शनिबार बिहान २ बजे सम्मको मतपरिणाम अनुसार उपत्यकाका १५ सिटमध्ये रास्वपाले ६ सिट जितिसकेको छ, बाँकी ९ सिटमा पनि रास्वपाले नै फराकिलो मतान्तरले अग्रता बनाएको छ ।
काठमाडौँ — रास्वपाले काठमाडौं उपत्यकामा करिब ‘क्लिनस्विप’ गर्ने सम्भावना देखिएको छ । शनिबार विहान २ बजेसम्मको मतपरिणामअनुसार उपत्यकाका १५ सिटमध्ये रास्वपाले ६ सिट जितिसकेको छ । बाँकी ९ सिटमा पनि रास्वपाले नै फराकिलो मतान्तरले अग्रता बनाएको छ ।
रास्वपाले काठमाडौं–१, ३, ५, ६, ७, ८ र १० मा जित हासिल गरिसकेको छ । रास्वपाकी रञ्जु न्यौपाने काठमाडौं–१ मा विजयी भएकी छन् । उनले १५ हजार ४ सय ५५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत ल्याए । २०७९ को निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका प्रकाशमान सिंहले जितेका थिए ।
काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डेले जितेका छन् । उनले १८ हजार ७ सय ५७ मत पाए । उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपालका कुलमान घिसिङले ११ हजार १ सय ७१ मत पाएका छन् । गत चुनावमा यो निर्वाचन क्षेत्रमा कांग्रेसका सन्तोष चालिसेले जितका थिए ।
काठमाडौं–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल निर्वाचित भएका छन् । शनिबार बिहान साढे १ बजे सार्वजनिक अन्तिम परिणामअनुसार भारी मतान्तरसहित पोखरेल विजयी भएका हुन् । उनले ३० हजार ७३७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले ९ हजार १५९ र एमालेका ईश्वर पोखरेलले ४ हजार ७०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल विजयी भएका छन् । उनले २७ हजार ९ सय १६ मत पाएका छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीलाई २१ हजार २ सय ४९ मतको विशाल मतान्तरले पराजित गरे । क्षेत्रीले ६ हजार ६ सय ६७ मत पाएका थिए । गत निर्वाचनमा पनि खनालले जितेका थिए ।
काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार उनले २७ हजार ८ सय ५ मत प्राप्त गरे । पराजुलीले उक्त निर्वाचन क्षेत्रमा दोस्रो पटक जितेका हुन् । यसअघि २०७९ निर्वाचनमा पनि उनी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रमोदहरि गुरागाईंले ३ हजार ९ सय ८२ मत ल्याए ।
यस्तै, काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५ सय ९२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका सुमन सायमीले ३ हजार २ सय १७ मत ल्याएका थिए । गत निर्वाचनमा पनि श्रेष्ठले सोही निर्वाचन क्षेत्रबाट जितेका थिए । काठमाडौं–१० मा पनि रास्वपा उम्मेदवार प्रदिप बिष्ट निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार शुक्रबार राति सकिएको अन्तिम मतपरिणामअनुसार उनले ३७ हजार ४ सय ६९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी कांग्रेसका हिमाल कार्कीले ८ हजार १ सय मत ल्याए ।
