‘मतदाताले दिएको अभिमतबमोजिम हाम्रो पार्टीले जिम्मेवार प्रतिपक्षको रचनात्मक भूमिका निर्वाह गर्नेछ ।’-नेकपा
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने जनाएको छ । संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले पार्टी अन्तर निर्देशन जारी गर्दै संसद्, सरकारका कामकारबाहीलाई गम्भीरताका साथ ध्यान दिने जनाएको छ।
‘यो निर्वाचन असामान्य अवस्थामा भएको थियो। विभिन्न अड्कल, आशंका, अनिश्चितता तथा षड्यन्त्रको पृष्ठभूमिमा सम्पन्न भएको यस निर्वाचनले लोकतन्त्रलाई फेरि लिकमा ल्याउने स्थिति बनाएको छ। निर्वाचनमा राजनीतिक दलहरूले प्राप्त गरेको मत, संसद्मा राजनीतिक दलले खेल्ने भूमिका र नयाँ बन्ने सरकारको कामले राष्ट्र तथा राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा हामीले गम्भीरतापूर्वक ध्यान दिन आवश्यक छ,’ नेकपाले भनेको छ, ‘मतदाताले दिएको अभिमतबमोजिम हाम्रो पार्टीले जिम्मेवार प्रतिपक्षको रचनात्मक भूमिका निर्वाह गर्नेछ ।’
नेकपा एकता भएपछि पार्टी संगठन समायोजनको कार्य सम्पन्न गरिनसक्दै निर्वाचनमा होमिएको थियो। पार्टीको विचार, नीति, कार्यक्रम र चुनाव चिह्नसमेत जनतामा स्थापित गर्न नसकेको उसको स्वीकारोक्ति छ ।
‘भदौ २३ र २४ को घटनापश्चात् देखिएको राजनीतिक अन्यौलता र मिडिया क्षेत्रमा फैलाइएका भ्रामक तथा नकारात्मक प्रचारलाई चिर्नसमेत प्रयाप्त समय रहेन,’ नेकपाको विश्लेषण छ, ‘विविध कारणले परिस्थिति हाम्रा निम्ति अनुकूल बन्न सकेन र हामीले अपेक्षा गरेअनुसारको परिणाम आएन ।’
नेकपाले निर्वाचित भएको उम्मेदवारलाई बधाई दिँदै सफलताको शुभकामना दिएका छ ।
