रास्वपाले कसरी समेट्दैछ समानुपातिक सूचीमा जेन-जी घाइते र सहिद परिवार ?

समानुपातिक सूचीमा प्रकाश बोहोरा, पवन शाही र रचना खतिवडाको नाम भए पनि संवैधानिक समावेशी तथा महिला कोटाका कारण उनीहरूको प्रतिनिधित्वमा अन्योल देखिएको छ।

फाल्गुन २९, २०८२

समर्पण श्री

How is the Rashtriya Swayamsevak Sangh (RSS) including the families of Gen-G, injured and martyrs in the proportional list?

What you should know

काठमाडौँ — रास्वपाले समानुपातिक उम्मेदवार घोषणा गर्दा जेन-जी आन्दोलनका घाइते र सहिद परिवारलाई पनि सूचीमा समेटेको थियो ।

यो सूचीमा दैलेखका प्रकाश बोहोरा, कालिकोटका पवन शाही र काठमाडौंकी रचना खतिवडाको नाम समावेश गरिएको थियो । तर, संवैधानिक समावेशी तथा महिला कोटाका कारण उनीहरूको प्रतिनिधित्व कसरी मिल्ला भन्ने प्रश्न उठेको छ ।

रास्वपाले निर्वाचन आयाेगमा बुझाएकाे बन्दसूचीमा प्रकाश बोहोरा खस–आर्य क्लस्टरको चौथो नम्बरमा र पवन शाही पाँचौँ नम्बरमा छन् । २८ वर्षीय प्रकाश २३ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा घाइते भएका थिए । उनको देब्रे खुट्टामा चोट लागेको थियो ।

घाइते अवस्थामा लगाएको उनको जुत्ता जेन-जी आन्दोलनको ‘आइकोनिक’ प्रतीकका रूपमा चर्चित भएको थियो । घाइते भएको ५ महिनापछि अस्पतालबाट डिस्चार्ज भएर प्रकाश वैशाखी टेक्दै चुनावी प्रचारमा निस्किएका थिए ।

पवन शाही २३ भदौको आन्दोलनका क्रममा पेट र पाखुरामा गोली लागेर घाइते भएका थिए । रचना खतिवडा भने २३ भदौमा भएको गोली प्रहारमा मारिएका जेन-जी सहिद रसिक खतिवडाकी आमा हुन् ।

४७ महिला अनिवार्य

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ ।

संविधानअनुसार संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाइ महिला हुनुपर्छ । रास्वपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नभएकाले यो अनुपात प्रतिनिधिसभामै मिलाउनुपर्ने हुन्छ ।

प्रत्यक्षका १२५ र समानुपातिकका ५७ गरी प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद हुने छन् । त्यसको एक तिहाइ अर्थात् कम्तिमा ६० महिला हुनुपर्छ । प्रत्यक्षबाट १३ महिला निर्वाचित भएकाले कम्तिमा ४७ महिला समानुपातिक सूचीबाट रास्वपाको सासंद हुनेछन् । 

समावेशी क्लस्टरको बाध्यता

समानुपातिकतर्फ प्राप्त ५७ सिटमा रास्वपाले आदिवासी जनजाति १६, खस–आर्य १८, थारू ४, दलित ८, मधेशी ९ र मुस्लिम २ जना चयन गर्नुपर्नेछ । समावेशी समूहभित्रबाट कम्तीमा ४७ जना महिला र २ जना पिछडिएका क्षेत्रका व्यक्तिलाई पनि समेट्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधित्वको अपेक्षा

यसबीच जेन-जी आन्दोलनका घाइते र सहिद परिवारका तर्फबाट पनि संसद्मा प्रतिनिधित्व गराइनुपर्ने आवाज उठिरहेको छ । उसो त रास्वपालाई पनि उनीहरूको प्रतिनिधित्व नगरे प्रश्नहरू उठ्ने चुनौती छन् । जस्तो कि चुनावी प्रचारमा जेन-जी घाइते र सहिद परिवारको ‘सेन्टिमेन्ट’ बटुलेर उनीहरूलाई प्रयोग गरेको आरोप पार्टीमाथि लाग्न सक्छ ।

रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुली भने जेन-जी घाइते वा सहिद परिवारको तर्फबाट पर्ने वा नपर्ने भन्ने भन्दा पनि पार्टी नियमअनुसार नै जानुपर्ने बताउँछन् । ‘संविधानले भनेअनुसार सूचीमा जो अग्रस्थानमा छ उसैको नाम आउँछ । हामी नियमअनुसार नै पठाउँछौँ,’ उनी भन्छन् । 

जेन-जी आन्दोलनका घाइते प्रकाश बोहोरा आफू घाइतेको प्रतिनिधित्वसँगै कर्णाली क्षेत्रको प्रतिनिधित्वका लागि पनि संसद्मा पुग्नुपर्ने बताउँछन् । उनी र पवन शाही समानुपातिक सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह समूहबाट परेका हुन् भने रचना खतिवडा पार्टी सभापति रवि लामिछाने निकट समूहबाट परेकी हुन् ।

रवि लामिछाने जेलबाट छुटेलगत्तै जेन-जी सहिद परिवारसँग भेटघाट गर्ने क्रममा रचनासँग पनि भेट गरेका थिए । त्यस्तै बालेन्द्र शाहले पनि प्रकाशको समूहसँग भेटेर उनीहरूको कुरा सुनेका थिए ।

‘रास्वपाले सहिद परिवार र घाइतेहरूको पीडा अनुभूत गरेको छ । पक्कै पनि प्रतिनिधित्व गराउनेमा हामी आशावादी छौँ,’ प्रकाशले भने ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully