शर्मा र केसीको बिचमा ४ हजार ९ सय ४८ मतान्तर रहेको छ ।
रूकुम पश्चिम — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन् । उनले २१ हजार ६ सय ९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वीका रूपमा नेपाली कांग्रेसका उम्मेदवार राजु केसीले १६ हजार ६ सय ६१ मत प्राप्त गरेका छन् ।
शर्मा र केसीको बिचमा ४ हजार ९ सय ४८ मतान्तर रहेको छ ।
एकमात्र निर्वचन क्षेत्र रहेको रूकुम पश्चिममा कुल १ लाख ६ हजार ६ सय ६० मतदाता रहेकोमा जम्मा ६२ हजार ९ सय ६७ जनाले मतदानमा भाग लिएका थिए । यहाँबाट जम्मा १२ जनाको उम्मेदवारी थियो । मतगणनाको सुरूमा अग्रता कायम गरेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार जनार्दन शर्मा भने तेस्रो भएका छन् । उनको मत १४ हजार ३ सय ४६ रहेको छ । शर्मा २०६४ सालपछिका सबै निर्वाचनमा साविक माओवादीबाट निरन्तर जित्दै आएका नेता हुन् । उनको विजय यात्रामा यसपल्ट भने ब्रेक लागेको छ ।
एमालेका उम्मेदवार नन्दराम देवकोटा र उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले भने व्यवहारिक रूपमा आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै प्रलोपाका शर्मालाई समर्थन गरेका थिए । तर एमालेका देवकोटालाई १ हजार ८ सय ६९ र उज्यालो नेपाल पार्टीका केसीलाई ८४ मत प्राप्त भएको छ । विजयी शर्मालाई मतदान सम्पन्न भएलगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र पनि प्रदान गरिसकेको छ ।
