सामानुपातिकमा रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट पाए, रास्वपाको ४७.८४ प्रतिशत मत अहिलेसम्मकै सर्वाधिक लोकप्रिय
काठमाडौँ — निर्वाचन आयोगले समानुपातिकतर्फ ११० सिटको बाँडफाँट गरेर निर्वाचित हुने उम्मेदवारको नाम छनोट गर्न दलहरूलाई बिहीबार पत्राचार गरेको छ । कानुनअनुसार ३ प्रतिशत ‘थ्रेस होल्ड’ पार गरेका ६ दलहरू रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले समानुपातिक सांसद पाएका हुन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट पाएका छन् । ती दलहरूलाई तीन दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगमा पेस गर्न पत्राचार गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ऐतिहासिक लोकप्रिय मत पाएर ५७ सिट पाएको छ । उसले सदर मतको ४७.८४ प्रतिशत मत पाएको छ । कुनै एक दलले पाएको उक्त मत प्रतिशत अहिलेसम्मकै सर्वाधिक हो । रास्वपाले ल्याएको कुल मत ५१ लाख ८३ हजार ४ सय ९३ हो ।
२०७९ को प्रतिनिधिसभामा पहिलो पटक भाग लिएको रास्वपाले त्यतिबेला समानुपातिकतर्फ १०.७ प्रतिशत मत प्राप्त गरेर १३ सिट पाएको थियो । तीन वर्षको अन्तरालपछि भएको निर्वाचनमा रास्वपाले झन्डै ५ गुणा बढी मत ल्याएको हो ।
२०६४ को संविधानसभा निर्वाचनदेखि मिश्रित निर्वाचन प्रणालीअनुसार चुनाव हुँदै आएको छ । सशस्त्र द्वन्द्व त्यागेर शान्ति प्रक्रियामा आएको माओवादीले २०६४ को चुनावमा समानुपातिकतर्फ सर्वाधिक २९.२८ प्रतिशत र २०७० को दोस्रो संविधानसभामा कांग्रेसले सबैभन्दा बढी २५.२५ प्रतिशत मत ल्याएको थियो । त्यस्तै, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले समानुपातिकतर्फ सबैभन्दा बढी क्रमशः ३७.१ र २६.९५ प्रतिशत मत ल्याएको थियो ।
त्यसअघि २०४८ को संसदीय चुनावमा कांग्रेसले ३७.७५, २०५१ को निर्वाचनमा एमालले ४२.९३ र २०५६ मा कांग्रेसले ३६.१४ प्रतिशत मत पाएर ठूलो दल बनेका थिए । त्यतिबेला समानुपातिक निर्वाचन प्रणाली भने थिएन ।
२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना बिहीबार सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६ सय १७ मत खसेकामा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको छ । रास्वपापछि दोस्रोमा कांग्रेसले १७ लाख ५९ हजार १ सय ७२ अर्थात् कुल सदर मतको १६.२३ प्रतिशत मत ल्याएको छ । उसले २० सिट पाएको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेस ३८ सिटसहित प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल बनेको छ ।
तेस्रो स्थानमा एमालेले १४ लाख ५५ हजार ८ सय ८५ (१३.४३ प्रतिशत) मत ल्याएर समानुपातिकबाट १६ सिट पाएको छ । प्रत्यक्षमा ९ सिट जितेको एमालेको प्रतिनिधिसभामा २५ जनाको प्रतिनिधित्व हुने भएको छ ।
विभिन्न २५ वटा कम्युनिस्ट दल मिलेर बनेको नेकपाले भने ७.४९ प्रतिशत मत ल्याएर समानुपातिकतर्फ ९ सिट पाएको छ । उक्त दलले ल्याएको कुल मत ८ लाख ११ हजार ५ सय ७७ हो । प्रतिनिधिसभामा उक्त दलको १७ सांसदको उपस्थिति हुनेछ ।
प्रतिनिधिसभाको निर्वाचनमा पहिलो पटक भाग लिएको श्रम संस्कृतिले प्रत्यक्षमा ३ सिट जितेको छ । समानुपातिकतर्फ ३ लाख ८५ हजार ९ सय २ मत ल्याएर ४ सिट सुरक्षित गरेको छ । उक्त दलले ल्याएको मत प्रतिशत ३.५६ हो । त्यस्तै, संवैधानिक राजतन्त्र र हिन्दु राज्यको मुद्दा उठाउँदै आएको राप्रपाले ३ लाख ३० हजार ६ सय ८४ मत ल्याएर समानुपातिकमा ४ सिट ल्याएको छ । प्रत्यक्षमा १ सिट जितेको राप्रपाको प्रतिनिधिसभामा ५ सांसदको उपस्थिति हुने भएको छ ।
२०६४ को संविधानसभा निर्वाचनयताको ४ वटा निर्वाचनबाट संसद्मा उपस्थित हुँदै आएका मधेशी दलहरू भने यस पटक ‘शून्य’ मा झरेका छन् । २०७९ को चुनावमा प्रत्यक्ष र समानुपातिक सिट जितेर संसद्मा रहेका जसपा र जनमतले यस पटक प्रत्यक्ष वा समानुपातिकतर्फ सिट ल्याउन सकेनन् । ‘थ्रेसहोल्ड’ धेरै कम जसपाले १.६८ प्रतिशत र जनमतले ०.७३ प्रतिशत मात्र मत ल्याए ।
समानुपातिकतर्फ दलले प्राप्त गरेको सिटमा महिला तथा अन्य समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने कानुनले तोकेको प्रतिशतअनुसार उम्मेदवारको नाम पठाउनुपर्ने प्रवक्ता भट्टराईले बताए । ‘केन्द्रीय समितिको निर्णय गरेर आयोगमा दलले नाम पठाउनुपर्नेछ,’ उनले भने ।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअनुसार महिलाको संख्यासमेत मिलाएर दलले पठाउनुपर्ने प्रवक्ता भट्टराईले बताए । आदिवासी जनजाति २८.७ प्रतिशत, खस आर्य ३१.२ प्रतिशत, थारू ६.६ प्रतिशत, दलित १३.८ प्रतिशत, मधेशी, १५.३ प्रतिशत मुस्लिम ४.४ प्रतिशत छुट्याएर दलहरूले निर्वाचित हुने उम्मेदवारको नाम आयोगमा पठाउनुपर्छ ।
‘१ चैतभित्र दलहरूले निर्वाचित हुने उम्मेदवारको नाम आयोगमा पठाइसक्नुपर्छ,’ उनले भने, ‘दलले पठाएका नामहरू कानुनअनुसार समानुपातिक प्रतिनिधित्व भए/नभएको चेक जाँच आयोगले गर्ने र आवश्यक परे त्यसमा सुधार गर्न लगाएपछि मात्र परिणाम घोषणा गरिनेछ ।’
