देशभर लहर चल्दा रास्वपाका १० उम्मेदवारको भने जमानत जफत

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका ८२ उम्मेदवारको जमानत जफत भएको थियो

फाल्गुन २५, २०८२

कान्तिपुर संवाददाता

As protests rage across the country, the deposits of 10 RSP candidates are confiscated.

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा देशभर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको पक्षमा परिणाम आइरहँदा केही निर्वाचन क्षेत्रमा भने उक्त पार्टीको पक्षमा सोचेजस्तो मत परेन । रास्वपाका १० उम्मेदवारको जमानत नै जफत भएको छ ।

जुम्लाबाट रास्वपा उम्मेदवार विनीता कठायतले सामाजिक सञ्जालमार्फत आफ्नो पक्षमा मत नआएपछि आक्रोश व्यक्त गर्दै लेखिन्, ‘कर्णाली र सुदूरपश्चिमका दुर्गम भेगले परिवर्तनको लहरलाई आत्मसात् गर्न नसक्नु किन होला ?’

२०७९ मा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी कठायत यस पटक भने जुम्लाबाट प्रत्यक्षतर्फ उम्मेदवार थिइन् । जहाँ उनको जमानत जफत भयो । राप्रपाका ज्ञानबहादुर शाही र नेकपाका नरेश भण्डारीबीच प्रतिस्पर्धा भएको जुम्लामा कांग्रेसका दीपबहादुर शाही तेस्रो र एमालेका शान्तिलाल महत चौथो भए ।

निवर्तमान सांसद कठायत भने जमानत जफतसहित पाँचौं नम्बरमा रहिन् । त्यसैले उनले आफ्नो जमानत जफत भएको आक्रोश सामाजिक सञ्जालमा नै व्यक्त गरिन् । ‘कर्णाली र सुदूरपश्चिमका दुर्गम भेगमा बस्ने हाम्रा दाजुभाइ–दिदीबहिनीले देशभरि उठेको परिवर्तनको लहरलाई अझै पूर्ण रूपमा आत्मसात् गर्न नसक्नु किन होला भन्ने प्रश्न आज मनमा गहिरो गरी उठ्छ । वर्षौंदेखि हामीले पिछडिएको पीडा बोकेका छौं । बाटो, शिक्षा, स्वास्थ्य, अवसर—हरेक क्षेत्रमा हामी पछि परेका छौं । तर अब केवल अरूलाई दोष दिएर मात्र बस्ने समय सकिएको छ,’ कठायतको आक्रोश थियो, ‘हामी किन पछाडि पर्‍यौं, भन्ने प्रश्नको उत्तर खोज्ने बेला आएको छ । आजको दिनमा पछाडि पर्नुको कारण हामीबाहेक अरू कोही हो भनेर मात्र दोष लगाउने ठाउँ अब बाँकी छैन ।’

देशका अधिकांश निर्वाचन क्षेत्र तथा जिल्लामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह चुनावी प्रचारका क्रममा पुगेका थिए । जुम्लामा भने दुवै नेता पुगेनन् । जहाँ कठायत पराजित मात्रै बनिनन्, जमानत नै जफत भयो । उनले जुम्लामा ३९ हजार १ सय ७३ सदर मतमा ५ सय पनि कटाउन सकिनन् । यो निर्वाचन क्षेत्रमा जमानत जोगाउनका लागि उम्मेदवारले दस प्रतिशत अर्थात् ३ हजार ९ सय १८ मत ल्याउनुपर्नेमा कठायतको ४ सय २१ मत मात्र आयो । यहाँ कठायतसहित ६ उम्मेदवारको जमानत जफत भयो ।

नेकपाका संयोजक पुष्पकमल दाहाल निर्वाचित भएको रुकुम पूर्वमा पनि रास्वपाका उम्मेदवारको जमानत जफत भएको छ । यहाँ १८ हजार २ सय ४६ मत सदर भएकामा जमानत जोगाउनका लागि १ हजार ८ सय २५ रन आवश्यक पर्थ्यो । रुकुम पूर्वमा रास्वपा उम्मेदवार लखनकुमार थापाले ८ सय १९ मत मात्र प्राप्त गरेपछि जमानत जफत भयो ।

