‘माओवादी लिगेसी’ त्यागेपछि जनार्दनले गुमाए विरासत 

माओवादी शान्ति प्रक्रियामा आएपछि ०६४ देखि निरन्तर जित्दै आएका उनले यसपटक हार बेहोरेका छन् ।

फाल्गुन २४, २०८२

गंगा बीसी

Janardan lost his legacy after abandoning the 'Maoist legacy'

काठमाडौँ — माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको रुकुम पश्चिममा विरासत तोडिएको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि ०६४ देखि निरन्तर जित्दै आएका उनले यसपटक हार बेहोरेका छन् ।

नेकपा संयोजक पुष्पकमल दाहालसँग मतभेद भएपछि कात्तिकमा माउ पार्टी छाडेका उनी प्रगतिशील लोकतान्त्रिक पार्टीको उम्मेदवार बने । आफ्नो विरासत जोगाउन उनले एमालेसँग तालमेल पनि गरे । तर माओवादीमा रहँदै आफैंले अघि बढाएका कार्यकर्ता गोपाल शर्मासँग पराजित भए ।

रुकुममा जनार्दनले नै गोपाललाई राजनीतिमा अघि बढाएका थिए । गोपाललाई २०७४ को निर्वाचनमा प्रदेश सांसद र त्यसपछि कर्णाली प्रदेशको अर्थमन्त्री बनाउन जनार्दनको हात थियो । त्यतिबेला माओवादीमा जनार्दनको शक्ति चल्थ्यो । 

माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र जनार्दनबीच अन्तरसंघर्ष चर्किएको बेला गोपालको समर्थन जनार्दनलाई हुन्थ्यो । उनले पार्टी छाड्ने तयारी गरिरहेका बेला गोपालले पार्टीभित्र रहेर संघर्ष गर्न सुझाएका थिए । तर जनार्दनले मानेनन् । जेन-जी आन्दोलनले संसद् विघटन गरेपछि भएको प्रतिनिधिसभा निर्वाचनमा जनार्दन र गोपाल उम्मेदवार बनेर प्रतिस्पर्धामा थिए । 

Janardan lost his legacy after abandoning the 'Maoist legacy'

पूर्व गुरु–चेला चुनाव जित्ने दाउमा थिए । जनार्दनले माओवादी ‘लिगेसी’ छाडेपछि उनले एमालेसँग तालमेल गरे । तर उनको चुनाव जित्ने प्रयास सफल हुन सकेन । नेकपा नछाडेको भए ठूलो मतान्तरले चुनाव जित्ने सम्भावना बलियो थियो । उनले मुख्य गरी चुनाव हार्ने ‘माओवादी लिगेसी’ छाड्नु नै मुख्य कारण हो ।

नेकपाका गोपाल शर्माले २१ हजार ६ सय ९ मत ल्याएर जिते । जनार्दन र गोपालको भीडन्तबीच दोस्रो नम्बरमा कांग्रेसका राजु केसी उक्लिए । उनले १६ हजार ६ सय ६१ मत ल्याएका थिए । जनार्दनले १४ हजार ३ सय ४६ मत ल्याएर तेस्रो स्थानमा रहे । 

२०७९ को निर्वाचनमा जनार्दनले ३९ हजार ५४९ मत ल्याएका थिए । उनले एमालेका नन्दराम देवकोटा २६ हजार ५ सय ८८ मतान्तरले हराएका थिए । त्यसबेला देवकोटाले १२ हजार ९ सय ६१ मत ल्याएका थिए । त्यतिबेला कांग्रेस माओवादीबीच गठबन्धन थियो । 

जनार्दनको पराजयसँगै उनले थाम्दै आएको बिरासत मात्र होइन, माओवादी लिगेसी पनि टुट्दै गएको छ । 

माओवादी मूलधार राजनीतिमा आएपछि उनी अर्थ, गृह, ऊर्जा र शान्तिमन्त्री भएका थिए । माओवादीको १० वर्षे सशस्त्र युद्धमा जनार्दन ‘जनसेना’ को कमान्डर थिए । प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएपछि उनले कम्युनिस्ट नाम छाडेको आरोप उनलाई लाग्यो । उनको गृह जिल्लामा पनि उनको चर्को आलोचना भयो ।

दाहाल र जनार्दनको भेट २०४२ सालमा रुकुममा भएको थियो । दसवर्षे माओवादी सशस्त्र युद्धका ‘सुप्रिम’ कमान्डर दाहाल थिए भने चारमध्ये एक ‘डेपुटी कमान्डर’ थिए शर्मा । २ नेपाली सेनामा लडाकु समायोजन, शान्ति प्रक्रिया र संविधान निर्माणको काममा उनले पार्टी प्रमुख दाहाललाई नजिक रहेर सघाए । दाहालको ‘शयन कक्ष’ सम्म पुगेर सुझाव सल्लाह दिने उनको हैसियत थियो । दाहालले पनि विश्वास गरेर महत्त्वपूर्ण जिम्मेवारी दिंदै गए । माउ पार्टी त्यागेकै कारण उनी पूर्व सहकर्मीबाट पराजय हुनुपरेका छ ।

२०७४ मा एमाले–माओवादी चुनावी गठबन्धन र त्यसपछि पार्टी एकताको एक साक्षी शर्मा पनि थिए । दाहाल र शर्माबीच अविश्वासको बीजारोपण २०७८ पुसमा भएको आठौं महाधिवेशनदेखि भएको थियो ।

२०८१ साउनमा भएको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले दाहालको नेतृत्वलाई चुनौती दिँदै १४ पृष्ठ लामो लिखित फरक मत राखेपछि  दुई नेताबीच सम्बन्ध बिग्रिदै गयो । २०८२ कात्तिकमा दाहाल र शर्माबीच मतभेद उत्कर्षमा पुगेपछि सम्बन्ध टुटेको थियो । पछिल्लो निर्वाचन परिणामले दाहाल र शर्मालाई झन् टाढा पुर्‍याइदिएको छ ।

गंगा

Link copied successfully