नेकपामा मिलेका २५ दलको बढीमा १७ सिट

०७९ को निर्वाचनमा प्रतिनिधिसभामा माओवादी र एकीकृत समाजवादीको ४२ सिट थियो । यो निर्वाचनमा नेकपाको बढीमा १७ सिट आउने देखिन्छ । अहिलेसम्म गणना भएको समानुपातिकको मत परिणाम अनुसार नेकपाको ९ आउने देखिएको छ ।

फाल्गुन २६, २०८२

गंगा बीसी

The 25 parties that have joined the NCP have a maximum of 17 seats.

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट सजिलै चुनाव जिते । जितको प्रमाणपत्र बुझेको अर्को दिन उनी हेलिकप्टर चार्टर गरी काठमाडौं फर्किसकेका छन् । उनका डेपुटी अर्थात् सहसंयोजक माधवकुमार नेपाल रौतहट १ मा चौथो स्थानमा रहे । 

रुकुम पूर्वबाट दाहाल र रोल्पाबाट वर्षमान पुनबाहेक उम्मेदवार भएका नेपालसहित वरिष्ठ नेताहरुले पराजय भोगे । दाहाल र नेपालले प्रतिनिधिसभामा कम्तिमा पछिल्लो संसदको अंकगणित ४२ सिट जोगाउने नीति अनुसार माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादीसहित २५ दल र समूह मिलाएर नेपाली कम्युनिस्ट बनाए । तर नेकपाले यो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी बढीमा १७ सिट ल्याउने देखिएको छ । 

सहसंयोजक माधवकुमार नेपालले चुनावलाई केन्द्रित गरेर आउने जति सबै दललाई नेकपामा मिसाएका थिए । २५ दल समाहित गराएर मत बुटल्ने उनीहरुको प्रयास सफल हुन सकेन । उनीहरुले सोचेभन्दा धैरै नै कम सिट जितेको छ । प्रत्यक्षमा सात जितिसकेको छ भने धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको उम्मेदवारी खारेजी भयो भने आठ पुग्ने छ । रास्वपाका उम्मेदवारी भएको अवस्थामा माओवादीका मात्रिकाप्रसाद यादवले गणना भएको मतका आधारमा जित्नेछन् ।

०७९ को निर्वाचनमा प्रतिनिधिसभामा माओवादी र एकीकृत समाजवादीको ४२ सिट थियो । यो निर्वाचनमा नेकपाको  बढीमा १७ सिट आउने देखिन्छ । अहिलेसम्म गणना भएको समानुपातिकको मत परिणाम अनुसार नेकपाको ९ आउने देखिएको छ । 

प्रत्यक्षमा उसले ८ सिट जितेको छ । तर धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको विवाद अदालतमा पुगेको छ । त्यो क्षेत्रमा रास्वपा नेकपाका मात्रिकाप्रसाद यादवको अग्रता छ ।

अहिलेसम्म नेकपाले प्रतिनिधिसभा समानुपातिकमा ७ लाख ७२ हजार ९ सय ९२ मत ल्याएको छ । जबकि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा माओवादीले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११ लाख ७५ हजार ६८४ मत प्राप्त गरेको थियो । यो हिसाबले हेर्दा समानुपातिकमा नेकपाको करिब ३८ मत घटेको देखिन्छ । 

माओवादी नेता अग्निप्रसाद सापेकोटाले यो निर्वाचनको परिणामले ०७० लाई सम्झाएको बताए । पहिलो संविधानसभा (०६४) मा पहिलो बनेको माओवादी ०७० मा आउँदा तेस्रो भएको थियो । ०७० मा ६०१ सिटमा प्रत्यक्षतर्फ २६ सिट र समानुपातिकतर्फ ५४ सिट ल्याएको थियो । जबकि ०६४ मा प्रत्यक्षतर्फ १२० सिट र समानुपातिकमा १०० सिट ल्याएको थियो ।

०७० को चुनाव ठिकअघि माओवादीमा प्रवेश गर्नेहरुलको ताँती नै लागेको सापकोटाले सम्झिए । ‘त्यसबेला हरेक दिन पार्टी प्रवेश गर्नेको लामो लाइन थियो । तर हामी पहिलोबाट तेस्रोमा झरेका थियौ,’ उनले भने । नेकपा बनिसकेकपछि पनि पार्टी एकतालाई युद्ध स्तरमा लगिएको थियो । एकतामा आउने जति सबै दल, समूह र व्यक्तिलाई पार्टीमा समाहित गराइएको थियो । 

जसका कारण नेकपाको केन्द्रीय समिति दुई हजार ५ सय पुगेको छ । एकता भएपछि हालसम्म एउटा पनि केन्द्रीय समिति बसेको छैन । राजनीतिक र सैद्धान्तिक विचारका आधारमा भन्दा चुनाव केन्द्रमा राखी एकता गरिएको थियो ।  

सापकोटाले यो निर्वाचनमा अनपेक्षित नतिजा आएकाले समीक्षाको चरणमा भएको बताए । ‘यो नजिता आउला भनेर कसैले पनि सोचेको थिएन । अब गम्भीर समीक्षा गरेर अघि बढ्ने बेला भएको छ,’ उनले भने, ‘यो चुनावमा हामी निर्णायक शक्ति हुन्छौं भन्ने थियो ।’

रास्वपाले करिब दुई तिहाई १८३ सिट ल्याउन लाग्दा नेकपा चौथो अवस्थामा छ । नेकपाले माओवादी ‘लिगेसी’ भएका क्षेत्रमा मात्र चुनाव जितेको छ  । नेकपा संयोजक दाहाल (रुकुम पूर्व), वाग्मती प्रदेश सिन्धुपाल्चोक– २ बाट युवराज दुलाल, लुम्बिनीको रोल्पाबाट वर्षमान पुन, कर्णाली प्रदेश रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानबाट रमेशकुमार मल्ल, कालीकोटबाट महेन्द्रबहादुर शाही र डोल्पाबाट धनबहादुर बुढाले जितेका छन् ।     

कात्तिक तेस्रो साता माओवादी, एकीकृत समाजवादीसहित दलको एकता भएको थियो । नेकपा बनिसकेपछि पार्टी र समूहको संख्या २५ पुगेको थियो । नेकपा एकीकरणमा आएका दलहरु, समूह र प्रमुख नेताहरुमा पुष्पकमल दाहाल, नेकपा (माओवादी केन्द्र),  माधवकुमार नेपाल, अध्यक्ष, नेकपा (एकीकृत समाजवादी), महिन्द्रराय यादव, अध्यक्ष, नेपाल समाजवादी पार्टी, राजेन्द्र श्रेष्ठ, संयोजक, जसपा एकता पक्षधर समूह र राज कार्की, अध्यक्ष, नेकपा (समाजवादी) छन् । 

त्यस्तै चेतबहादुर पुन ‘चिरन’, महासचिव, नेपाल कम्युनिस्ट पार्टी, रञ्जिता श्रेष्ठ, अध्यक्ष, नागरिक उन्मुक्ति पार्टी, प्रेमबहादुर सिंह, अध्यक्ष, नेकपा (साम्यवादी), शिवलाल थापा, उपाध्यक्ष जसपा नेपाल, भीम रावल, प्रस्तावक, मातृभूमि जागरण अभियान, नेपाल, प्रमोदनारायण यादव, महासचिव, नेपाल कम्युनिस्ट पार्टी (श्रमजीवी), सुवासराज काफ्ले, अध्यक्ष र जनसमाजवादी पार्टी नेपाल छन् । 

नेकपामा समाहित हुने अन्य दलहरुमा कर्णजित बुढाथोकी, अध्यक्ष, नेकपा (माओवादी–समाजवादी), केशव दाहाल, अध्यक्ष, माओवादी कम्युनिस्ट केन्द्र नेपाल, विष्णुप्रसाद खनाल, संयोजक, जनजागरण पार्टी, शरद रसाइली, संयोजक, नेकपा (बहुमत) विद्रोही समूह, गोपाल किराती, अध्यक्ष, देशभक्त समाजवादी मोर्चा, गोपाल परियार, संयोजक, नेकपा विद्रोही समूह, विचारमान थिङ, अध्यक्ष, ग्रेटर नेपाल कम्युनिस्ट पार्टी, मनीष लिम्बू, अध्यक्ष, लिम्बुवान क्रान्तिकारी पार्टी र सुमन सायमी, वरिष्ठ उपाध्यक्ष राष्ट्रिय मुक्ति पार्टीलगायत छन् ।

गंगा

Link copied successfully