सुर्खेतबाट विजयी सांसदहरुको संयोग: एउटै टोल, दुवै यातायात व्यवसायी

उनीहरु दुवै जना पहिलोपल्ट संसदीय निर्वाचनमा भाग लिएका हुन् । उनीहरुको घरको दूरी झण्डै २ सय मिटरको दूरीमा छ भने दुवैजनाले फरकफरक यातायात प्रालिको नेतृत्व गरिरहेका छन् । डेढ वर्षअघि दुवै जना एउटै पार्टीमा थिए, त्यो पनि एउटै गुटमा ।

फाल्गुन २४, २०८२

कृष्णप्रसाद गौतम

Coincidence of winning MPs from Surkhet: Same toll, both transport entrepreneurs

सुर्खेत — बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुर्खेत–१ बाट नेपाली कांग्रेसका विष्णुबहादुर खड्का २६ हजार ८ सय ९७ मत र सुर्खेत–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटा ३० हजार ८ सय ४२ मतसहित विजयी भए । उनीहरु दुवैको धेरै संयोग मिलेको छ । 

दुवै जना एउटै टोल वीरेन्द्रनगर नगरपालिका–७ इत्रामका बासिन्दा हुन् । उनीहरुको घरको दुरी झण्डै दुई सय मिटरको दूरीमा मात्र छ । दुवैको पृष्ठभूमि यातायात व्यवसायी हो । दुवैले फरकफरक संस्थाको नेतृत्व गर्छन् । खड्का मध्यपश्चिम यातायात व्यवसायी समिति प्रालि र सापकोटा काँक्रेविहार यातायात प्रालिका अध्यक्ष हुन् ।

दुवै जना डेढ वर्षअघि दुवैजना एउटै पार्टीमा थिए । अहिले खड्का कांग्रेस सुर्खेतका उपसभापति छन् भने सापकोटा रास्वपाका जिल्ला सभापति । सापकोटा रास्वपा आवद्ध हुनुअघि कांग्रेसको वीरेन्द्रनगर नगर समितिका सचिव थिए। त्यसबेला उनीहरु दुवै जना कांग्रेस पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट थिए । विष्णुबहादुर त पूर्णबहादुरका साइला भाइ हुन् । दुवैले एसएलसीसम्मको अध्ययन पूरा गरेका छन् ।  

२०५५ सालमा सहचालक हुँदै यातायात व्यवसायमा छिरेका सापकोटा सहकारी अभियान्तासमेत हुन् भने सुर्खेतमा रोटरी क्लबमार्फत विभिन्न सामाजिक सेवामा सक्रिय छन् । ४६ वर्षीय सापकोटाले साविक मध्यपश्चिममा यातायात क्षेत्रको सिण्डिकेट तोड्न पनि सक्रिय भूमिका खेलेका थिए । सापकोटाले चुनाव जितेसँगै उनी कर्णाली प्रदेशबाट रास्वपाको पहिलो जनप्रतिनिधि बनेका छन् । यसअघि कांग्रेस–एमाले गढ भत्काउँदै उनले संसदीय यात्रा सुरु गरेका हुन् । 

विष्णुबहादुरका दाइ पूर्णबहादुरले सुर्खेत–१ बाट २०४८ सालदेखि निर्वाचन जित्दै ६ पल्ट सांसद बने । दाइको लामो विरासत जोगाउँदै संसद बनेका खड्काले २०३६ सालमा बहुदलको पक्षमा उभिएर राजनीति सुरु गरेका थिए। ‘त्यसबेला देशमा बहुदल चाहिन्छ भन्दै राँके जुलुस, भित्ते लेखन गर्ने र बहुदलको पक्षमा पर्चा पम्पलेट छपाएर वितरण गर्नेलगायत काम वीरेन्द्रनगरमा मेरै नेतृत्वमा भएको थियो,’ उनले भने, ‘२०४६ सालको जनआन्दोलनमा पनि यहाँको नेतृत्व मैले नै लिएको थिए, त्यसक्रममा पहिलो पटक ११ दिन र दोस्रो पटक २६ दिन हिरासतमा बस्नुपर्‍यो ।’

नेपाली कांग्रेसको १० औं महाधिवेशनमा उनी साविकको वीरेन्द्रनगर नगरपालिका–८ को वडासभापतिमा निर्वाचित भए भने १४ औं महाधिवेशनमा प्रतिनिधिसमेत जितेका थिए । 

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully