविका खटाएर मतदातालाई शिक्षित पारिएको भन्यो । तर स्वयंसेविकाले गरेको कामको अनुगमन भएको पाइएन,’ उनले भने, ‘निर्वाचनका बेला मतदाताका लागि राज्यले ठूलो लगानी गरेको हुन्छ । औसतभन्दा बढी मत बदर भइरहनु राम्रो होइन । यसलाई घटाउन गम्भीर रूपमा काम नै भएन ।’

पराजुलीले २–३ प्रतिशत मत बदर हुनुलाई सामान्य मान्न सकिए पनि ५ वा त्योभन्दा बढी प्रतिशत मत बदर भइरहनु ठीक नभएको बताए । बदर मत घटाउने र मतदान प्रतिशत बढाउने दुवै लक्ष्यमा मतदाता शिक्षा कार्यक्रम यस पटक प्रभावकारी नदेखिएको उनले टिप्पणी गरे । दुई ठाउँमा मत हाल्नुपर्छ भन्ने विषयमा मतदातालाई सही ढंगले बुझाउन नसक्दा पनि बदर मत प्रतिशत बढेको उनले बताए । ‘मतदाताले प्रत्यक्षतर्फको मतपत्र पहिला पाए, कतिपयले दुई ठाउँमा मत हाल्न पाइन्छ भन्दै त्यही मतपत्रमा दुई वटा चिह्नमा स्वस्तिक चिह्न लगाइदिए,’ उनले भने, ‘त्यही भएर प्रत्यक्षमा बढी बदर भएको हुन सक्छ ।’ मतदान अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको वा कुन मतपेटिकामा मत हाल्नुपर्छ भन्ने सही जानकारी नदिँदा पनि मत बदर भएको पाइएको उनले बताए ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully