प्रत्यक्षमा निर्वाचित १४ महिला मध्ये १३ सासंद रास्वपाका

प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी ११ प्रतिशत थियो, विजयी हुनेमा ८ प्रतिशत महिला, निर्वाचित हुनेमा रास्वपाबाहेक एक जना मात्र कांग्रेसबाट।

फाल्गुन २५, २०८२

प्रकृति दाहाल

Of the 14 directly elected women MPs, 13 are from the Rashtriya Swayamsevak Sangh (RSP).

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष प्रणालीतर्फ १४ महिला निर्वाचित भएका छन् । रास्वपाबाट १३ र कांग्रेसबाट एक महिला विजयी भएका हुन् । प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ उम्मेदवारमध्ये महिला उम्मेदवार ३ सय ९५ जना (११ प्रतिशत) थिए । प्रमुख दलमध्ये रास्वपाले १६, एमाले र नेकपाले १२ र कांग्रेसले ११ महिलालाई प्रत्यक्षतर्फ टिकट दिएका थिए । प्रत्यक्षतर्फ विजयी हुने महिलाको हिस्सा करिब ८ प्रतिशत छ । 

रास्वपाबाट इन्दिरा राना मगर, तोसिमा कार्की, सोबिता गौतम, निशा डाँगी, रन्जु न्यौपाने, रुबिना आचार्य, बिना गुरुङ, कोमल ज्ञवाली, आशा झा, नीतिमा भण्डारी कार्की, आसिका तामाङ, गौरी कुमारी र पुष्पाकुमारी चौधरीले चुनाव जितेका छन् । कांग्रेसबाट बासना थापा विजयी भएकी छन् । इन्दिरा, तोसिमा, सोबिता र निशा दोहोर्‍याएर प्रतिनिधिसभा सदस्य बनेका हुन्, अन्य भने नयाँ हुन् । 

पूर्वउपसभामुख इन्दिरा राना मगर झापा–२ मा पूर्वसभामुख देवराज घिमिरेलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेकी छन् । उनले ६० हजार १ सय १० मत ल्याउँदा एमालेका घिमिरेले ११ हजार ३ सय ३८ मत ल्याए । उनी २०७९ मा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् । राजनीतिमा आउनुअघि उनी गैरसरकारी संस्था बन्दी सहायता नेपालकी अध्यक्ष थिइन् । उक्त संस्थाले जेल सजाय भोगिरहेका महिलाका कलिला सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिका लागि काम गरिरहेको छ । बीबीसीले इन्दिरालाई सन् २०१७ मा बीबीसी–१०० महिलामा समावेश गरेको थियो । 

Of the 14 directly elected women MPs, 13 are from the Rashtriya Swayamsevak Sangh (RSP).

रास्वपाबाटै तोसिमा कार्की ललितपुर–३ बाट लगातार दोस्रो पटक विजयी भएकी हुन् । उनले यसपालि ४३ हजार ९६ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए । तोसिमा २०७२ को भूकम्प र कोभिड महामारीमा नागरिकको सेवामा खटिएकी चिकित्सक हुन् । मधेश प्रदेश, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लामा उनले स्वयंसेवा गरेकी थिइन् । उनले केही समय पाटन अस्पतालमा समेत काम गरिन् । २०७१/७२ देखि चिकित्सा क्षेत्रका विकृतिविरुद्ध आवाज उठाउँदै आएकी छन् । उनी माघ २०७९ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा छोटो समय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनिन् । उनले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेर नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका विषयमा आवाज उठाउँथिन् । गत भदौको जेन–जी आन्दोलनको समर्थनमा उनी सडकमा निस्किएकी थिइन् । 

रुविना आचार्य मोरङ–६ मा कांग्रेस नेता शेखर कोइरालालाई पराजित गर्दै सांसद बनेकी छन् । उनले ५५ हजार ५ सय १३ मत ल्याउँदा कोइरालालाई १२ हजार ८ सय ५० मत खसेको थियो । सोबिता गौतमले भने निर्वाचन क्षेत्र फेरेर लगातार दोस्रो पटक चुनाव जितेकी छन् । २०७९ मा काठमाडौं–२ मा चुनाव जितेकी उनले यसपालि चितवन–३ मा उम्मेदवारी दिएकी थिइन् । सोबिता ५९ हजार २ सय ७७ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । अधिवक्ता सोबिताले चार वर्षभन्दा बढी समयसम्म नेपाल टेलिभिजनमा ‘स्वास्थ्य सरोकार’ नामक कार्यक्रम चलाएकी थिइन् । 

