पाल्पामा रास्वपाले ५० हजार ४ सय ५२ समानुपातिक मत प्राप्त गर्दा एमालेले २४ हजार ९ सय ६६, कांग्रेसले २४ हजार ६, नेकपाले ५ हजार २ सय ८६ र श्रम संस्कृति पार्टीले ३ हजार ५ सय ५८ मत पाएका छन् ।
What you should know
पाल्पा — समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले पाल्पामा सर्वाधिक मत प्राप्त गरेको छ । सोमबार बिहान परिणाम सार्वजनिक हुँदा रास्वपाले ५० हजार ४ सय ५२ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो ।
दुई क्षेत्रकै समानुपातिक मतगणना सकिँदा नेकपा एमाले २४ हजार ९ सय ६६ मतसहित दोस्रो, नेपाली कांग्रेस २४ हजार ६ मतसहित तेस्रो भएको छ । नेपाली कम्युनिस्ट पार्टीले ५ हजार २ सय ८६ मत प्राप्त गर्दै चौथो र श्रम संस्कृति पार्टीले ३ हजार ५ सय ५८ मत पाएको छ । नेसनल रिपब्लिक अर्गनाइजेसनले १ हजार ५४ मत पाउँदा राप्रपाले १ हजार ३ सय ९९, राजमोले ५ सय २३ मत पाएका छन् ।
यहाँबाट प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सन्दीप राना १८ हजार ३ सय ३६ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नारायणप्रसाद आचार्यले १६ हजार ८ सय १९ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल पन्तले १४ हजार ३ सय ३३ मत ल्याएका थिए ।
समानुपातिकमा भने क्षेत्र नम्बर १ मा रास्वपालाई १९ हजार ७ सय ३८ मत दिएका छन् । प्रत्यक्षतर्फ पहिलो बनेको कांग्रेस समानुपातिकमा १३ हजार १ सय ७१ मत पाएको छ । समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा नेकपा एमालेले १५ हजार १ सय ६५, कांग्रेसले १३ हजार ४ सय १५, नेपाली कम्युनिस्ट पार्टीले १ हजार ५४ मत पाएको छ । श्रम संस्कृति पार्टीको माटो चिन्हलाई १ हजार ७ सय ९५, राप्रपालाई ४ सय ८७, राष्टिय जनमोर्चाले १ सय ५५, नेसनल रिपब्लिक अर्गनाइजेसनले ५ सय ४३ मत पाएका छन् । बाँकी दलहरूले भने झिनो मत पाएका छन् । क्षेत्र नम्बर १ मा समानुपतिकतर्फ ५४ हजार ८ सय १२ मत खसेको थियो भने ५२ हजार ८ सय ९२ मत सदर भएको छ । क्षेत्र १ मा १ हजार ९ सय २० मत बदर भएको छ ।
समानुपातिकतर्फ क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत ल्याएको छ । क्षेत्र नं २ बाट रास्वपाले ३० हजार ७ सय १४ मत पाएको छ । नेपाली कांग्रेसले १० हजार ८ सय ३५ मत पाएको छ भने नेकपा एमालेलाई ९ हजार ८ सय १ मत मिलेको छ । नेपाली कम्युनिस्ट पार्टीलाई ४ हजार २ सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ९ सय १२, श्रम संस्कृतिलाई १ हजार ७ सय ६३ मत प्राप्त भएको छ । नेसनल रिपब्लिकलाई ५ सय ११ मत प्राप्त भएको छ । राष्ट्रिय जनमोर्चालाई ३ सय ६८ मत प्राप्त भएको छ । यो क्षेत्रमा पनि बाँकी दलहरूले भने झिनो मत पाएका छन् । क्षेत्र २ मा ६१ हजार ८ सय ४६ मत प्राप्त भएको थियो भने ५९ हजार ९ सय ९२ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा १ हजार ८ सय ४१ मत बदर भएको छ ।
प्रत्यक्षतर्फ रास्वपाका थापाले २६ हजार ७ सय ३६ मत प्राप्त गरेर निर्वाचित भए । थापाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका ठाकुरप्रसाद गैरेले १० हजार ५ सय ३, नेपाली कम्युनिस्ट पार्टीका सोमप्रसाद पाण्डेयले ५ हजार सय ८८ र नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६ सय ९३ मत प्राप्त गरेका थिए ।
रास्वपाले मत बढाउँदा कांग्रेस, एमाले र नेकपा तीनै दल खुम्चिएका छन् । २०७९ को निर्वाचनमा जिल्लामा एमाले सबैभन्दा ठूलो दल थियो । त्यसबेला एमालेले ५० हजार १ सय २३ मत पाएर समानुपातिकमा पहिलो दल भएको थियो । २०७९ मा प्रत्यक्षमा पनि दुईवटै निर्वाचन क्षेत्र नेकपा एमालेले जितेको हो ।
कांग्रेसले ३७ हजार ९ सय ७९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ८ सय १३ मत, नेकपा माओवादी केन्द्रले ५ हजार ७ सय ९१ मत, मंगोल नेसनल अर्गनाइजेसनले ३ हजार १ सय ९८ मत, नेकपा एकीकृत समाजवादीले १ हजार ६ सय ९९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ५ सय ४२ मत, राष्ट्रिय जनमोर्चाले ६ सय ३२ मत, राष्ट्रिय जनमुक्ति पार्टीले ५ सय ४० मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पाल्पामा कुल २ लाख ७ हजार ४ सय ३६ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा ९८ हजार ३ सय ९३ र क्षेत्र नम्बर २ मा १ लाख ९ हजार ५३ मतदाता छन् । समानुपातिकतर्फ भने अस्थायी मतदाता १ हजार ९ सय २३ जना थिए ।
