प्रदीप ज्ञवालीको स्वीकारोक्ति : 'नयाँ पुस्तासँग संवाद र विश्वास स्थापित हुन सकेन'

'हामीले बेहोरेको धक्का इतिहासकै गम्भीरतममध्येको हो ।'

फाल्गुन ३०, २०८२

कान्तिपुर संवाददाता

Pradeep Gyawali's confession: 'Dialogue and trust could not be established with the new generation'

काठमाडौँ — एमाले नेता प्रदीप ज्ञवालीले आफ्नो पार्टीले इतिहासकै गम्भीर धक्का बेहोर्नुपरेको बताएका छन् । 

निर्वाचन परिणामसँगै एमाले पंक्तिमा अन्योल र नैराश्य देखापरेको उल्लेख गर्दै उनले भनेका छन्, 'प्रतिकूल परिणामका बीचमा यस्ता प्रतिक्रिया अस्वाभाविक होइनन् ।'

निर्वाचनमा एमालेको ठूलो पराजयपछि सामाजिक सञ्जालमा उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । अहिलेको नतिजा भोग्नुमा उनले नीतिगत, संरचनागत प्रश्नका साथै शैलीगत, नेतृत्व पंक्ति र व्यक्ति–व्यक्तिका भूमिकाका कारण सिर्जित भएको उल्लेख गरेका छन् । 'यी सबैको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा हुनैपर्छ । हुन्छ,' उनको भनाइ छ ।

आन्तरिक र बाह्य कारणमध्ये कति समयमै ध्यान दिन या सच्याउने सकिने खालका रहेको पनि उनले उल्लेख गरेका छन् । 'कति भने काबुबाहिरका, शक्ति सन्तुलनले नभ्याउने र हामीले अनुमानै गर्न नसक्ने खालका थिए,' उनले लेखेका छन् ।

यी सबैको वस्तुनिष्ठ, गहन र निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिँदै उनले ‘यो यस्तै हो' भनियो या अरुलाई मात्रै दोषारोपण गरियो भने संकट झनै गहिरिँदै जानेतर्फ पनि पार्टी पंक्तिलाई सचेत गराएका छन् । 

अहिले मतदाताको बहुसंख्याले एमालेले असत्य र भ्रम भनेको विषयलाई सत्य ठहर्‍याइदिएको भन्दै उनले नयाँ पुस्तासँग संवाद र विश्वास स्थापित हुन नसकेको पनि स्वीकार गरेका छन् ।

२१ फागुनमा भएको प्रतितिधिसभा सदस्य निर्वाचनका लागि ज्ञवाली गुल्मी-१ बाट उम्मेदवार थिए । सो क्षेत्रबाट रास्वपाका सागर ढकाल विजयी भएका छन् ।

कान्तिपुर

Link copied successfully