२०७९ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी निशा डाँगी यसपालि झापा–१ बाट विजयी भएकी छन् । उनले ४५ हजार ६ सय ८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका केशवराज पाण्डेका पक्षमा १० हजार ५ सय ५० मत खसेको थियो । १६ मंसिर २०५३ मा जन्मिएकी निशा अघिल्लो प्रतिनिधिसभाकी कान्छी सदस्य थिइन् । भद्रपुर नगरपालिकाकी उनी राजनीतिमा आउनुअघि सञ्चारकर्ममा सक्रिय थिइन् । 

रास्वपाकी रन्जु न्यौपाने काठमाडौं–१ बाट विजयी भएकी हुन् । उनले १५ हजार ४ सय ५५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३ सय ६४ मत ल्याएका थिए । रन्जु २०७० तिर विवेकशील नेपाली पार्टीसँग जोडिएकी थिइन् । २०७४ मा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्दा उनी केवल २१ वर्षकी थिइन् । उनले २०७९ मा स्वतन्त्र रूपमा काठमाडौं–५ मा उम्मेदवारी दिएकी थिइन् तर चुनाव जित्न सकिनन् । गत मंसिरमा रास्वपासँग एकता हुनुअघि रन्जु विवेकशील साझा पार्टीमा महासचिव थिइन् । 

रुविना आचार्य मोरङ–६ मा कांग्रेस नेता शेखर कोइरालालाई पराजित गर्दै सांसद बनेकी छन् । उनले ५५ हजार ५ सय १३ मत ल्याउँदा कोइरालालाई १२ हजार ८ सय ५० मत खसेको थियो । विराटनगर–४ को आयल निगम क्षेत्रमा जन्मिएकी रुविनाले काठमाडौं विश्वविद्यालयबाट एमबीए अध्ययन गरेकी छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी विवेकशील साझाबाट चुनावी प्रचार अभियानमा सक्रिय थिइन् । उनले विवेकशील साझा पार्टीको युवा संगठनको बागमती प्रदेश समितिमा रहेर काम गरिन् । पार्टीमा सक्रिय रहँदै उनी केन्द्रीय सदस्यसमेत बनिन् । उनी चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसीले सञ्चालन गरेको आन्दोलनमा संलग्न थिइन् ।

मोरङ–५ बाट आशा झा विजयी भएकी छन् । झाले ३० हजार ४ सय ३४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका फूलकुमार लालवानीले ९ हजार ४ सय १५ मत प्राप्त गरे । विराटनगर–१३ की आशाले जनस्वास्थ्यमा स्नातक गरेकी छन् । राजनीतिमा आउनुअघि उनी स्वास्थ्य स्वयंसेविका थिइन् । उनी निर्माण व्यवसायीसमेत हुन् । 

बिना गुरुङ कास्की–३ बाट विजयी भएकी छन् । उनले ३७ हजार ७ सय ५० मतसहित चुनाव जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत प्राप्त गरे । पर्वतमा जन्मिएर पोखरालाई कर्मथलो बनाएकी ५३ वर्षीया बिना समाजसेवामा सक्रिय थिइन् । सञ्जीवनी दिदीबहिनी संघ नेपालको संस्थापक अध्यक्ष रहेकी उनले महिला एकता र सशक्तीकरणका लागि काम गरेकी छन् । रास्वपामा आबद्ध भएपछि उनी गण्डकी प्रदेश समितिमा कोषाध्यक्ष भइन् । उनी गण्डकीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट निर्वाचित एकमात्र महिला हुन् । 

Of the 14 directly elected women MPs, 13 are from the Rashtriya Swayamsevak Sangh (RSP).

