रास्वपाबाट चितवन-३ की उम्मेदवार सोबिता गौतम सबैभन्दा बढी ५९ हजार २७७ मत ल्याएकी छन् ।
काठमाडौँ — चितवन-३ बाट सोबिता गौतम ५९ हजार २७७ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । शनिबार सकिएको मतगणनामा सोबिताले उक्त मत प्राप्त गरेकी हुन् । सोबिताले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाललाई ३८ हजार ६ सय ६२ मतान्तरले पराजित गरेकी हुन् ।
सोबिताले ५९ हजार मत कटाउँदा रेनुले भने २० हजार ६ सय १५ मत मात्र प्राप्त गरिन् । चितवन-३ मा कांग्रेसका टेकप्रसाद गुरुङले ८ हजार ३ सय ४४ र एमालेका शंकर थपलियाले ५ हजार ४ मत पाए ।
सोबिता २०७९ को प्रतिनिधिसभा चुनावमा काठमाडौं- २ बाट सांसद बनेकी थिइन् । उक्त निर्वाचनमा १५ हजार २२९ मत प्राप्त गर्दै निर्वाचित भएकी थिइन् । यसपटक भने उनी चुनाव लड्न चितवन-३ पुगेकी हुन् । यहाँ नेकपाबाट पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरीसमेत रहेकी रेनु दाहाल उम्मेदवार थिइन् । रेनु भरतपुर महानगरपालिकाको मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बनेकी थिइन् ।
चितवन-३ बाट २०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रम पाण्डे ३५ हजार ६० मत ल्याएर निर्वाचित भएका थिए । यो निर्वाचनमा भने राप्रपाका उम्मेदवार रहेका दीपक थापा मगरको १ हजार २२६ मत मात्रै आयो ।
यो निर्वाचनमा हालसम्मको मतपरिणामअनुसार दोस्रो धेरै मत ल्याउने रास्वपाका रुपन्देही-३ बाट निर्वाचित डा. लेखजंग थापा रहेका छन् । उनले ५८ हजार ८ सय १४ मत प्राप्त गरेका छन् ।