रास्वपाका डोल्पा उम्मेदवारको पनि जमानत जफत भएको छ । डोल्पामा जमानत जोगाउनका लागि १ हजार ५ सय ५१ मत आवश्यक पर्नेमा रास्वपा उम्मेदवार देवसिंह ऐडीले १ सय ८१ मत मात्र पाएका थिए । मुगुमा जमानत जोगाउन २ हजार १ सय २३ मत ल्याउनुपर्नेमा रास्वपाका भुवन टमटाले ५ सय ३० मत मात्र पाए । कालीकोटमा जमानत जोगाउनका लागि ३ हजार ९ सय ३८ मत ल्याउनुपर्नेमा रास्वपा उम्मेदवारले त्यो सीमा पार गर्न सकेनन् । रास्वपाका प्रकाश न्यौपानेको ३ हजार १ सय १ मत मात्र हुँदा जमानत जफत भयो ।

जाजरकोटमा रास्वपा उम्मेदवार राघव कार्कीको जमानत जफत भयो । यहाँ जमानत जोगाउन ५ हजार ७ सय ६७ मत आवश्यक पर्नेमा कार्कीको २ हजार ४ सय ७१ मत मात्रै आएको थियो । रुकुम पश्चिममा पनि रास्वपाको जमानत जफत भएको छ । यहाँ जमानत जोगाउन ५ हजार ९ सय ५३ मत प्राप्त गर्नुपर्नेमा रास्वपा उम्मेदवार मानबहादुर शाहीको ४ हजार ७६ मत मात्रै आएको थियो ।

हुम्लाबाट रास्वपा उम्मेदवार टासी ल्हान्जोमको जमानत जफत भयो । २१ हजार ९ सय ३५ मत सदर भएको हुम्लामा जमानत जोगाउन २ हजार १ सय ९४ मत आवश्यक पर्थ्यो । तर रास्वपा उम्मेदवार ल्हान्जोमको १ हजार ६४ मत मात्रै आयो । उनीसहित ४ जनाको जमानत जफत भएको छ ।

अछाम–१ मा रास्वपाका ओमप्रकाश रावलको जमानत जफत भएको छ । यो निर्वाचन क्षेत्रमा जमानत जोगाउनका लागि ३ हजार ३५ मत आवश्यक पर्नेमा रावलले १ हजार ७ सय ३९ मत मात्रै पाएका थिए ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पनि रास्वपा उम्मेदवारको जमानत जफत भयो । जम्मा सदर मत २१ हजार ८ सय ९७ रहेको यो क्षेत्रमा एमालेका क्षितिज थेबे निर्वाचित हुँदा ४ हजार १ सय ५५ मत ल्याएका रास्वपाका वीरेन्द्र श्रेष्ठको जमानत जफत भएको हो ।

रास्वपाका पाँचथर उम्मेदवार महेन्द्रविक्रम थाम्सुहाङको पनि जमानत जफत भएको छ । यहाँ जमानत जोगाउनका लागि ६ हजार ६ सय ८९ मत ल्याउनुपर्नेमा थाम्सुहाङको ४ हजार १ सय ९७ मत मात्रै आयो । उनीसँगै यो क्षेत्रमा ११ उम्मेदवारको जमानत जफत भएको छ । सोलुखुम्बुमा पनि रास्वपा उम्मेदवार ऋषिधन थुलुङ राईको जमानत जफत भएको छ । जमानत जोगाउन ३ हजार ८ सय ४१ मत आवश्यक पर्नेमा रास्वपाका राईको ३ हजार ६ सय ४२ मत मात्रै आएको थियो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सदरको १० प्रतिशतभन्दा कम मत ल्याए उम्मेदवारको जमानत (धरौटी) जफत हुने व्यवस्था छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका ८२ उम्मेदवारको जमानत जफत भएको थियो ।

जमानत जफत भएका रास्वपा उम्मेदवार :

विनीता कठायत, जुम्ला

देवसिंह ऐडी, डोल्पा

प्रकाश न्यौपाने, कालीकोट

राघव कार्की, जाजरकोट

मानवबहादुर शाही, रुकुम पश्चिम

टासी ल्हान्जोम, हुम्ला

ओमप्रकाश रावल, अछाम–१

वीरेन्द्र श्रेष्ठ, ताप्लेजुङ

महेन्द्रविक्रम थाम्सुहाङ, पाँचथर

ऋषिधन थुलुङ राई, सोलुखुम्बु

कान्तिपुर

Link copied successfully