सभापतिको राजीनामा माग्नु र दिनु समाधान होइन : कांग्रेस नेता शर्मा

'यदि विशेष महाधिवेशन नभई पुरानै नेतृत्वको कार्यशैली र संरचनामा चुनाव लडिएको भए, आज पार्टीको अवस्था कस्तो हुन्थ्यो भन्ने प्रश्न पनि गम्भीर रूपमा सोच्नुपर्ने विषय हो'

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Demanding and granting the resignation of the president is not a solution: Congress leader Sharma

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा प्राप्त परिणामलाई लिएर पार्टी सभापति गगन थापाको राजीनामा माग्न नहुने नेता सुनिल शर्माले बताएका छन् । पार्टी सभापतिको राजीनामाले निकाश नदिने शर्माको भनाइ छ ।

पार्टी कठिन अवस्थाबाट अगाडि बढाउनुपर्ने अवस्थामा सभापति थापाको राजीनामा माग्नु उचित नभएको शर्माको भनाइ छ । 'सभापतिको राजीनामा निकास होइन, अब शून्यबाटै उठ्ने बेला हो । यो कठिन घडीमा सभापति गगन थापाको राजीनामा माग्नु वा दिनु समाधान होइन, त्यो केवल क्षणिक भावावेश मात्र हो,' शर्माले भनेका छन्, 'नेतृत्वको हैसियतले उहाँमाथि नैतिक दायित्व अवश्य रहन्छ, तर आज देखिएको संकटको मूल कारण दशकौँदेखि चल्दै आएको फोहोरी र अवसरवादी राजनीति हो । सम्पूर्ण असफलताको भारी एउटै व्यक्तिको काँधमा थोपर्नु राजनीतिक दृष्टिले न्यायोचित हुँदैन ।'

पार्टीका सबै नेताहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको पनि नेता शर्माको भनाइ छ । कांग्रेस विशेष महाधिवेशन नगरी चुनावमा गएको भएको अवस्थाको परिकल्पना गर्न पनि उनले आग्रह गरेका छन् । 'यदि विशेष महाधिवेशन नभई पुरानै नेतृत्वको कार्यशैली र संरचनामा चुनाव लडिएको भए, आज पार्टीको अवस्था कस्तो हुन्थ्यो भन्ने प्रश्न पनि गम्भीर रूपमा सोच्नुपर्ने विषय हो,' शर्माले भनेका छन्, 'आज देखिएको पराजय कुनै एक व्यक्तिको कारण मात्र होइन; विगतमा भएका गलत निर्णय, जनभावनाविपरीतका गतिविधि र पुरानो नेतृत्वको कमजोर कार्यशैलीको दीर्घकालीन परिणाम हो । जसले नागरिकको मन दुखायो र जनताको विश्वास कमजोर बनायो, त्यसको जिम्मेवारी पनि त्यही पुरानो नेतृत्व र सम्बन्धित व्यक्तिहरूले लिनुपर्छ ।'

पार्टीभित्र एकता र सहकार्यको वातावरण बनाउनुपर्ने पनि शर्माको भनाइ छ । 'आउनुहोस्, विगतका कमी-कमजोरीबाट पाठ सिक्दै अब शून्यबाटै नयाँ संघर्ष सुरु गरौँ । काँधमा काँध मिलाएर जनताको गुमेको भरोसा पुनः जितौँ र पार्टीलाई फेरि जनतामाझ विश्वासिलो र शक्तिशाली रूपमा स्थापित गरौँ,' शर्माले भनेका छन् ।

कान्तिपुर

Link copied successfully