मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पराजुलीले २४ हजार ४१२ मत प्राप्त गर्दै निकटतम् प्रतिद्वन्द्वी नेकपाका माधव सापकोटालाई पराजित गरेका हुन् ।
सिन्धुपाल्चोक — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भरतप्रसाद पराजुली विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पराजुलीले २४ हजार ४१२ मत प्राप्त गर्दै निकटतम् प्रतिद्वन्द्वी नेकपाका माधव सापकोटालाई पराजित गरेका हुन् । सापकोटाले १७ हजार ३२७ मत प्राप्त गरेका छन् । पराजुलीले ७ हजार ८५ मतान्तरले जित हासिल गरेका हुन् ।
यसैगरी नेकपा (एमाले) का उम्मेदवार सरेश नेपालले ११ हजार ९६१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसका जंगबहादुर लामाले ११ हजार २९३ मत ल्याउँदै चौथो स्थानमा सीमित भए ।
मतगणनाको सुरुदेखि नै अग्रता बनाएका पराजुलीले अन्तिम परिणामसम्म त्यो अग्रता कायम राख्दै जित सुरक्षित गरेका हुन् ।
को हुन् पराजुली ?
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का स्थायी बासिन्दा पराजुलीको जन्म १९ भदौ २०२५ मा भएको हो । उनले स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् । व्यावसायिक क्षेत्रमा स्थापित व्यक्तित्वका रूपमा चिनिएका उनी यसअघि नेकपा (एमाले) पृष्ठभूमिबाट राजनीतिमा आबद्ध थिए । पछिल्लो समय भने राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । संसदीय अनुभव नभए पनि निजी क्षेत्रको लामो अनुभव र व्यवस्थापन क्षमताका कारण उनी फरक पहिचान बनाएका व्यक्तिका रूपमा चिनिन्छन् ।
पराजुली जुगल गाउँपालिकामा निर्माणाधीन ४५ मेगावाट क्षमताको ब्रह्मायणी जलविद्युत् आयोजनाका अध्यक्षसमेत हुन् । नयाँ अनुहारका रूपमा उनी विकास, सुशासन र परिणाममुखी राजनीतिलाई प्राथमिकतामा राख्दै सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका थिए । यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट तत्कालीन नेकपा (माओवादी केन्द्र) का उम्मेदवार माधव सापकोटा ३० हजार ४०८ मतसहित निर्वाचित भएका थिए । उक्त निर्वाचनमा उनलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो ।
