चित्रबहादुर केसी भन्छन् : मैले संसद्मै कांग्रेस, एमाले र माओवादीलाई ‘सुध्रनुस्, नत्र सिद्धिन्छौँ’ भनेर चेतावनी दिएको थिएँ । अहिले त्यस्तै भएको देखियो ।
What you should know
काठमाडौँ — राष्ट्रिय जनमोर्चा (राजमो)को गढ मानिने बागलुङमा यस पटकको निर्वाचनमा विरासत नै गुमाएको छ । देशभर नै गठबन्धनविहीन चुनाव भइरहेका बेला बागलुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग तालमेल गरेर निर्वाचनमा होमिएको राष्ट्रिय जनमोर्चा यहाँ पराजित मात्र होइन, उम्मेदवारको जमानतसमेत जफत भएको छ ।
तालमेलअनुसार बागलुङ क्षेत्र नम्बर १ मा राजमोका कृष्णप्रसाद शर्मा अधिकारी गिलास चिह्न र क्षेत्र नम्बर २ मा नेकपाका ज्ञामनाथ गैरे तारा चिह्नबाट उम्मेदवार बनेका थिए । क्षेत्र नम्बर २ मा गैरे तेस्रो स्थानमा सीमित हुँदा १ मा अधिकारीको जमानत जफत हुँदै चौथो स्थानमा पुगे । दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।
कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था अनुसार बागलुङमा सदर भएको ४७ हजार ६१ मतमा अधिकारीले जमानत जोगाउन ४ हजार ७०६ मत ल्याउनुपर्ने थियो । तर, अधिकारीको मत ४ हजार ५२१ मत मात्रै प्राप्त गरेकाले जमानत जफत भएको हो ।
बागलुङ क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार सुशील खड्का २० हजार ९२७ मतसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका भीमबहादुर श्रीस रानाले ११ हजार ९४४ र एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० मत प्राप्त गरे । राजमोका अधिकारीलगायत ८ उम्मेदवारले जमानत जोगाउन सकेनन् ।
यसैगरी बागलुङ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार सोम शर्मा १२ हजार ६ सय ४७ मतसहित निर्वाचित भए । कांग्रेसका टेकराज पौडेले ११ हजार ८६८ मत पाउँदै दोस्रो हुँदा राजमोसँग तालमेल गरेका नेकपाका ज्ञामनाथ गैरे १० हजार ७०९ मतसहित तेस्रो स्थानमा रहे ।
कुनै समय पार्टी अध्यक्ष चित्रबहादुर केसीको बलियो प्रभाव रहेको बागलुङमा चुनाव प्रायः जनमोर्चा र अन्य दलबीच प्रतिस्पर्धा हुने गर्थ्यो। बागलुङको राजनीतिमा केसी 'ब्रान्ड' जस्तै बनेको थियो । मौलिक शैली र राजनीतिमा यथार्थ टिप्पणी गर्ने बानीले केसीलाई धेरैले मन पराउँथे । केसीले संविधान निर्माणकै चरणदेखि संघीयताविरुद्धको अभियान चलाए ।
नेपालजस्तो देशमा संघीयता थेग्न सकिँदैन भन्ने उनको मुख्य मुद्दा थियो र अहिले पनि छ । तिनै केसी यस पटक घरायसी समस्या देखाएर प्रत्यक्षतर्फ नउठेर समानुपातिकमा बसेका थिए । केसी समानुपातिकबाट सांसद हुन जनमोर्चाले ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउनुपर्छ, जसको सम्भावना न्यून छ । जनमोर्चाबाट देशभर ७० उम्मेदवार उठाइए पनि अधिकांश स्थानमा मतपरिणाम निराशाजनक देखिएको छ। आफ्नो जनमोर्चाको ब्याड (उर्वर) स्थल मान्दै आएको बागलुङमै जमानत समेत जफत भएपछि जनमोर्चाले संसद्मा सहभागिता शून्य हुने निश्चित छ। बागलुङको वामपन्थी शक्तिको गढ पनि भत्किएको छ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने निर्वाचन परिणाममा बाह्य प्रभाव पनि रहेको दाबी गर्छन् । केसीले नेपालका ठूला राजनीतिक दलहरू नसुध्रिएकाले अहिलेको परिणाम आएको बताए । ‘मैले संसद्मै कांग्रेस, एमाले र माओवादीलाई ‘सुध्रनुस्, नत्र सिद्धिन्छौँ’ भनेर चेतावनी दिएको थिएँ। अहिले त्यस्तै भएको देखियो,’ उनले थपे,‘यद्यपि हामीलाई मानव जातिमाथि अमेरिकाले गरेको नरसंहारविरुद्ध उत्रनुपर्ने आवश्यकता छ ।’ केसीले आफू एमसीसीको कडा विरोधमा बोलेका कारण अमेरिकाको निशानामा परेको दाबीसमेत गरे ।
२ सय ४० निर्वाचन क्षेत्र हुँदा बागलुङमा तीन निर्वाचन क्षेत्र थिए । त्यसमा साविकको २ नम्बर हाल १ नम्बर क्षेत्र जनमोर्चाको बलियो पकड थियो । त्यहीँबाट अध्यक्ष चित्रबहादुर केसी पटक–पटक गठबन्धनबिनै पनि निर्वाचित भएका थिए । ३ असोज २०७२ मा संविधान जारी भएसँगै २ नम्बरको अधिकांश भाग १ नम्बर क्षेत्रमा परेपछि जनमोर्चाको जनाधार खस्कादै गएको उनीहरुको बुझाइ छ ।
