कांग्रेस, एमाले र नेकपालाई अभूतपूर्व धक्का, सबै मधेशी दल एकै पटक गायब

जेन–जी आन्दोलनको पृष्ठभूमिमा तत्काल निर्वाचन भएकाले पनि परिणाम यस्तो आएको बुझाइ विश्लेषकहरूको छ ।

फाल्गुन २३, २०८२

कुलचन्द न्यौपाने

Unprecedented blow to Congress, UML and NCP, all Madhesi parties disappear at once

काठमाडौँ — नयाँ जनादेशले दशकौंदेखि राजनीतिको केन्द्रमा रहेका पुराना राजनीतिक दलहरूलाई ठूलो धक्का दिएको छ । कांग्रेस, एमाले र नेकपासहित मधेशकेन्द्रित दलहरू यस निर्वाचनबाट जनविश्वास गुमाउँदै नराम्ररी खुम्चने स्थितिमा पुगेका छन् । 

वर्तमान मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलले बहुमत ल्याउन नसक्ने र राजनीतिक स्थिरता नदिने भन्दै संविधान संशोधनको मुद्दा उठिरहेका बेला रास्वपा एकल बहुमत उन्मुख छ । प्रत्यक्षतर्फको मतगणना र समानुपातिकको प्रारम्भिक नतिजामा रास्वपाको मत उत्साहजनक देखिएको छ । २०७९ को निर्वाचनभन्दा पाँच महिना अगाडि मात्रै रास्वपा स्थापना भएको थियो । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको यो पार्टीमाथि छोटो अवधिमा बढेको जनलहरको मुख्य कारण पछिल्लो समय काठमाडौं महानगरका तत्कालीन मेयर बालेन्द्र शाहको पार्टी प्रवेश र उनीप्रति नागरिकको बढ्दो अपेक्षा देखिएको छ । 

अर्कोतर्फ, लामो समयदेखि सत्ताको ‘म्युजिकल चेयर’को खेल, भ्रष्टाचार, दण्डहीनता, राज्य संस्थाहरूको दलीयकरण र शासनप्रति बढ्दो जन–निराशाले पुराना दलहरूप्रति नागरिकको वितृष्णा देखिएको विश्लेषकहरू बताउँछन् । राजनीतिक दलका नेताहरू भने सूचना प्रविधिको विस्तार र सामाजिक सञ्जालको प्रभावले जनमत निर्माणलाई प्रभावित बनाएको तर्क गर्छन् । सामाजिक सञ्जालमा भाइरल हुने आलोचनात्मक तथा गालीगलौजयुक्त सामग्रीहरूले पुराना दलको छवि थप कमजोर बनाएको उनीहरूको भनाइ छ ।

Unprecedented blow to Congress, UML and NCP, all Madhesi parties disappear at onceपूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल लामो समयदेखिको निराशा निर्वाचनमा विस्फोट भएको बताउँछन् । ‘१५–२० वर्षदेखि तीन दलका शीर्ष नेताले सत्ताको ‘म्युजिकल चेयर’ खेलिरहेका थिए । यसबीचमा भ्रष्टाचारका ठूल्ठूला काण्ड भए, दण्डहीनता मौलायो । अरूलाई थुन्ने र आफ्नालाई जोगाउने काम भयो । राज्यका संस्थाहरू दलीयकरण गरेर ध्वस्त बनाइए । यसले जनता आजित थिए,’ पोखरेल भन्छन्, ‘जनताले विकल्प खोजिरहेका थिए, अहिले मौका मिल्यो ।’ 

केही राजनीतिक दलका नेताहरूले रास्वपाप्रति जनलहर देखिनुमा भूराजनीतिक पृष्ठभूमि पनि जोडिएको बताएका बेला पोखरेलले त्यस कोणबाट सोच्न नहुने बताए । ‘अहिले निर्वाचन परिणामलाई लिएर पूर्व–पश्चिम कतै हेर्न पर्दैन । जनता स्वतन्त्रपूर्वक निर्णय लिन सक्ने भएका छन्,’ उनले भने । 

काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक उद्धव प्याकुरेल पुराना दलप्रति अविश्वास बढ्नुमा सामाजिक संरचना र सूचनाको पहुँचमा आएको परिवर्तनलाई मुख्य कारक मान्छन् । ‘सूचनाको स्रोत विस्तार भएको छ । हात–हातमा मोबाइल छ । एक पटक मनपराइएको भिडियो अल्गोरिदमको प्रभावले पटक–पटक आउने गर्दा लामो विश्लेषण र तर्क सुन्न धैर्य रहेन । त्यस्तै भिडियोका सामग्रीको प्रभाव देखियो,’ उनले भने । पुराना दलहरूको शासनशैली पनि नागरिकले नरुचाएको उनको बुझाइ छ । 

जेन–जी आन्दोलनको पृष्ठभूमिमा तत्काल निर्वाचन भएकाले पनि परिणाम यस्तो आएको बुझाइ विश्लेषकहरूको छ । प्याकुरेलले भने, ‘सरकार आलोपालो गरेर चलाउने र आपसमा एकअर्कालाई खुइँल्याउने कर्मले अहिले सबै नाङ्गै भए ।’ 

कांग्रेसले जेन–जी आन्दोलनको मुद्दालाई सम्बोधन गर्न २०४८ देखि सत्ताकेन्द्रमा रहेका शेरबहादुर देउवालाई नेतृत्वबाट विस्थापन गर्नेदेखि पार्टीको नीति र कार्यक्रममा समेत नयाँपन दिने प्रयास गरेको थियो । तत्कालीन संस्थापनपक्षको अवरोधबीच २७–३० पुसमा विशेष महाधिवेशन गरी गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेर कांग्रेस निर्वाचनमा होमिएको थियो । 

तर, जनतालाई यी परिवर्तनबारे बुझाउन नसक्दा अप्रत्याशित परिणाम भोग्नुपरेको कांग्रेस प्रवक्ता देवराज चालिसे बताउँछन् । ‘कांग्रेसको बदलिएको छवि जनतामाझ पुर्‍याउन सकेनौं,’ उनले भने, ‘हामीबारे फैलाइएको कुप्रचार चिरेर कांग्रेसलाई जनतामाझ स्थापित गर्न समय पनि अपर्याप्त भयो ।’ 

निर्वाचन परिणामलाई स्विकार्दै पार्टीलाई अझ सुधार गर्ने, सच्चिने र जनतासँगको संवादमा जोडिने उनले बताए । ‘चुनाव पार्टीका लागि परीक्षा हो । आउने परीक्षामा राम्रोसँग अध्ययन गर्नुपर्ने पाठ पनि यो चुनावले सिकाएको छ,’ प्रवक्ता चालिसेले भने, ‘संगठनमा नेता थुप्रिएको र कार्यकर्ता घट्दै गएको अवस्था निर्वाचनले प्रकट गरेको छ । अर्को सत्ताको राजनीतिबाट पार्टीहरू धेरै ग्रसित भएको परिणाम पनि हो, यो ।’ 

भूराजनीतिक प्रभाव र जनभावना बुझ्न नसक्नु नै पुराना पार्टीहरूको मुख्य कमजोरी रहेको एमाले नेता पदम गिरीले बताए । ‘हामीले युवाको अपेक्षाअनुसार काम गर्न सकेनौं । गरेका कामको उपलब्धि जनतामाझ पुर्‍याउन पनि सकेनौं,’ गिरीले भने, ‘नागरिकका निराशा र आक्रोशलाई मत्थर पार्ने काम दलहरूले गर्न सकेनन् ।’ जनमतलाई पार्टीले स्विकार्ने उनले बताए । ‘जनताले हामीलाई सच्चिने मौका दिएका छन् । त्यसै दिशामा अघि बढ्छौं,’ उनले थपे, ‘नयाँ बन्ने सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं । जनअपेक्षाअनुसार काम गरोस् भन्ने शुभकामना छ ।’

निर्वाचनले पार्टीका परम्परागत संगठन भत्किएको नेकपा नेता देवेन्द्रराज पौडेलले बताए । ‘मतदाताको सोचाइमा परिवर्तन देखियो । कुनै दलप्रतिको आबद्धताको निरन्तरता देखिएन,’ उनले भने, ‘अब राजनीतिक दलका संगठन भत्किए । पुराना गढहरूको प्रभाव रहेन । व्यवहारमा अनुभूति गर्न सकिने काम गरेर मात्रै जनताको मन जित्न सकिन्छ भन्ने शिक्षा यो चुनावले दिएको छ ।’ जेन–जी आन्दोलनको रापतापमा निर्वाचन भएकाले पनि यस्तो स्थिति आएको पौडेलले बताए । 

लामो र संघर्षपूर्ण इतिहास बोकेका कांग्रेस, एमाले र नेकपा संख्याको आकारमा खुम्चिए पनि संसद्मा उनीहरूको भूमिका महत्त्वपूर्ण हुने राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल बताउँछन् । रास्वपालाई अब जनादेशको उच्चतम कदर गर्दै संयमसाथ मुलुक सञ्चालन गर्ने परीक्षा सुरु भएको उनले बताए । ‘अहिलेसम्मको मतगणनाअनुसार रास्वपाले सबैभन्दा ठूलो दलका हैसियतले सरकारको नेतृत्व गर्नेछ,’ उनले भने, ‘अब रास्वपाको परीक्षा सुरु भएको छ ।’

कुलचन्द

Link copied successfully