समानुपातिकमा पनि रास्वपाको अग्रता, यसरी हुन्छ सिट निर्धारण 

दलले प्राप्त गरेको मत प्रतिशतका आधारमा सिट भागबन्डा गरेपछि बन्दसूचीमा रहेका उम्मेदवार छनोट गरिन्छ ।

फाल्गुन २३, २०८२

दुर्गा दुलाल

RSP has lead in proportional representation too, this is how seats are determined

काठमाडौँ —  

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका अधिकांश क्षेत्रमा अग्रता लिइरहेको रास्वपा समानुपातिक मतगणनामा पनि अगाडि छ । प्रत्यक्षतर्फको गणना सकिएका निर्वाचन क्षेत्रमा समानुपातिक मतगणना भइरहेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार काठमाडौं १, ६ र ८ मा शुक्रबार नै समानुपातिकको मत गन्न थालिएको छ । शनिबार विहान ६ वजेसम्मको परिणामअनुसार रास्वपाले २२ हजार ४ सय ४२ मत पाएको छ । यो ५६ प्रतिशत हो ।  दोस्रो स्थानमा रहेको कांग्रेसले ७ हजार ५ सय ५ मत पाएको छ । राप्रपा ३ हजार १ सय ६५ मतसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको एमालेले २ हजार ९ सय ९० मत पाएको छ । पाँचौंमा श्रम संस्कृति पार्टी (९ सय ६०मत) र छैटौंमा नेपाली कम्युनिस्ट पार्टी (९ सय ५१ मत) छन् । 

सहायक प्रवक्ता जिसीका अनुसार हरेक गणनास्थलबाट समानुपातिक मत गनेर निर्वाचन आयोगमा पठाइन्छ । त्यसपछि आयोगले समानुपातिक मतका आधारमा १ सय १० सिट बाँडफाँड गर्छ । दलले समानुपातिक मत प्राप्त गर्न सदर मतको ३ प्रतिशत भने कटाउनुपर्छ । 

कसरी निर्धारण हुन्छ समानुपातिक सिट ? 

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ । समानुपातिक प्रणालीका लागि ६५ दलले उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् । दलले प्राप्त गरेको मत प्रतिशतका आधारमा सिट भागबन्डा गरेपछि बन्दसूचीमा रहेका उम्मेदवार छनोट गरिन्छ । 

RSP has lead in proportional representation too, this is how seats are determinedसमानुपातिकतर्फ मतगणनाको अन्तिम नतिजा आएपछि प्राप्त सदर मतको ३ प्रतिशतको अंकलाई ‘थ्रेसहोल्ड’ बनाइन्छ । त्यसपछि निर्वाचनमा भाग लिएका ६५ दलले समानुपातिकतर्फको निर्वाचनमा पाएको मत र ‘थ्रेसहोल्ड’को अंकसँग तुलना गरिन्छ । त्यस क्रममा ‘थ्रेसहोल्ड’ को सीमा पार गरेका दल र सीमा काट्न नसकेका दल विभाजन गरिन्छ । ‘थ्रेसहोल्ड’ को सीमा काट्न नसकेका दलहरू छनोट प्रक्रियाबाट बाहिरिन्छन् । बाहिरिएका दलले प्राप्त गरेको मतसमेत समानुपातिक निर्वाचनमा प्राप्त कुल सदर मतबाट घटाइन्छ । यसरी घटेपछि बाँकी मत हिसाब गरेर त्यसपछि समानुपातिकतर्फको निर्वाचनमा विजयी संख्या पाउन योग्य हुन्छ । यसरी योग्य दल र मतको छनोट हुन्छ ।

सिट निकाल्ने प्रक्रिया

‘थ्रेसहोल्ड’ पार गरेका दलले पाउने समानुपातिकको विजयी सिट निकाल्न ‘सेन्ट लग विधि’ प्रयोग गरिन्छ । यसका लागि १ देखि बढेको ११० वटा बिजोर भाजक निकालिन्छ । यी सबै बिजोर भाजकले समानुपातिकतर्फको निर्वाचन प्रक्रियामा योग्य (थ्रेसहोल्ड काटेका) दलले पाएको मतलाई भाज्य मान्दै भाग गरिन्छ । १ टेबलमा सबै दलको भाज्य अंकलाई भाग गर्दै जाँदा विभिन्न भागफल निस्कँदै जान्छ । यसरी निस्केको भागफलको ठूलो अंक निर्वाचित सिट हो । यो भनेको १ देखि ११० वटा बिजोर भाजक २१९ सम्म हुन्छ । दलले प्राप्त गरेको सबै मतपरिणामलाई २१९ सम्मले भाग गर्दा फरकफरक भागफल आउँछ ।

 प्रत्येक बिजोर अंकले भाग गर्दा त्यो महलमा प्राप्त भागफलमध्ये जुन दलको भागफल बढी हुन्छ, त्यो निर्वाचित सिट हुन्छ । यो भनेको पहिलो ठूलो भागफल दोस्रो ठूलो भागफल गर्दै क्रमशः ११० वटा ठूलो भागफल निस्कँदै जान्छ, ती सबै निर्वाचित सिट हुन् । यसरी निस्कने भागफल सबै महलमा एकै दलको नहुन सक्छ ।

 जसको भागफल हो, त्योअनुसार दलले जितेको सिट मान्दै जोडिन्छ, अनि दलको कुल विजयी सिट निस्कन्छ । यो क्रम ११० सिट निर्वाचित नहुन्जेल जारी रहन्छ । स्वभावतः दलले प्राप्त गरेको मतपरिणामअनुसार सिट तय हुन्छ । यो भनेको धेरै मत धेरै सिट, थोरै मत थोरै सिट पनि हो । यसरी दलले समानुपातिक निर्वाचनमा विजयी सिट प्राप्त गर्छन् ।

विजयी सिटमा 'क्लस्टर’ विभाजन प्रक्रिया

समानुपातिक निर्वाचनमा विजयी सिट निस्केपछि दलले ‘क्लस्टर’ भित्र प्राथमिकताक्रमका रहेका उम्मेदवारलाई निर्वाचित गराउन सिफारिस गर्छन् । यसरी सिफारिस गर्दा त्यस दलको राष्ट्रिय सभामा रहेका र प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित भएका सांसदको संख्याले कुन ‘क्लस्टर’ मा कति निर्वाचित गर्ने निर्धारण हुन्छ । संविधानमा भएको व्यवस्थाअनुसार दलित १३.८, आदिवासी जनजाति २८.७, मधेशी १५.३, थारू ६.६, मुस्लिम ४.४ र खसआर्य ३१.२ निर्वाचित हुनुपर्छ । यी सबै ‘क्लस्टर’मा ५० महिला अनिवार्य निर्वाचित गराउनुपर्छ ।  

समानुपातिक निर्वाचनमा पिछडिएको क्षेत्रबाट र अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन कम्तीमा ११ जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको हुनुपर्छ । कुनै दलले ११ जनाको समानुपातिकतर्फ विजयी सिट पायो भने ‘क्लस्टर’ अनुसार कसरी निर्वाचित गराउँछ त ? ११ जनामा सबैको प्रतिशतअनुसार विभाजन गर्दा आदिवासी जनजाति ३, खसआर्य ३, थारू १, दलित २, मधेशी २ गरी ११ जना निर्वाचित हुन्छन् । यी ११ जनामा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्छ । 

RSP has lead in proportional representation too, this is how seats are determined‘क्लस्टर’ मा निर्वाचित हुनेको संख्या नघटाई त्यस दलको प्रत्यक्षतर्फ निर्वाचित र राष्ट्रिय सभामा रहेका सांसद संख्या र प्रतिनिधित्व हुने ‘क्लस्टर’ ले समानुपातिकमा निर्वाचित हुने समूहमा प्रभाव पारेको हुन्छ । समानुपातिकको सिट बाँडफाँट गरेपछि दलले प्रत्यक्षमा कति सिट जितेको छ, राष्ट्रिय सभामा कति सांसद छन्, तीमध्ये कति महिला छन् भन्ने हिसाब गरेर संघीय संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।

निर्वाचन आयोगले सबै सर्त राखेर ‘क्लस्टर’ अनुसार निर्वाचित भएको प्राथमिकताक्रम उपलब्ध गराउन पत्राचार गर्छ । पत्राचारपछि प्राप्त प्राथमिकताक्रम प्रतिनिधित्वको प्रतिशत हेरेर निर्वाचन आयोगले विभिन्न दलबाट समानुपातिक प्रणालीमा निर्वाचित व्यक्तिहरूको सूची प्रकाशन गर्छ ।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully