पत्रकारितापछि चुनावी सरकारको मन्त्री, अब सांसद

अन्तरिम सरकारको प्रवक्ता छँदा राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेर चुनावको वातावरण बनाउन उनको भूमिका महत्वपूर्ण रह्यो ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको अघिल्लो दिन मात्र राजनीतिक दलमार्फत सक्रिय राजनीतिमा लाग्ने घोषणा गरेका थिए, जगदीश खरेलले ।

जेन-जी आन्दोलनपछिको सरकारको नेतृत्व लिएकी सुशीला कार्कीले आफ्नो क्याबिनेटमा खरेललाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी दिएकी थिइन् ।२०८२ असोज ६ मा खरेल चुनाव गराउने सरकारको मन्त्री थिए । तर चार महिनामै खरेलले मन्त्रीबाट राजीनामा गरे र चुनावी मैदानमा होमिए । 

दोलखामा जन्मिएका खरेल पछिल्लो २५ वर्षयता ललितपुरमा बस्दै आएका थिए । त्यसैले पनि उनको चुनावी मैदानको रोजाइ पनि ललितपुर-२ नै पर्‍यो । जहाँ उनले ३९ हजार ४९१ मत ल्याएर संसदीय यात्राको थालनी गरेका छन् ।

यो निर्वाचन क्षेत्रबाट कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत ल्याए भने उज्यालो नेपालका राजाराम तण्डुकारले ५ हजार ५४७ मत पाए । २०७९ को चुनाव यसै निर्वाचन क्षेत्रबाट जितेका एमालेका प्रेमबहादुर महर्जनले भने ४ हजार ५३६ मत प्राप्त गरेका छन् । बाँकी १९ उम्मेदवारले भने २ हजार मत पनि कटाएनन् । 

खरेल निर्वाचन गराउने सरकारको मन्त्री बन्दा इमेज टीभीको समाचार प्रमुख थिए । असोज ६ गते दौरासुरुवाल लगाएर उनी राष्ट्रपति कार्यालय नगई इमेज टीभीको कार्यालय गए र त्यसपछि मात्रै शपथका लागि शीतलनिवास पुगे । 

त्यस्तै, माघ ५ मा राजीनामा बुझाउनुपहिले नै खरेलले रास्वपाका सभापति रवि लामिछानेसँग ललितपुर- २ को प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट सुनिश्चित गरेका थिए । त्यसपछि मात्रै उनले बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीलाई सञ्चारमन्त्रीबाट राजीनामा दिएको पत्र हस्तान्तरण गरेका थिए ।

पत्रमा लेखिएको थियो, 'वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्ष्यमा अब दलीय राजनीतिमार्फत सक्रिय एवं उत्तरदायी भूमिका निर्वाह गर्नु वाञ्छनीय भएको निष्कर्षमा म पुगेको छु । अतः वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदानमा छिर्नुअघि नै मैले पदबाट राजीनामा दिने निर्णय लिएको छु । यो राजीनामा स्वीकार गरिदिनुहुन सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष सविनय अनुरोध गर्दछु । अब मेरो सार्वजनिक जीवन राष्ट्र, नागरिक, लोकतन्त्र, सुशासन र मानव गरिमाको उन्नयनमा समर्पित रहने अटल प्रतिबद्धता व्यक्त गर्दछु ।'

सरकारको प्रवक्तासँगै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारीमा रहँदा डिजिटल अभिव्यक्ति, सूचना पहुँच र नागरिकको बोल्ने अधिकारलाई केन्द्रमा राख्दै राज्य र जनताको बीचको दुरी घटाउने प्रयास गरेको खरेलको दाबी छ ।

सरकारको प्रवक्ताका रूपमा राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेर प्रतिनिधिसभाको चुनावको वातावरण बनाउन उनको भूमिका महत्वपूर्ण रह्यो । एमाले अध्यक्ष केपी ओली, कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाललाई भेटेर उनले चुनावमा भाग लिन पहल गरेका थिए ।

चार महिनाको मन्त्रीको कार्यकालमा नीतिनिर्माण, प्रशासनिक संयन्त्र र राज्य सञ्चालनको जटिल संरचनालाई नजिकबाट बुझ्ने अवसर पाएको उनको भनाइ थियो । 

दोलखाको कालिञ्चोक गाउँपालिकाको सुनखानी भदौरेमा २०३९ साउन २२ मा जन्मिएका खरेल हाल ललितपुरमा बस्दै आएका छन् । खरेल हाल अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) अध्ययनरत छन् । 

खरेलले चुनावका क्रममा विगतमा पत्रकारितामार्फत उठाउँदै आएका जनताका प्रश्न अब सांसदका हैसियतमा संसद्‍मा उठाउने प्रतिबद्धता व्यक्त गर्दै भोट मागेका थिए ।     

कान्तिपुर

Link copied successfully