बिग्रियो मादलको ताल, रित्तियो गिलास, जोगिएन प्रभुको प्रभुत्व

यसअघि विपक्षी दलबीच गठबन्धन हुँदासमेत जित निकालेका कतिपय नेताले यस पटक हार बेहोरे, न त २०६४ देखि माओवादी राजनीतिबाट उदाएका प्रभुको प्रभुत्व टिक्यो न नेमकिपाको भक्तपुरको पकड नै कायम रह्यो । बागलुङमै जनमोर्चा नील भयो ।

फाल्गुन २६, २०८२

कान्तिपुर टिम

The rhythm of the melody is broken, the glass is empty, the Lord's sovereignty is not preserved.

What you should know

काठमाडौँ —  

राष्ट्रिय जनमोर्चा (राजमो) ले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको गढ मानिँदै आएको बागलुङमै नमीठो हार बेहोरेको छ । राजमोले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग तालमेल गरेर यस पटकको निर्वाचनमा भाग लिएको थियो । निर्वाचनमा राजमोका उम्मेदवारको जमानतसमेत जफत भएको छ ।

तालमेलअनुसार बागलुङ क्षेत्र–१ मा राजमोका कृष्णप्रसाद शर्मा अधिकारी गिलास चिह्न र क्षेत्र–२ मा नेकपाका ज्ञामनाथ गैरे तारा चिह्नबाट उम्मेदवार बनेका थिए । गैरे तेस्रो स्थानमा सीमित हुँदा क्षेत्र–१ मा अधिकारी चौथो स्थानमा रहे । र, उनको जमानतसमेत जफत भयो । दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्थाअनुसार बागलुङमा सदर भएको ४७ हजार ६१ मतमा अधिकारीले जमानत जोगाउन ४ हजार ७ सय ६ मत ल्याउनुपर्ने थियो । तर उनले ४ हजार ५ सय २१ मत मात्रै प्राप्त गरेकाले जमानत जफत भएको हो । 

बागलुङ क्षेत्र–१ मा रास्वपा उम्मेदवार सुशील खड्का २० हजार ९ सय २७ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका भीमबहादुर श्रीस रानाले ११ हजार ९ सय ४४ र एमालेका हिराबहादुर खत्रीले ८ हजार ६ सय ४० मत प्राप्त गरे । राजमोका अधिकारीलगायत ८ उम्मेदवारले जमानत जोगाउन सकेनन् । 

यसैगरी बागलुङ क्षेत्र–२ मा रास्वपाका उम्मेदवार सोम शर्मा १२ हजार ६ सय ४७ मतसहित निर्वाचित भए । कांग्रेसका टेकराज पौडेलले ११ हजार ८ सय ६८ मत पाउँदै दोस्रो हुँदा राजमोसँग तालमेल गरेका नेकपाका गैरे १० हजार ७ सय ९ मतसहित तेस्रो स्थानमा रहे । 

कुनै समय पार्टी अध्यक्ष चित्रबहादुर केसीको बलियो प्रभाव रहेको बागलुङमा चुनाव प्रायः जनमोर्चा र अन्य दलबीच प्रतिस्पर्धा हुने गर्थ्यो । बागलुङको राजनीतिमा केसी ‘ब्रान्ड’ जस्तै बनेका थिए । मौलिक शैली र राजनीतिमा यथार्थ टिप्पणी गर्ने बानीले केसीको बेग्लै छवि थियो । केसीले संविधान निर्माणकै चरणदेखि संघीयताविरुद्धको अभियान चलाउँदै आएका छन् ।

नेपालजस्तो देशमा संघीयता थेग्न सकिँदैन भन्ने उनको मुख्य मुद्दा छ । तिनै केसी यस पटक घरायसी समस्या देखाएर प्रत्यक्षतर्फ नउठेर समानुपातिकमा बसेका थिए । केसी समानुपातिकबाट सांसद हुन जनमोर्चाले ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउनुपर्छ, जुन सम्भावना न्यून छ । जनमोर्चाबाट देशभर ७० उम्मेदवार उठाइए पनि अधिकांश स्थानमा मतपरिणाम निराशाजनक देखिएको छ । जनमोर्चाका लागि उर्वर भूमि मानिएको बागलुङमै जमानतसमेत जफत भएपछि जनमोर्चाको संसद्‍मा सहभागिता शून्य हुने निश्चित छ । र, यस पटक बागलुङको वामपन्थी गढसमेत भत्किएको छ । 

