शिव यादव: जसका आवाज सडकमा सुनिन्थे, अब सदनमा सुनिनेछन्

आन्दोलनकारीको बीचमा सडकमा उभिएर बोल्दै उनले सरकारमाथि तिखा प्रश्नका वाण चलाउँथे । उनको त्यो आवाज अब सदनमा सुनिनेछ ।

फाल्गुन २३, २०८२

विनय आजाद

Shiv Yadav: Those whose voices were heard on the streets will now be heard in the House

सिरहा — शिव यादव, काठमाडौंमा भइरहने आन्दोलनहरुमा आइराख्ने नाम हो । मधेशका मिटरब्याज पीडितको आन्दोलन होस् या उखु किसानको न्यायका लागि धर्ना होस् या भ्रष्टाचार विरोधी प्रदर्शन, उनी नगएको आन्दोलन हुँदैन्थ्यो ।

काठमाडौंमा हुने आन्दोलन वा संघर्षका कार्यक्रममा उनी सहभागिता जनाउँथे, अनि भाषण दिन्थे । आन्दोलनकारीहरुको बीचमा सडकमा उभिएर बोल्दै उनले सरकारमाथि तिखा प्रश्नका वाण चलाउँथे । तर, यसरी यसअघि माइतीघर अनि काठमाडौंका सडकमा सुनिने उनको त्यो आवाज अब सदनमा सुनिनेछन् ।

आन्दोलनकारीका रुपमा सरकारलाई प्रश्न गर्ने उनको भूमिका अब फेरिएको छ । उनी अब जवाफ दिन पर्ने गरी नेतृत्वमा पुगेका छन् । अर्थात्, सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित भएका छन् ।

यादव ३९ हजार ५ सय ६१ मत प्राप्त गरे । यस क्षेत्रमा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सिरहा जिल्ला सभापतिसमेत रहेका रामचन्द्र यादवले १२ हजार ८ सय १४ मतमा सीमित भएका छन् । नेकपा एमालेका उम्मेदवार नवीनकुमार यादव ६ हजार ७ सय १३ मतसहित तेस्रो भए ।

सुखीपुर नगरपालिका-२ स्थित विद्यानगर सामान्य परिवारमा २०५२ असोज २० मा जन्मिएका ३० वर्षीय शिव माध्यमिक तह उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनका लागि एक दशकअघि काठमाडौं गएका गए । उनी अहिले राजनीति शास्त्रमा स्नातकोत्तर अध्ययनरत छन् । काठमाडौं गएपछि उनले त्यहाँ जीविका चलाउन होस्टेल खोलेका थिए । उनको होस्टल अझै पनि छँदैछ ।

काठमाडौंबाटै उनले विभिन्न राजनीतिक र सामाजिक अभियानहरुमा संलग्न हुन सुरु गरेका थिए । काठमाडौंमा विभिन्न आन्दोलनका क्रममा पटकपटक गरी उनी १२ पल्ट पक्राउ परेर रिहा भएका छन् । मधेश राजनीतिको पुनर्गठनको उद्देश्यसहित काठमाडौंमा मधेशका प्रबुद्ध युवाहरूद्वारा सञ्चालित मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्रमा केही समय उनी अध्यक्षको भूमिकामा रहेरसमेत काम गरेका छन् ।

यसअघि २०७९ को आम निर्वाचनमा पनि यही क्षेत्रबाट शिव स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा होमिएका थिए । तर, त्यतिबेला उनले ७ सय ९९ मत मात्रै पाए । त्यतिबेलाको चुनावी परिणामलाई सिकाइको रूपमा लिँदै उनी राजनीतिक गतिविधिमा निरन्तर लागिरहे ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा समेत उनी अग्रमोर्चामै थिए, जसले उनलाई थप चर्चामा ल्याएको थियो । उनी हाल रास्वपाका केन्द्रीय सदस्यसमेत छन् । उनका दुई वटा सन्तान छन् । सांसदका रुपमा मधेशको मुद्दालाई संस्थागत गर्दै संघीयतालाई अझै मजबुत बनाउन आफ्नो भूमिका रहने उनले बताए ।

‘मैले सांसदका रुपमा मुख्यतः संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशीतालगायतलाई अझै सुदृढ पार्न भूमिका खेल्नेछु, जति पनि प्राप्त उपलब्धि छन्, त्यसलाई संस्थागत गर्दै जनतालाई सुशासनको प्रत्याभूति हुने गरी नीति नियम निर्माणका लागि काम गर्ने मेरो मूल ध्येय हो,’ उनले भने, ‘हिजोसम्म आन्दोलनकारी थिएँ, अब काम गर्ने ठाउँमा पुगेकोले गरेर देखाउनै पर्नेछ ।’

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully