कोशीका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमै श्रम संस्कृतिले उम्मेदवारी दिएको छ । सुनसरी–१, खोटाङ र भोजपुरमा अग्रता लिइरहेको छ ।
काठमाडौँ — कोशी प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमै श्रम संस्कृति पार्टीले उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा छ ।
अहिलेसम्म ३ वटा निर्वाचन क्षेत्र सुनसरी–१, खोटाङ र भोजपुरमा उक्त पार्टीका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
धरान उपमहानगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका पार्टी अध्यक्ष हर्कराज राई (साम्पाङ) सुनसरी–१ बाट चुनावी प्रतिस्पर्धामा छन् । राईले १४ हजार ३५ मत प्राप्त गर्दा उनको निकटम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले ८ हजार ८ सय ९० मत ल्याएकी छन् । राई तामाङभन्दा ५ हजार १ सय ४५ मतले अगाडि छन् ।
त्यस्तै एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा उक्त पार्टीका आरेन राई ८ हजार १ सय ९१ मतका साथ पहिलो नम्बरमा छन् । जहाँ एमालेका देवविक्रम राईले उनलाई पछ्याइरहेका छन् । देवविक्रमले ६ हजार ८ सय ११ मत पाएका छन् ।
एउटा निर्वाचन क्षेत्र रहेको भोजपुरमा पनि श्रम संस्कृतिका ध्रुवराज राई अग्रस्थानमा छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार ध्रुव ७ हजार ९ सय ६८ मतका साथ पहिलो स्थानमा छन् । यस क्षेत्रमा एमालेका शेरधन राई दोस्रो स्थानमा छन् । उनले ६ हजार ८ सय २९ मत ल्याएका छन् । शेरधन एमालेका केन्द्रीय सचिवसमेत हुन् ।
पाँचथरमा श्रम संस्कृतिका हस्तराज शर्मा ८ हजार ८ सय ३६ मतका साथ कांग्रेसका नरेन्द्रकुमार केरुङ लाई पछ्याइरहेका छन् । केरुङले १० हजार २ सय ७० मत ल्याएका छन ।
इलाम–१ मा विनोद नेम्बाङ लिम्बु २ हजार ५ सय ४६ मतका साथ तेस्रो स्थानमा छन् । यहाँ नेकपा एमालेका काजीमान कागते २ हजार ८ सय ३ मतका साथ पहिलो र कांग्रेसका निश्कल राई २ हजार ५ सय ८९ मत दोस्रो स्थानमा छन् ।
इलाम–२ मा एमालेका सुहाङ नेम्बाङ १४ हजार ९ सय ५५ मतका साथ अघि हुँदा श्रम संस्कृतिका सुदीप राई ११ हजार ६ सय ९३ मतलका साथ पछ्याइरहेका छन् । झापा–१ मा श्रम संस्कृतिका केवलराम राई ८ हजार ६ सय ६० मतका साथ तेस्रो स्थानमा छन् । जहाँ पहिलो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँगी ३८ हजार २ सय ३९ र कांग्रेसका केशवराज पाण्डे ९ हजार १ सय ८१ मतका साथ दोस्रो स्थानमा छन् ।
झापा–२ मा पनि श्रम संस्कृतिका केशवकुमार भण्डारी ५ हजार १ सय ३० मतका साथ तेस्रो स्थानमा छन् । पहिलो नम्बरमा पूर्व उपसभामुख एवं रास्वपाकी इन्दिरा राना मगर ३६ हजार ८ सय ९९ र पूर्व सभामुख एवं एमालेका देवराज घिमिरे ७ हजार ५ सय १४ मतकासाथ दोस्रोमा छन् ।
झापा–४ मा श्रम संस्कृतिबाट उम्मेदवार रहेकी अमृतादेवी राई ५ हजार ७ सय ४९ मतले तेस्रो छिन् । पहिलोमा रास्वपाका शम्भुप्रसाद ढकाल २५ हजार १० र दोस्रोमा एमालेका लालप्रसाद साँवा लिम्बु ७ हजार ५ सय ६९ मतका साथ दोस्रो छन् ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले जित हासिल गरेको झापा–५ मा पनि श्रम संस्कृति पार्टी तेस्रो प्रतिस्पर्धीका रुपमा उदाएको छ । शाह ६८ हजार ३ सय ४८ मत ल्याएर विजयी हुँदा यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो भए । तामाङले ९ हजार २ सय ३३ मत पाए । दोस्रो एमाले अध्यक्ष केपी शर्मा ओली भए, जसले १८ हजार ७ सय ३४ मत पाए ।
साँझसम्मको परिणामअनुसार धनकुटामा श्रम संस्कृतिका सानबहादुर राई १० हजार ६ सय ५८ मतसाथ दोस्रो स्थानमा छन् । जहाँ पहिलो नम्बरमा एमालेका राजेन्द्रकुमार राई छन् । राईले १५ हजार ४ सय ११ मत ल्याएका छन् ।
मोरङ–१ मा रास्वपका यज्ञमणि न्यौपाने २४ हजार ६ सय ५२ मतका पहिलो स्थानमा हुँदा श्रम संस्कृतिका शान्तिदेवी पाख्रिन लामा दोस्रो छिन् । उनले १६ हजार १ सय ६२ मत ल्याएकी छन् ।
मोरङ–३ मा अमिर मगरको मत ८ हजार ८ सय ९१ छ । जहाँ रास्वपाका गणेश कार्की २१ हजार ८ सय ७६ मतसहित पहिलो र कांग्रेसका सुनिलकुमार शर्मा १३ हजार ६ सय ५८ मतले दोस्रो स्थानमा छन् ।
सुनसरी–२ मा श्रम संस्कृतिका चेतन राई ३ हजार २ सय ४४ मतले तेस्रो छन् । यहाँ रास्वपका लालविक्रम थापा २२ हजार १२ मतले पहिलो र कांग्रेसका राजिव कोइराला ७ हजार ५ सय ३१ मतले दोस्रो छन् ।
त्यस्तै उदयपुर–१ मा श्रम संस्कृतिका राजेशकुमार राई दोस्रो स्थानमा छन् । उनले अहिलेसम्म ६ हजार ९ सय २४ मत ल्याएका छन् । पहिलो नम्बरमा रास्वपका पारशमणि गेलाल छन् । उनले १२ हजार ४७ मत प्राप्त गरेका छन् ।