अध्यक्ष चित्रबहादुर केसी पार्टीको हार र समग्र निर्वाचन परिणाममा बाह्य प्रभाव पनि रहेको दाबी गर्छन् । साथै नेपालका ठूला राजनीतिक दलहरू नसुध्रिएकाले पनि अहिलेको परिणाम आएको उनले बताए । ‘मैले संसद्‍मै कांग्रेस, एमाले र माओवादीलाई सुध्रनुस्, नत्र सिद्धिन्छौं भनेर चेतावनी दिएको थिएँ । अहिले त्यस्तै भएको देखियो,’ उनले भने, ‘तर, चुनावको यस्तो परिणाम आउनुमा बाह्य (अमेरिका) को प्रभाव पनि उत्तिकै छ ।’ एमसीसीको कडा विरोध गरेका कारण बाह्य शक्तिको निसानामा परेको उनले दाबी गरे । मेचीदेखि महाकालीसम्म आएको बाह्य शक्तिको भेलमा आफू पनि परेको उनको दाबी छ । 

२ सय ४० निर्वाचन क्षेत्र हुँदा बागलुङमा तीन निर्वाचन क्षेत्र थिए । त्यसमा साविकको २ नम्बर हाल १ नम्बर क्षेत्र जनमोर्चाको बलियो पकड थियो । त्यहीँबाट अध्यक्ष चित्रबहादुर केसी पटक–पटक गठबन्धनबिनै पनि निर्वाचित भएका थिए । २०४८ को आमनिर्वाचन बहिष्कार गरेको राजमोले २०५१ को मध्यावधि चुनावमा जिल्लाका तीन वटा क्षेत्रमध्ये एउटा मात्र जितेको थियो । बागलुङ–२ बाट चित्रबहादुर केसी झिनो मतान्तरले पराजित भएका थिए । बागलुङ–३ बाट सोही पार्टीका परी थापा भने विजयी भएका थिए । २०५६ को संसदीय चुनावमा केसी र थापा दुवैले जित हात पारेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने बागलुङ–२ बाट केसी मात्रै निर्वाचित भए । 

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा राजमोले बागलुङमा कुनै सिट जितेन । केसी समानुपातिकबाट सांसद बने । २०७४ को निर्वाचनमा एमाले, माओवादी र राजमोको गठबन्धन बनेको थियो । गठबन्धनअनुसार राजमोको भागमा दुई वटा प्रदेश सांसद मात्रै भागमा परेको थियो । दुई वटै प्रदेश सांसद जितेको राजमो राष्ट्रिय पार्टी भने भएन । २०७९ को निर्वाचनमा कांग्रेस, माओवादी र राजमोलगायतका लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेर केसी बागलुङ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

बागलुङ–२ बाट भने तत्कालीन माओवादीका नेता देवेन्द्र पौडेल विजयी भएका थिए ।सअघि एउटै दलले जित्दै आएका वा एकै नेताले निरन्तर जित्दै आएका क्षेत्रमा यस पटक ‘ब्रेक’ लागेको छ । एउटै क्षेत्रबाट उही नेता दोहोरिने ‘गढ’ यस पटक भत्किएका छन् । अधिकांश क्षेत्रमा निरन्तरको जितसँगै आफ्नो विरासत बनाएका नेताहरूले पनि यस पटक नमीठो पराजय चाखे । अधिकांश क्षेत्रमा नेता र दलका गढलाई भत्काउने श्रेय रास्वपाका उम्मेदवारले पाए । निर्वाचन अघिसम्म जित सुनिश्चित भनिएका उम्मेदवारले नतिजा हेर्दा प्रतिस्पर्धामा समेत आउन सकेनन् । दोस्रो स्थानमा आएकाहरू पनि विजयी उम्मेदवारभन्दा निकै ठूलो मतान्तरले हारेका छन् । 

यस पटकको निर्वाचन परिणामले दल र नेताका परम्परागत ‘किल्ला’ भत्किएका छन् । यसअघि विपक्षी दलबीच गठबन्धन हुँदासमेत जित निकालेका नेताले यस पटक भने हार बेहोरेका छन् । अधिकांश क्षेत्रमा पहिलो र दोस्रो स्थानका उम्मेदवारबीच कडा प्रतिस्पर्धा नै देखिएन । अहिलेसम्म राजनीतिक वर्चस्व कायम गर्दै आएका पुराना र ठूला दलका उम्मेदवारले अनपेक्षित नतिजा बेहोरेका छन् । ‘परिवर्तन’ को नारा दिएको रास्वपाले ठूलो सफलता प्राप्त गरेको छ । यस्ता गढमा रास्वपाका उम्मेदवार भारी मतान्तरसहित विजयी भएका छन् । 

लुम्बिनी प्रदेशअन्तर्गतका कम्युनिस्ट किल्ला यस पटक भत्किएका छन् । लुम्बिनीका २६ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । रूपन्देही, गुल्मी, पाल्पा, बर्दियामा लामो समयदेखि कम्युनिस्ट र कांग्रेसले जित्दै आएका क्षेत्रमा यस पटक रास्वपाका उम्मेदवार विजयी भए । पूर्वी रुकुमबाट संयोजक पुष्पकमल दाहाल र रोल्पाबाट वर्षमान पुन विजयी हुनुबाहेक नेकपाले अन्यत्रका आफ्ना साबिक क्षेत्र गुमाएको छ । 

पौडेलको यात्रा रोकियो

२०६४ देखि २०७९ सम्म रूपन्देही–२ बाट जित्दै आएका एमाले नेता विष्णु पौडेल यस पटक पराजित भएका छन् । उनलाई रास्वपाका २८ वर्षीय सुलभ खरेलले ४३ हजार ६ सय ८९ को भारी मतान्तरले पराजित गरेका हुन् । खसेको जम्मा सदर मत ८६ हजार ३ सय ३ मध्ये खरेलले ५६ हजार ५ सय ५० मत प्राप्त गरे । रूपन्देही–२ मा नयाँ भए पनि खरेलले ६५ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका हुन् । पौडेलले १२ हजार ८ सय ६१ मत प्राप्त गरे । २०७९ को संसदीय निर्वाचनमा पौडेल झिनो मतान्तरले विजयी भएका थिए । गत निर्वाचनमा उनले रास्वपाकै गणेश पौडेललाई हराएका थिए । यस पटक भने उनले जितलाई निरन्तरता दिन सकेनन् । 

गोकर्णको पाँचौं जितमा ब्रेक

गुल्मी–२ बाट लगातार जित हासिल गर्दै आएका एमाले उपाध्यक्ष गोकर्ण विष्ट पनि पराजित भए । एमालेले लुम्बिनी प्रदेशमा जित हासिल गर्ने क्षेत्रमा गणना गरेको गुल्मी–२ मा यस पटक असफलता बेहोरेको हो । अन्य क्षेत्रमा जित ढुक्क नभए पनि विष्टले चुनाव जित्नेमा पार्टी पंक्ति निश्चिन्त देखिन्थे । एमाले उपाध्यक्ष विष्टलाई रास्वपाका गोविन्द पन्थीले पराजित गरेका हुन् । २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनयता निरन्तर जित्दै आएका विष्टलाई पन्थीले ५ सय ६१ मतान्तरले पराजित गरेका हुन् । पूर्वप्रहरी अधिकृत पन्थीले १६ हजार ९ सय ६७ मत प्राप्त गर्दा विष्टले १६ हजार ४ सय ६ मत प्राप्त गरे । दुई पटक मन्त्री बनेका विष्ट जिल्लामा विकासप्रेमी र मिजासिला नेताका रूपमा परिचित छन् । तर, पहिलो पटक उम्मेदवार बनेका पन्थीले विष्टलाई पाँचौं जित निकाल्नबाट रोके । 

पाल्पा–२ मा राना सफल

पाल्पा–२ मा २०५१ देखि नै कम्युनिस्ट उम्मेदवारले निरन्तर जित्दै आएका थिए । यस पटक भने कांग्रेसका सन्दीप रानाले त्यसमा ‘ब्रेक’ लगाएका छन् । रानाले एमालेका नारायणप्रसाद आचार्यलाई पराजित गरेका हुन् । आचार्य २०७९ मा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । रानाले १८ हजार ३ सय ३६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी आचार्यले १६ हजार ८ सय ११ मत पाएका हुन् । 

३४ वर्षपछि फरक नतिजा

२०४८ देखि कांग्रेसको गढका रूपमा मानिएको डडेलधुरामा ३४ वर्षपछि कांग्रेस उम्मेदवारले पराजय भोगेका छन् । यस पटक रास्वपाका ताराप्रसाद जोशीले कांग्रेसको गढ भत्काउन सफल भएका हुन् । उनले कांग्रेसकै निकटतम प्रतिद्वन्द्वी नैनसिंह महरलाई फराकिलो मतान्तरले हराए । जोशीले १९ हजार १ सय ३१ मत प्राप्त गर्दा महरले १२ हजार १ सय २१ मत मात्र पाए । जोशी यसअघि स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । यस पटक प्रदेशसभा सदस्यबाट राजीनामा दिएर उनले रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए । जोशीले भारतको जवारलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । 

यसअघिका निर्वाचनमा डडेलधुरामा फरक चुनावी दृश्य हुन्थ्यो । २०४८ यताका सबै संसदीय निर्वाचनमा शेरबहादुर देउवा उम्मेदवार हुन्थे र जित्थे । तर पहिलो पटक यसपालि देउवा चुनावी प्रतिस्पर्धामा थिएनन् । ३४ वर्ष कांग्रेस र सत्ता राजनीतिको केन्द्रमा रहेको डडेलधुरा देउवाको संसदीय यात्रामा विराम लागेसँगै उसको किल्ला पनि ढलेको छ । यहीँबाट विजयी भएर देउवा पाँच पटक प्रधानमन्त्री र सात पटक सांसद बनेका थिए । २०४८ मा पहिलो पटक यहाँबाटै उम्मेदवार बनेर देउवा निर्वाचित मात्र भएनन्, डडेलधुराले गृहमन्त्री नै पायो । त्यसयता निरन्तर सत्ताका खेलाडीका रूपमा देउवा रहँदै आएका थिए । 

भत्कियो ओली किल्ला

जेन–जी आन्दोलनपछि सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा पनि राजनीतिका सफल खेलाडी मानिएका नेताहरू पराजित भएका छन् । झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले पराजित भएका छन् । उनलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पराजित गरेका हुन् । ओली २०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा मात्र पराजित भएका थिए । यस पटक जित प्राप्त गर्नेमा अति आत्मविश्वासी देखिएका उनले नमीठो पराजय बेहोर्नुपर्‍यो । रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि झापा–५ पुगेका शाहले ६८ हजार ३ सय ४८ मत प्राप्त गरे भने ओलीले १८ हजार ७ सय ३४ मतमा चित्त बुझाउनुपर्‍यो । 

'लालकिल्ला' बाट बढारिए हस्ती 

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको आधार क्षेत्र झापा–१ मा रास्वपाकी निशा डाँगी विजयी भइन् । दुई पटक निर्वाचन जितेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गढ मानिने झापा–३ मा पनि उनी रास्वपाका प्रकाश पाठकसँग पराजित भए । झापा–२ मा पूर्वसभामुख देवराज घिमिरे पराजित भए । उनलाई रास्वपाकी इन्दिरा राना मगरले हराइन् । झापा–४ बाट दुई पटक चुनाव जितेका एलपी साँवा लिम्बू पनि पराजित भए । उनलाई रास्वपाकै शम्भुप्रसाद ढकालले हराए । कांग्रेस र नेकपाका पुराना गढ मानिने मोरङ–४ र ६ मा एमालेका जीवन घिमिरे र विनोद ढकालको त जमानत नै जफत भयो । 

मोरङ–४ बाट दुई पटक विजयी भएका नेकपाका अमनलाल मोदी यस पटक रास्वपाका सन्तोष राजवंशीसँग पराजित भए । त्यस्तै रास्वपाकी रुविना आचार्यले मोरङ–६ मा कांग्रेसका नेता शेखर कोइरालाको विरासत भत्काइन् । मोरङ–५ मा योगेन्द्र मण्डलको लज्जाजनक हार भयो । २०७९ मा भारी मतले विजयी उनी यस पटक रास्वपाकी आशाकुमारी झासँग पराजित भए । 

कोइरालाको आधार क्षेत्रमा नयाँ

लामो समयदेखि कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको आधार क्षेत्र मानिने मोरङ–२ बाट यस पटक कांग्रेसका नेता मीनेन्द्र रिजाललगायत हस्तीहरूले पराजय बेहोर्नुपर्‍यो । रास्वपाका कृष्णकुमार कार्कीले उनलाई पराजयको स्वाद चखाए । एमाले र कांग्रेसले आलोपालो जित्दै आएको मोरङ–१ बाट रास्वपाकै यज्ञमणि न्यौपाने विजयी भए । न्यौपानेले कांग्रेसका खड्ग फागो र एमालेका घनश्याम खतिवडालाई हराए । मोरङ–३ मा रास्वपाका गणेश कार्कीले कांग्रेसका डा. सुनील शर्मालाई हराए । 

१८ वर्षपछि कांग्रेस

जाजरकोटमा १८ वर्षपछि कांग्रेसको विरासत फर्किएको छ । कांग्रेस उम्मेदवार खडकबहादुर बुढाले तीनपल्ट प्रतिनिधिसभा सदस्य जितेका नेकपाका शक्तिबहादुर बस्नेतलाई २ हजार ७ सय ३५ मतान्तरले हराए । बुढा २० हजार १ सय ४२ मत प्राप्त गरी विजयी भएका हुन् भने बस्नेतले १७ हजार ४ सय ७ मतमा चित्त बुझाए । उनी २०७०, २०७४ र २०७९ मा पूर्वमाओवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

पहिलो संविधानसभा सदस्य निर्वाचन–२०६४ मा साविक माओवादीकै कालीबहादुर मल्ल जाजरकोट–१ बाट र भक्तबहादुर शाह जाजरकोट–२ बाट विजयी भएपछि कांग्रेसको गढ भत्किएको थियो । त्यसअघि २०५६ मा जाजरकोटबाट कांग्रेसका गोविन्दविक्रम शाह र रत्नप्रसाद शर्मा निर्वाचित भएका थिए । २०४८ र २०५१ मा पनि कांग्रेस उम्मेदवार विजयी भएका थिए । कांग्रेस जिल्ला कार्यवाहक सभापतिसमेत रहेका बुढाको जितले जाजरकोटमा १८ वर्षपछि कांग्रेसको विरासत फिर्ता ल्याएका हुन् । 

१२ वर्षपछि बासना

दैलेखमा १२ वर्षपछि एमाले र साविक एकीकृत समाजवादीको गढ भत्किएको छ । दैलेख–१ मा कांग्रेस उम्मेदवार बासना थापाले १२ हजार ३ सय ७२ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७ सय ९६ मत मात्र ल्याए । शर्मा २०७४ को निर्वाचनमा एमालेबाट २३ हजार ७ सय ७३ मतसहित विजयी भएका थिए । त्यस्तै २०७९ को प्रतिनिधिसभा निर्वाचनमा १८ हजार २ सय ९७ मतसहित विजयी भएका साविक एकीकृत समाजवादीका अम्मरबहादुर थापा यसपल्ट ४ हजार २ सय ५६ मतसहित चौथो स्थानमा खुम्चिएका छन् । यस पटक थापा नेकपाबाट उम्मेदवार थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनयता कांग्रेसले जित हात पार्न सकेको थिएन । त्यसअघि २०४८, २०५१ र २०६४ सम्म कांग्रेसका गणेशबहादुर खड्काले जित्दै आएका थिए । २०७० को निर्वाचन पनि तत्कालीन नेकपाका उम्मेदवार थापाले नै जितेका थिए । थापाले २०५७ देखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी हुन् ।

सुर्खेतमा सापकोटा

सुर्खेत–२ बाट रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले ३० हजार ८ सय ४२ मतसहित विजयी मात्र भएनन्, यसअघिको कांग्रेस–एमालेको गढ पनि भत्काइदिए । उनी रास्वपाका जिल्ला अध्यक्ष पनि हुन् । २०५१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका यामलाल कँडेल, २०५६ मा कांग्रेसका हृदयराम थानी, संविधानसभा निर्वाचन–२०६४ मा उनै कँडेल र २०७० मा पुनः थानी निर्वाचित भएका थिए । यसपल्ट भने कांग्रेसका नारायण कोइराला १६ हजार ३ सय ७८ मतसहित दोस्रो र एमालेका कुलमणि देवकोटा ११ हजार ५ सय ११ मतसहित तेस्रो स्थानमा खुम्चिए । 

भुत्तो भयो प्रभुको प्रभुत्व 

आमजनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहको राजनीतिक विरासत ढलेको छ । यस पटक प्रतिनिधिसभा निर्वाचनमा उनले आफ्नो प्रभुत्व प्रदर्शन गर्न सकेनन् । उनी पाँचौं पटक संसद्को चुनावी मैदानमा थिए । रौतहटको राजनीतिमा लामो समयदेखि साहको एकछत्र वर्चस्व थियो । यस पटकको नतिजाले उनको जितको रफ्तारमा ब्रेक लागेको छ । नयाँ शक्तिका रूपमा रास्वपाको उदयले उनको ‘कोर भोट बैंक’ मा धक्का पुगेको छ । तत्कालीन माओवादी केन्द्र र एमालेजस्ता स्थापित दल छाडेर आफ्नै नेतृत्वमा आजपा गठन गरेपछि उनीसँग भएका पुराना र प्रभावशाली कार्यकर्ताको पंक्ति तितरबितर भयो । 

२०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनसम्म प्रभुको प्रभुत्व कायम रहेको थियो । एमालेको दसौं महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका प्रभुले २०७९ को निर्वाचनको मुखैमा एमाले छाडेका थिए । चुनाव जितेपछि उनले आजपा गठन गरे । रास्वपाले यस क्षेत्रमा २०७९ मा माओवादीबाट चुनाव लडेका रवीन्द्र पटेललाई अघि सारेको थियो । त्यस बेला रास्वपाका उम्मेदवार नवीन चौरसियाले १ हजार ६ मत ल्याई पाँचौं नम्बरमा थिए । अहिले २७ हजार ३ सय १८ मतले पटेल विजयी भए । लामो समय प्रभुत्व जमाइरहेका प्रभु तेस्रो भए । उनले ९ हजार ८ सय ९० मत मात्र पाए । मधेश राजनीतिमा प्रायः चर्चामा रहिरहने प्रभुको रौतहट–३ मा लामो समयदेखि एकछत्र प्रभाव रहँदै आएको थियो । तर रास्वपाको पछिल्लो जनलहरमा उनी पनि बढारिए ।

'गढ भत्किनु स्वाभाविक'

राजनीतिक विश्लेषक देवराज पोखरेल लामो समयसम्म एउटै क्षेत्रमा एउटै व्यक्ति निर्वाचित हुँदा त्यसले तयार गर्ने संरचना भ्रष्ट बन्दै जाने र समाजका लागि उपयुक्त नहुने बताउँछन् । धेरै स्थानका पार्टीका गढ र क्षेत्र लुटतन्त्रकै कारण भत्किएको उनले बताए । ‘लामो समय एउटै व्यक्ति निर्वाचित भइरहँदा सत्ताविरोधी जनमत तयार हुँदै गइरहेको हुन्छ,’ उनले भने, ‘अर्को डोमिनेसन लिगेसी हुने र त्यहाँ भ्रष्ट संरचना बन्दै जाने गरेकाले त्यस्ता गढहरू कुनै फरक मुभमेन्टमा भत्किने गर्छन् ।’

- विवेक पोख्रेल (काठमाडौं), घनश्याम गौतम (बुटवल), अर्जुन शाह (धनगढी), पर्वत पोर्तेल (विराटनगर), कृष्णप्रसाद गौतम (सुर्खेत), शिव पुरी (रौतहट) र दीपक परियार (पोखरा)

कान्तिपुर

Link copied successfully