प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मतदान

समानुपातिकतर्फको गणना सकिए पनि केही क्षेत्रबाट प्रामाणिक विवरण नआउँदा सिट बाँडफाँटमा ढिलाइ

फाल्गुन २८, २०८२

राजेश मिश्र

Nearly 60 percent voter turnout in House of Representatives elections

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको छ । समानुपातिकतर्फ बुधबार सम्पन्न मतगणनाले करिब ६० प्रतिशत मतदान भएको देखाएको हो । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले समानुपातिकतर्फ मतगणना सम्पन्न हुँदा ५९.८४ प्रतिशतले मतदान गरेको बताए ।

जबकि आयोगले २१ फागुनमा मतदानको साँझ ५८ प्रतिशत मतदान भएको जनाएको थियो । ‘प्रारम्भमा प्रहरीबाट आएका विवरण सार्वजनिक गरिएको थियो । त्यही बेला निर्वाचन अधिकृतको कार्यालयबाट थप विवरण प्राप्त भएपछि सोहीबमोजिम परिमार्जन गर्ने भनेका थियौं,’ राउतले भने, ‘समानुपातिकतर्फको सबै मतको गणना सकिएपछि मतदानको यकिन प्रतिशत आएको हो ।’

आयोगका अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये १ करोड १३ लाख १२ हजार ४ सय ५५ जना मतदानमा सहभागी भएका छन् । आयोगले २१ फागुनमा दिएको प्रारम्भिक जानकारीमा १ करोड ९ लाख ७७ हजार ७ सय ११ जनाले मतदान गरेको जनाएको थियो । उक्त संख्या कुल मतदाताको ५८.०७ प्रतिशत हो । समानुपातिकतर्फ खसेको कुल मतमा ४.१० प्रतिशत मत बदर भएको छ । बदर मतको संख्या ४ लाख ६३ हजार ३ सय ७३ छ । सदर मत १ करोड ८ लाख ४९ हजार ८२ छ । प्रत्यक्षतर्फ भने पाँच प्रतिशतभन्दा बढी मत बदर भएको आयोगले जनाएको छ ।

सदर मतको ३ प्रतिशत कटाउने राजनीतिक दल समानुपातिकतर्फ सिट हकदार हुने कानुनी व्यवस्था छ । यसरी हेर्दा यस पटक ३ लाख २६ हजार बढी मत ल्याउने पार्टीले सिट पाउने भएका छन् । त्यसरी सिट पाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छन् ।

आयोगले बुधबार रातिसम्ममा १ करोड ८ लाख ३० हजार ८ सय १५ मतको विवरण सार्वजनिक गरेको छ । गणना भइसकेको १८ हजार २ सय ६७ मतको प्रामाणिक विवरण अपलोड गर्न बाँकी छ । अन्तिम प्रामाणिक विवरण प्राप्त भए पछि आयोगले सिट बाँडफाँट गरेर त्यसअनुसार समावेशी समूह र महिलाको संख्या मिलाएर निर्वाचित हुने उम्मेदवारको नाम बन्दसूचीको क्रमअनुसार पठाउन दलहरूलाई मंगलबार नै पत्राचार गर्ने तयारी गरेको थियो । तर, जिल्लामा मतगणना र गणनाको प्रामाणिक विवरण आउन भएको ढिलाइले दललाई पत्राचार गर्न नसकिएको सचिव राउतले बताए ।

अन्तिम विवरण प्राप्त भएपछि ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाएका राजनीतिक दलले पाउने सिटको बाँडफाँट गरेर उनीहरूलाई पत्र पठाइने उनले जानकारी दिए । समानुपातिकतर्फको सबै मतगणना सकिए पनि १० वटा निर्वाचन क्षेत्रका मतगणनाको प्रामाणिक विवरण आउन बाँकी रहेकाले सिटको बाँडफाँट गर्न नसकिएको सचिव राउतले बताए । आयोगको समानुपातिक निर्वाचन अधिकृत कार्यालयमा कार्यरत एक अधिकारीले अहिलेसम्मको नतिजाअनुसार रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट पाउने सम्भावना छ । तर, अन्तिम नतिजापछि एकाध सिट तलमाथि हुन सक्ने उनले उल्लेख गरे ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully