भलै पराजित दलहरुले उनीमाथि पश्चगमनवादी र मतदातालाई पनि पश्चगमनका मतियार भनेर आरोप लगाए पनि व्यवहारिक रुपमा यो उनको व्यक्तित्वको जित नै हो ।
काठमाडौँ — निर्वाचनको मत परिणाम आउने क्रममा छ । रास्वपाको लहरले ठूला भनिएका दलहरु बढारिएका छन् । यसै लहरमा परेको छ, राप्रपा । राजसंस्थाको मुद्दा बोकेको यो पार्टीले प्रत्यक्षतर्फ एक सिट मात्रै जित्न सकेको छ । समानुपातिकतर्फ थ्रेस होल्ड हटाउन संघर्ष गरिरहेको छ ।
राप्रपाले जुम्लामा एक सिट जितेको हो । कम्युनिस्टको किल्ला मानिएको जुम्लामा राप्रपाका ज्ञानबहादुर शाहीले नेकपामा उम्मेदवार नरेश भण्डारीलाई पराजित गरेका हुन् । भण्डारीको बौद्धिकता र शौम्य शैलीका कारण उनकै जित हुनसक्ने आकलन गरिएको थियो ।
अर्कोतर्फ, देशैभर रास्वपाको लहर चलेको थियो । त्यसैले रास्वपाकै पूर्वसांसद विनिता कठायत पनि बलियो उम्मेदवार मानिन्थिन् ।
यसरी एकातिर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका पहलकर्ता, धौलिगाढ बृहत खानेपानी, चुकेनी जलविद्युत आयोजना र सिँजा सभ्यताको विधेयक लगायतका दूरदर्शी योजनासहित ठूलो संगठनका बलमा उत्रिएका भण्डारी, अर्कोतिर बालेन र रविको क्रेज । त्यसैले मुख्य प्रतिस्पर्धी नै नरेश भण्डारी र विनिताबीच नै हुने ठानिएको थियो । तर, निर्वाचित भए, कमजोर संगठन रहेका राप्रपाका शाही ।
खरो र आक्रामक शैलीका कारण चर्चा कमाएका शाहीले सांसद पद सुनिश्चित गरे नै, इतिहास पनि लेखे । २०४८ पछिका हरेक निर्वाचनमा नेतृत्व फेरिरहने जुम्ली जनताले यसपटक त्यसलाई 'ब्रेक' गरे, शाहीलाई दोहोर्याएर सांसद बनाए ।
किन यस्तो भयो ? राप्रपाका प्रवक्ता शाही कसरी शानदार मतका साथ लगातार दोस्रो पटक सदनमा पस्ने बाटो तयार भयो ?
व्यक्तित्व र पहिचान
शाहीको जितलाई राप्रपा पंक्तिले पार्टीको जित दाबी गर्दै आए पनि त्यो प्राविधिक मात्र हो । खासमा जुम्ली मतदाताले पार्टीभन्दा पनि शाहीलाई व्यक्तिगत रुपमा मत दिएका हुन् । यसको कारण हो, उनको सदनमा दिने प्रस्तुती, व्यक्तित्व र पहिचानको आवाज । जुम्ली भन्नेबित्तिकै सहरी क्षेत्रमा नाक खुम्च्याउने विम्बलाई चिर्नका लागि शाहीको पनि योगदान छ । सदनबाट एउटा जुम्ली सांसदले बोलेको र कटाक्ष गरेको सबैले सुनेका थिए । शाहीले सरकार र अन्य दलहरुप्रति जुन आवाजमा प्रश्न गर्थे, त्यसले उनको मात्र होइन, सिंगो जिल्लाकै पहिचान बदलिदियो ।
‘घर कहाँ हो?’ कसैले सोध्दा–‘जुम्ला हो’ भन्ने जवाफ सुन्नासाथ ‘ओ हो जुम्ला है!’ भन्दै पिछडिएको, अस्तव्यस्त जीवनशैली र भौगोलिक दुर्गमताको विम्वात्मक दृष्टिले हेरिन्थ्यो । तर उनी पहिलोपटक निर्वाचित भएर सदनमा आएपछि गरेका प्रश्न र आवाजले त्यो पहिचान बदल्न बाध्य भयो । पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुर जाँदा पनि जुम्ला घर भन्नेबित्तिकै ‘ओ हो ज्ञानेन्द्र शाहीको जिल्लाबासी हो’ भनेर आउने गौरवपूर्ण जवाफले नै सारा जुम्लाबासीले शाहीलाई आफ्नो गौरवपूर्ण आवाजका रुपमा स्वीकार गरे । सोही कारण पनि मतदाताले पार्टीको उम्मेदवारका रुपमा नहेरी समग्र कर्णालीको आवाजका रुपमा लिए ।
भौगोलिक विभेद
बाहिरबाट जे जस्ता विश्लेषणहरु आए पनि जिल्लाको चुनावी नतिजा गत निर्वाचन र यसपटक भौगोलिक कारक पनि महत्त्वपूर्ण रह्यो । शाहीले पहिलोपटक जित्नुअघि जिल्लामा अधिकांश सदरमुकाम आसपासका नेताहरुले नै जित्दै आएका थिए । बाहिर सभ्यताको केन्द्रका रुपमा परिचित भए पनि जिल्लामा लामो समयदेखि राजनीतिक लाभ लिँदै आएको सदरमुकाम केन्द्रित नेतृत्वले सिँजा र ग्रामीण क्षेत्रलाई विभेद गरिरह्यो ।
यहाँसम्म कि, गाउँका नेताहरु पार्टीको माथिल्लो तहमा आउने आँट गर्दा अनदेखा गर्ने मात्रै नभई भौतिक आक्रमणसम्मका घटनाहरुसम्म भएका छन् । यो आक्रमण नेता मात्र नभइ अध्ययनको अवसर खोज्दै आएकाहरुमाथिसमेत कथित ‘बजारिया’ रबैयाले गर्दै आएको थियो । विकास निर्माण र सहभागितलाई लिएर भने सदरमुकाम क्षेत्रले लामो समयदेखि विभेदकारी नीति अपनाउँदै आएको थियो । बजार क्षेत्रको त्यो हेपाई र आफ्नो क्षेत्रको उम्मेदवार नै नहुँदा बाध्यात्मक परिस्थितिका कारण मत दिन बाध्य ग्रामीण मतदाताले शाहीलाई आफ्नो प्रतिनिधिका रुपमा हेरे र जिताए ।
सहज उपलब्धता
सांसदको त कुरा परै जाओस्, वडाध्यक्षसमेतलाई आम जनताले भेट्न मुस्किल पर्ने संस्कार मौलाइरहेका बेला शाही त्यस्तो नेता हुन्, जो सबैका लागि सधैं उपलब्ध भए । जिल्लामा हुँदा होस् या काठमाडौंमा हुँदा, उनलाई भेट्न चाहेका जनतालाई कहिल्यै ढिलाई गरेनन् । जिल्लाका कोही विदेशमा अप्ठ्यारो पर्दा उद्धारका लागि पहल गर्ने कामले पनि उनको लोकप्रियता युवामाझ रह्यो । काठमाडौंका अस्पतालमा उपचारका लागि आएका जुम्ली जनतालाई सहयोग मात्रै होइन, अस्पतालमै पुगेर भेट्नेसमेत उनले गरेका थिए ।
यही सहजताकै कारण पनि जनताले उनलाई नजिकबाट चिन्ने मौका पाए । अप्ठ्यारो पर्दा नेता स्वयंको उपस्थितिले पनि उनलाई जनतामाझ अपनत्व गरायो । यो संस्कार जिल्लाका नेताहरु सायदै अरुमा देखिन्छ ।
स्थानीय सामग्रीको बजारीकरण
देशभरमा उनी चर्चित बनेको अर्को घटना हो, स्याउ । अर्बौंको मूल्यमा उत्पादन हुने भए पनि स्याउको बजारीकरणमा उनको चमत्कारिक भूमिका रह्यो । हुन त उनकै कारणले मात्रै जुम्ली स्याउले बजार पायो भन्न सकिँदैन । तर दुई वर्षअघि बाढी पहिरोले बाटैमा स्याउ कुहिने अवस्थामा सांसदको नाताले नभई उनले आम मानिस जसरी खटिए र जुम्ली स्याउलाई नष्ट हुनबाट जोगाए । बजारमा स्याउको खपत भए पनि उनको यो कार्यले जुम्ली स्याउलाई देशभरी नै ब्रान्डिङ गर्न मियोको रुपमा काम गर्यो ।
स्याउ मात्रै नभइ उनले स्थानीय अरु उत्पादनबारे पनि सदनमै आवाज उठाए । चोतो, डँटेलो लगायतका उत्पादनलाई लिएर विरोधीहरुले खिसिट्यूरी गरे पनि उनकै कारण नामै नसुनेकाहरुले पनि त्यसबारेमा जानकारी पाए ।
पार्टीमा नेतृत्वदायी भूमिका
भलै जिल्लामा दलका अरु नेताहरुको पार्टी संगठन र हालीमुहाली छ । तर शाही अब जिल्ला स्तरका मात्रै नेता होइन् भन्ने धारणा जिल्लाबासीमा पर्दै गएको छ । राजनीतिक इतिहासमा कुनै पनि दलमा जुम्लाबाट पदाधिकारी तहमा पुगेर निर्णय नै गराउन सक्ने हैसियत अहिलेसम्म कोही दलका नेताले बनाउन सकेका थिएनन् ।
यति मात्रै होइन, पार्टी नेतृत्वप्रति नतमस्तक हुँदै आफ्नो क्षेत्रका लागि लड्न नसक्ने नेताहरुका अगाडि शाहीले आफ्नो दलमा पकड जमाइसकेका थिए । पहिलोपटक निर्वाचित भएलगत्तै प्रवक्ता हुँदै राष्ट्रिय पार्टीको सदनभित्र प्रमुख सचेतकसम्म बन्न पुगे शाही । पार्टीमा दबाब दिनसक्ने र सदनमा नेतृत्वदायी भूमिका गरेकै कारण शाहीले जिल्लाबासीका आँखामा आफ्नो ओझ बढाएका थिए । उनलाई जिल्लाबासी मात्रै नभई बाहिरका जनताले पनि अब कर्णालीको नेता शाही नै हुन् भन्ने मान्यता पनि यसपटक उनको जितको बल बन्यो । निर्वाचनको परिणामपछि मतदाता र सहयोगीहरुप्रति आभार व्यक्त गर्दै उनले मतदानसम्म आ–आफ्नो एजेन्डा लिएर चुनावी मैदानमा भए पनि जितपछि आफू सम्पूर्ण जिल्लाबासीको साझा प्रतिनिधि भएको बताएका हुन् । उनले सदनमा जिल्लाका समस्या र समृद्धिका मुद्दालाई अझ सशक्त ढंगले उठाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
अन्य दलको किचलो
शाहीको जितका लागि प्रतिस्पर्धी दलभित्रको आन्तरिक किचलो पनि सहयोगी सावित भयो । पूर्वमाओवादी (हाल नेकपा) भित्रकै आन्तरिक विवाद जिल्लाबासीका लागि नौलो होइन । गत निर्वाचनहरुमा आफ्नै पार्टीका उम्मेदवार हराउन लागेको आरोप भण्डारीमाथि थियो । २०७० को चुनावमा बुथ कब्जा गरी मतपेटिका बगाउनेसम्मको काम भण्डारीकै नेतृत्वमा भएको थियो । सोही कारण गजेन्द्र महत हारे भने त्यसको फाइदा कांग्रेसले लियो ।
त्यसबेला भण्डारी बैद्य माओवादीमा आवद्ध थिए । पछि माओवादी केन्द्रमा आए पनि महत पक्षले त्यो हारको कारण भुलेको थिएन । यस्तै २०७९ को चुनावमा पनि गोमा गौतम कुँवर माओवादी–कांग्रेस गठबन्धनबाट उम्मेदवार बन्दा भण्डारीले हराउन भूमिका खेलेको आरोप अहिलेसम्म छ । यही आन्तरिक किचलो पनि शाहीको दोस्रो इनिङ्सका लागि केही सहयोगी बन्न पुग्यो । भलै उनी निर्वाचित भएपछि राजसंस्थाको मुद्दा बोकेर हिँडे । पराजित दलहरुले उनीमाथि पश्चगमनवादी र मतदातालाई पनि पश्चगमनका मतियार भनेर आरोप लगाए पनि व्यवहारिक रुपमा उनको यो व्यक्तित्वको जित नै हो ।