कोमल ज्ञवाली कैलाली–१ मा १७ हजार ८ सय ६२ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जनकराज चौधरीले १२ हजार ८ सय ६७ मत ल्याए । २०३५ मा जन्मिएकी कोमल टीकापुरकी बासिन्दा हुन् । व्यवस्थापन संकायमा स्नातक (बीबीएस) उत्तीर्ण गरेकी कोमल राजनीतिमा पूर्णकालीन हुनुअघि कृषि व्यवसायी थिइन् । उनको सक्रिय राजनीतिक यात्रा भने नागरिक उन्मुक्ति पार्टीबाट सुरु भएको थियो । उन्मुक्ति पार्टीबाट अलग भएर उनी रास्वपा प्रवेश गरेकी हुन् । 

नीतिमा भण्डारी कार्कीले सर्लाही–१ बाट चुनाव जितेकी छन् । उनले ४४ हजार १ सय ८१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८ सय ७१ मत प्राप्त गरे । उनी महिला सशक्तीकरण, शिक्षा प्रवर्द्धन र स्थानीय विकासलाई प्राथमिकता दिएर चुनावमा होमिएकी थिइन् ।

रास्वपाका तीन महिला उम्मेदवार विनिता कठायत (जुम्ला), गोमा तामाङ (सुनसरी–१) र टासी ल्हान्जोम (हुम्ला) पराजित भए ।समाजका बेथिति र विकृतिका विरुद्ध आवाज उठाउँदै आएकी आसिका तामाङ पनि प्रतिनिधिसभा सदस्य बनेकी छन् । धादिङ–१ बाट ३९ हजार १ सय २८ मत प्राप्त गरेर उनी विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३२ मत ल्याए ।  

महोत्तरी–४ बाट ३० हजार १ सय ३२ मतसहित गौरी कुमारी विजय भएकी छन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सुरेन्द्रकुमार यादवले ८ हजार ७ सय ४२ मत ल्याएका थिए । गौरीले विज्ञान विषयमा प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेकी छन् । रास्वपाकी पुष्पाकुमारी चौधरीले सप्तरी–१ बाट चुनाव जितिन् । उनले ३८ हजार १ सय ९५ मत ल्याइन् । दोस्रो स्थानमा स्वाभिमान पार्टीका सुमितकुमार रहे, जसले ७ हजार ८ सय ४७ मत ल्याएका थिए । 

रास्वपाका तीन महिला उम्मेदवार विनिता कठायत (जुम्ला), गोमा तामाङ (सुनसरी–१) र टासी ल्हान्जोम (हुम्ला) पराजित भए । 

कांग्रेसकी बासना थापा दैलेख–१ बाट विजयी भइन् । उनले १२ हजार ३ सय ७२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७ सय ९६ मत प्राप्त गरे । काठमाडौंमा जन्मिएकी बासना २०५७ देखि कांग्रेस निकट विद्यार्थी संगठनबाट राजनीतिमा होमिएकी हुन् । २०६१ मा कांग्रेसको क्रियाशील सदस्य बनेकी उनी कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । 

यसअघि २०७९ मा ९ र २०७४ मा ६ महिला प्रत्यक्षबाट निर्वाचित भएका थिए । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा) मा ३३ प्रतिशत महिला सहभागिता गराउनैपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले समानुपातिक प्रणालीबाट महिलाको प्रतिनिधित्व एकतिहाइ पुर्‍याउने गरिएको छ । ६ सय १ सदस्यीय संविधानसभामा २०६४ मा ३० र २०७० मा १० महिलाले चुनाव जितेका थिए । 

एमाले नेता बिन्दा पाण्डेले अहिलेको जितलाई महिला/पुरुषभन्दा पनि पार्टीको लहरले परिणाम ल्याएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘परिवर्तनको लहरमा जो उठेको छ, त्यसले जित्ने गर्छ, २०६४ मा पनि माओवादीबाट जित्ने महिला धेरै थिए ।’ पार्टीको लहरका कारण नचिनिएका व्यक्तिले पनि चुनाव चिह्नका आधारमा जित्ने गरेको उनको भनाइ छ । 

राजनीतिज्ञ सुचेता प्याकुरेल अहिलेको चुनावी परिणामलाई एक विद्रोहको संज्ञा दिन्छिन् । ‘विद्रोहपश्चात्को सुनामीको लहर यो चुनावमा आयो । त्यही लहरमा कतिपय महिला विजयी भए,’ उनी भन्छिन्, ‘तोसिमा, रन्जु जस्ता नेताले विद्रोहबाटै चुनाव जिते । तर नयाँ पार्टी रास्वपामा पनि पितृसत्तात्मक सोच हाबी छ ।’

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully