राजधानीका केही निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले यस्तो अन्तरले जित निकालेका छन् कि निकटतम तीन प्रतिस्पर्धीको मत जोड्दा पनि उनीहरूको मत बराबरी गर्न सकेन ।
काठमाडौँ — काठमाडौंमा प्रतिनिधिसभा निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव स्पष्ट देखाएको छ । राजधानीका केही निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले यस्तो अन्तरले जित निकालेका छन् कि निकटतम तीन प्रतिस्पर्धीको मत जोड्दा पनि उनीहरूको मत बराबरी गर्न सकेन ।
सबैभन्दा ठूलो मतान्तर काठमाडौं–९ मा देखिएको छ । उक्त क्षेत्रबाट रास्वपाका डोलप्रसाद अर्याल ३५ हजार ९३ मतसहित निर्वाचित भएका छन् । तर उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ५ हजार ४६०, नेकपा एमालेका उम्मेदवारले ४ हजार ५८० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले १ हजार ४५७ मत प्राप्त गरेका छन् । यी तीनै जनाको मत जोड्दा ११ हजार ४९७ मात्रै पुग्छ । अर्थात् अर्यालले एक्लैले प्रतिस्पर्धी तीन जनाको संयुक्त मतभन्दा २३ हजार ५९६ बढी मत प्राप्त गरेका छन् ।
काठमाडौं–१० मा पनि रास्वपाका प्रदीप बिष्टले ठूलो मतान्तरसहित जित निकालेका छन् । उनले ३७ हजार ४६९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ८ हजार १००, एमालेका उम्मेदवारले ४ हजार ८६४ र नेकपाका उम्मेदवारले २ हजार ६४८ मत पाएका छन् । यी तीनै जनाको मत जोड्दा १५ हजार ६१२ मात्रै हुन्छ । यसरी विष्टले एक्लैले उनीहरूको संयुक्त मतभन्दा २१ हजार ८५७ बढी मत प्राप्त गरेका छन् ।
काठमाडौं–५ मा भने ‘ह्याभिवेट’ नेताहरूबीचको प्रतिस्पर्धामा रास्वपाका सस्मित पोखरेलले अप्रत्याशित रूपमा ठूलो अन्तरले जित हात पारे । उनले ३० हजार ७३७ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ९ हजार १ सय ५९ मत पाए भने एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ४ हजार ६ सय १ मत ल्याए। त्यस्तै राप्रपाका कमल थापाले १ हजार ९ सय २२ मत प्राप्त गरेका थिए । तीनै जनाको मत जोड्दा १५ हजार ६८२ मात्रै हुन्छ । पोखरेलले उनीहरूको संयुक्त मतभन्दा १५ हजार ५५ बढी मत प्राप्त गरेका छन् ।
काठमाडौं–७ मा पनि रास्वपाका शिशिर खनालले स्पष्ट मतान्तरसहित जित निकालेका छन् । उनले २७ हजार ९१६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ६ हजार ७५१, एमालेका उम्मेदवारले ४ हजार २६८ र राप्रपाका उम्मेदवारले १ हजार २०७ मत ल्याएका छन् । यी तीनै जनाको मत जोड्दा १२ हजार २ सय २६ मात्रै हुन्छ। यसरी खनालले उनीहरूको संयुक्त मतभन्दा १५ हजार ६९० बढी मत ल्याएका छन् ।
काठमाडौं–४ मा रास्वपाका पुकार बम २९ हजार १४२ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ८ हजार ८२४, एमालेका उम्मेदवारले ५ हजार ७३३ र राप्रपाका उम्मेदवारले २ हजार २५ मत प्राप्त गरेका छन्। यी तीनै जनाको मत जोड्दा १६ हजार ५८२ हुन्छ । बमले उनीहरूको संयुक्त मतभन्दा १२ हजार ५६० बढी मत प्राप्त गरेका छन् ।
त्यस्तै काठमाडौं–८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेकपाका उम्मेदवारले ३ हजार २१७, कांग्रेसका उम्मेदवारले २ हजार ८३५ र एमालेका उम्मेदवारले १ हजार ९०९ मत प्राप्त गरेका छन्। यी तीनै जनाको मत जोड्दा ७ हजार ९६१ मात्रै हुन्छ। यसरी श्रेष्ठले उनीहरूको संयुक्त मतभन्दा १६ हजार ६३१ बढी मत ल्याएका छन् ।
