प्रदेशका १६ मध्ये १० सिट रास्वपाले जितेसँगै सुदूरपश्चिमको राजनीतिक सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ ।
What you should know
कैलाली — कांग्रेस, एमाले र तत्कालीन नेकपा माओवादीले पालैपालो जित्दै आएका सुदूरपश्चिमका १० वटा निर्वाचन क्षेत्रमा यस पटक राष्टि्रय स्वतन्त्र पार्टी (रास्वपा) ले जित हासिल गरेको छ । सुदूरका तराईस्थित जिल्ला ‘क्लिन स्विप’ गरेको रास्वपालाई पहाडमा प्रतिस्पर्धामा आउनै कठिन भयो । पहाडका २ सिटमा जित निकाले पनि अन्य ६ सिटमा परम्परागत दलकै वर्चस्व रह्यो । तराईमा शून्य बनेका कांग्रेस र एमालेले पहाडी जिल्लामा जितेर अस्तित्व जोगाए ।
रास्वपाले कैलालीका पाँच र कञ्चनपुरका ३ क्षेत्र जितेको हो । २०१५ सालको पहिलो आमनिर्वाचन र २०४९ मा कांग्रेसले सुदूर पश्चिममा एकतर्फी जित प्राप्त गरेको थियो । ०५१ सालमा एमालेले एकलौटी जितेको थियो । ०५६ मा मिश्रित नतिजा आएको थियो । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीको लहरका बेला कांग्रेस र एमालेलाई साख जोगाउन हम्मेहम्मे परेको थियो । ०७०, ०७४, ०७९ मा परम्परागत दलबीच गठबन्धनले प्रदेशमा एउटा दलको पक्षमा नतिजा आएन । ०७९ मा कैलालीका पाँचमध्ये तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले जितेको थियो ।
यसपटक कैलाली–१ मा दलभित्रको असन्तुष्टि चिर्दै रास्वपा उम्मेदवार कोमल ज्ञवाली विजयी भइन् । उनी यसपटक प्रत्यक्षमा सुदूरपश्चिमबाट जित्ने एकमात्र महिला हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जनकराज चौधरीलाई ४ हजार ९ सय ५९ मतान्तरले पछि पार्दै विजयी भएकी छन् ।
ज्ञवालीले १७ हजार ८ सय २६ मत पाउँदा चौधरीले १२ हजार ८ सय ६७ मत पाए । तेस्रो स्थानमा नेकपाका रामलाल डगौरा थारुले ८ हजार ३ सय ९२ मत ल्याउँदा नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपाने ४ हजार ४ सय ९३ मतमा समेटिए ।
कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी भए । उनले ७ हजार १ सय ८ मतान्तरले प्रतिद्वन्द्वीलाई पाखा लगाए । खनालले १९ हजार ५७ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति नेपालका पतिराम चौधरी ११ हजार ९ सय ४९ मतमा खुम्चिए । यस क्षेत्रमा एमालेका सूर्यबहादुर थापा ७ हजार ८ सय ८६ मतसहित तेस्रो स्थानमा झरे । जितको दाबेदार मानिएका कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २ सय १३ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका नन्दबहादुर साउदले ४ हजार ३ सय ६९ मत पाए । यस क्षेत्रमा १ लाख ७ हजार ५७ मतदाता रहेकामा ५६ हजार ७ सय ७० मत खसेको थियो ।
कैलाली–३ मा रास्वपाकै जगतबहादुर जोशी विजय भए । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरीलाई ८ हजार ३ सय ७६ मतान्तरले हराए । जोशीले २० हजार ३ सय ५९ मत पाउँदा चौधरीले ११ हजार ९ सय ८३ मत पाए । कैलाली–४ मा पनि रास्वपाको लहर कायम रह्यो । यस क्षेत्रबाट रास्वपा उम्मेदवार खेमराज कोइराला निकटतम् कांग्रेस उम्मेदवार गोरखबहादुर विष्टभन्दा १७ हजार २ सय ५५ मत बढी पाएर विजय भए । कोइरालाले २८ हजार ५ सय ५६ मत प्राप्त गर्दा विष्टले ११ हजार ३ सय १ मत प्राप्त गरेका थिए ।
सुदूरको राजनीतिक केन्द्र मानिने कैलाली–५ का मतदाता यसपटक पनि अस्थिर देखिए । यहाँबाट रास्वपाका आनन्दबहादुर चन्द ३१ हजार ९ सय ५३ मतले विजयी भए । चन्दले कांग्रेसका प्रभावशाली नेता नरनारायण शाहलाई झण्डै २० हजार मतान्तरले पछि पारे । शाहले ११ हजार ९ सय ५८ मत मात्रै प्राप्त गरे । नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले ७ हजार ८ सय ८६ मत मात्रै प्राप्त गरे । सुदूरपश्चिमको राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिने प्रेम आलेले डोटीबाट प्रतिनिधिसभाको निर्वाचनमा लगातार तीनपटक जितेर ह्याट्रिक गरेका थिए । यसपटक क्षेत्र परिवर्तन गरेका आले तेस्रो भए ।
कञ्चनपुर ‘घण्टीमय’
कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा यसपालि रास्वपाले जितेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार कञ्चनपुर–१ बाट रास्वपाका जनकसिंह थामी विजयी भएका छन् । उनले नेकपाकी विना मगरलाई १३ हजार २२ मतान्तरले पराजित गरे । सिंहले २४ हजार ३ सय ३२ मत प्राप्त गर्दा मगरले ११ हजार १ सय १० मत पाएकी छन् ।
कञ्चनपुर–२ बाट रास्वपाकै दीपकराज बोहराले विजय प्राप्त गरे । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नारायणप्रकाश साउँदलाई २३ हजार १ सय २५ मतान्तरले पराजित गरे । बोहराले ३३ हजार ९ सय ५२ मत प्राप्त गर्दा पराजित साउँद १० हजार ८ सय २७ मतमा समेटिए । कञ्चनपुर–३ बाट रास्वपाकै ज्ञानेन्द्रसिंह महता विजयी भए । उनले निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहरालाई १७ हजार ६ सय ७५ मतान्तरले पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् । महताले २७ हजार १ सय १८ मत पाउँदा पराजित बोहराले ९ हजार ४ सय ४३ मत मात्रै पाएका थिए ।
डडेल्धुरामा पनि ढल्यो विरासत
सुदूर पहाडका सात जिल्लाका ८ निर्वाचन क्षेत्रमध्ये रास्वपाले २ क्षेत्रमा मात्रै जित हासिल गर्न सफल भयो । बाँकी ६ क्षेत्रमा परम्परागत दलकै उम्मेदवार विजयी भए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको आधार इलाका डडेल्धुरा क्षेत्र नम्बर १ नेपालको राजनीतिमा सधैं चर्चाको विषय बन्यो ।
२०४८ यता यसै क्षेत्रबाट पटक–पटक संसदीय निर्वाचन जितेर सत्ताको केन्द्रमा रहेका देउवाले यसपटक टिकट पाएनन् । उनको अनुपस्थितिमा देशैभरि चलेको रास्वपाको लहरले डडेल्धुराको ३४ वर्षीय राजनीतिक विरासत ढालिदिएको छ ।
यसपटकको प्रतिनिधिसभा सदस्यमा राष्टि्रय स्वतन्त्र पार्टीका उम्मेदवार डा ताराप्रसाद जोशी विजयी भएसँगै डडेल्धुराको राजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदल आएको छ । जोशीले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्को यात्रा मात्र तय गरेनन्, डडेल्धुरामै नयाँ इतिहास पनि रचेका छन् ।
उनले निकटतम प्रतिद्वन्दी महरलाई ७ हजार १० मतको अन्तरले पराजित गरेका हुन् । जोशीले १९ हजार १ सय ३१ मत ल्याउँदा पराजित भएका महर १२ हजार १ सय २१ मतमा समेटिए । बैतडीमा पनि मुख्य दललाई पछि पार्दै रास्वपाका उम्मेदवार हरिमोहन भण्डारी विजयी भए । उनले कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९ सय ४० मतको अन्तरले पराजित गर्दै भण्डारी विजयी भए । उनले २२ हजार १ सय ३४ मत प्राप्त गर्दा पराजित चन्दले १८ हजार १ सय ९४ मत ल्याएका थिए ।
नेकपा शून्य
सुदूरपश्चिममा जम्मा ६ सिटमा कांग्रेस र एमालेका उम्मेदवार विजयी भएका छन् । बाजुराबाट कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भए । उनले एमालेका लालबहादुर थापालाई ५ सय ४० मतले पछि पारे । गिरीले १७ हजार १ सय ७३ मत पाउँदा पराजित थापाले १६ हजार ६ सय ३३ मत पाएका थिए ।
अछाम–१ मा कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजय भएका छन् । उनले १० हजार ७ सय ५९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार भीमबहादुर रावलले १० हजार २ सय ३३ मत ल्याए । अछाम–२ मा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी विजयी भएका छन् । उनले ९ हजार ५ सय १८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी पुष्पबहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका बलबहादुर कुँवरले ६ हजार ४ सय ९३ मत र चौथो स्थानमा रहेका राष्टि्रय स्वतन्त्र पार्टीका भूपदेव शाहले ४ हजार ५ सय ६२ मत प्राप्त गरे ।
डोटीबाट कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दीपकबहादुर धामीलाई ७ सय ८७ मतान्तरले पराजित गरेका हुन् । खड्काले १४ हजार ८ सय ९७ मत प्राप्त गर्दा पराजित धामीले १४ हजार १ सय १० मत मात्रै पाएका थिए । बझाङ– १ मा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी भए । उनले १८ हजार ५ सय ४३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले १६ हजार ३ सय ४ मत प्राप्त गरे । स्नेही र महरबीचको मतान्तर २ हजार २ सय ३९ रह्यो ।
दार्चुलामा पनि नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना विजय भएका छन् । कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीलाई ३ हजार ५५ मतान्तरले पराजित गर्दै ठगुन्नाले संसद्को यात्रा तय गरेका हुन् । उनले १८ हजार ८ सय ९१ मत प्राप्त गर्दा पराजित जोशीले १५ हजार ८ सय ३६ मत पाएका थिए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भने सुदूरपश्चिममा एक सिट पनि जित्न सकेन । प्रदेशका १६ मध्ये १० सिट रास्वपाले जितेसँगै सुदूरपश्चिमको राजनीतिक सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ ।