यस्तै, मतगणना भइरहेका काठमाडौं उपत्यकाका बाँकी निर्वाचन क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन् । काठमाडौं–२ मा रास्वपाका सुनील केसी अघि छन् । उनले बिहान २ बजेसम्मको मतगणनाअनुसार २४ हजार २ सय ६९ पाएका छन् । कांग्रेसका कविर शर्माले उनलाई पछ्याए पनि ठूलो मतान्तर छ । कबिरले ६ हजार ९ सय ८९ मत पाएका छन् ।
काठमाडौं–४ मा पनि रास्वपाका पुकार बमले कांग्रेसका सचिन तिमल्सेनालाई १६ हजारभन्दा बढी मतले पछि पारेका छन् । उनले २३ हजार ४ सय ८८ मत पाएका छन् । तिमल्सेनाले ६ हजार ९ सय ५९ मत पाएका छन् । यो क्षेत्रमा गत निर्वाचनमा कांग्रेस सभापति गगन थापाले जितेका थिए ।
काठमाडौं–९ मा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालको अग्रता छ । विजयोन्मुख रहेका उनले कांग्रेसकी नानीमैया बास्तोलालाई निकै पछि पारेका छन् । शुक्रबार रातिसम्म अर्यालले २७ हजार ४ सय १३ मत ल्याएका छन् भने बास्तोलाले ४ हजार ४ सय ३९ मत ल्याएकी छन् । गत निर्वाचनमा यहाँ एमालेका कृष्णगोपाल श्रेष्ठले जितेका थिए ।
ललितपुर–१ मा रास्वपाका बुद्धरत्न महर्जन अगाडि छन् । कांग्रेसका उदयशमशेर जबराले पछ्याइरहेका छन् । महर्जनले ११ हजार २ सय २ र राणाले ८ हजार ३ सय २ मत पाएका छन् । पछिल्लो निर्वाचनमा यो क्षेत्रबाट राणाले जितेका थिए । ललितपुर–२ मा रास्वपाकै जगदीश खरेल अगाडि छन् । उनलाई कांग्रेसका प्रेमकृष्ण महर्जनले पछ्याइरहेका छन् । खरेलले ७ हजार ३ सय ५ र महर्जनले १ हजार ४० पाएका छन् ।
रास्वपा उम्मेदवार तोसिमा कार्कीले ललितपुर–३ मा कांग्रेसका जितकुमार श्रेष्ठलाई १५ हजारभन्दा
बढी मतले पछि पारेकी छन् । कार्कीले १८ हजार ८ सय १८ र श्रेष्ठले ३ हजार ६ सय ५४ मत पाएका छन् । गत निर्वाचनमा पनि कार्कीले यही क्षेत्रबाट जितेकी थिइन् ।
यसअघि नेमकिपाले जित्दै आएको भक्तपुर–१ मा रास्वपा अघि छ । बिहान २ बजेसम्मको मतगणना अनुसार रास्वपाका रुकेश रञ्जितले २० हजार २ सय ५५ मत पाएका छन् भने नेमकिपाका प्रेम सुवालले १५ हजार ५ सय २० मत पाएका छन् । यो निर्वाचन क्षेत्रमा यसअघि प्रेम सुवालले जितेका थिए ।
भक्तपुर–२ मा रास्वपाका राजीव खत्रीले अग्रता लिएका छन् । एमाले सचिव महेश बस्नेत निकै पछि परेका छन् । खत्रीले २१ हजार ४ सय ७४ र बस्नेतले ५ हजार ६ सय ६३ मत पाएका छन् । गत निर्वाचनमा यहाँ कांग्रेसका दुर्लभ थापाले जितेका थिए ।
०७४ को निर्वाचनमा काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रहरू (काठमाडौं–१०, ललितपुर–३ र भक्तपुर–२) मध्ये एमाले ९ सिट (काठमाडौंमा ६, ललितपुरमा २, भक्तपुरमा १, कांग्रेस ४ सिट ( काठमाडौं क्षेत्र १, ४, ६ र १० र माओवादीले ललितपुरमा १ र नेमकिपाले भक्तपुर–१ मा जितेका थिए । ०७९ को निर्वाचनमा काठमाडौंबाट कांग्रेसले ५, रास्वपाले ४ र एमालेले १ सिट जितेका थिए । ललिपुरको तीन सिटमध्ये रास्वपाले एक जितेको थियो भने कांग्रेस र एमालेले १–१ सिट जितेका थिए । भक्तपुरमा कांग्रेसले एक र नेमकिपाले एक सिट जितेका थिए ।
