संसदीय यात्रामा 'ह्याट्रिक' गरेका राजेन्द्रकुमार राई

यसअघि उनले २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जित हात पारिसकेका छन् ।

फाल्गुन २३, २०८२

रमेशचन्द्र अधिकारी

Rajendra Kumar Rai scores 'hat trick' in parliamentary tour

धनकुटा — प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट धनकुटाका उम्मेदवार राजेन्द्रकुमार राई संसदीय यात्रामा ह्याट्रिक गरेका छन् । 

राईले कुल १८ हजार  १ सय ३२ मतसहित जित हात पारेका हुन् । १७ जना अन्य उम्मेदवारलाई पछि पार्दै उनी विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले १४ हजार २ सय ५६ प्राप्त गरे। श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राई ११ हजार ९ सय ३२ मत ल्याए।

पाख्रिबास नगरपालिका-७ राम्चे गाउँमा सामान्य कृषक परिवारमा विसं २०२२ भदौ २९ मा जन्मिएका राई नेकपा एमालेको नेतृत्वदायी भूमिकामा सफल पात्र मानिन्छन् । यसअघि उनले २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जित हात पारिसकेका छन् ।

हाल एमाले केन्द्रीय सदस्य समेत रहेका राई एक दशकसम्म पार्टीको जिल्ला अध्यक्ष रहेका थिए । राईले २०४९ सालमा जिल्ला विकास समिति सदस्यबाट जनप्रतिनिधिको यात्रा सुरु गरेका थिए । स्नातकसम्म अध्ययन गरेका राई धनकुटा-६ सिरानबजारस्थित गोकुण्डेश्वर माविमा पढ्दादेखि अनेरास्ववियुबाट तत्कालीन मालेसँग आवद्ध थिए।

२०४७ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्ष बनेका उनी युवा संघ नेपालको नेतृत्वमा समेत रहेका थिए । २०३६ सालमा अनेरास्ववियुको पाँचौं महाधिवेशनमा सबैभन्दा कम उमेरका प्रतिनिधि बनेका उनी त्यसबेला ८ कक्षामा मात्र अध्ययनरत थिए । २०५४ सालमा उनी जिल्ला विकास समितिको उपसभापति समेत भएका थिए । १३ वर्षको उमेरमा २०३५ सालदेखि वामपन्थी राजनीतिमा होमिएका राई २०४६ सालमा राजनीतिक परिवर्तनको आन्दोलनमा जेलजीवन भोगेका थिए । उनले २०४२ देखि २०४६ सालसम्म भूमिगत जीवन बिताएका थिए । २०४६ चैत २७ मा बहुदल आएसँगै रिहा भएका थिए ।

त्यसपछि उनी क्रमश: पार्टीको सचिवालय सदस्यदेखि किसान महासंघको केन्द्रीय सदस्य बने । २०६६ सालमा जिल्लाको नेतृत्व संगाल्दै आएका राई चिया तथा राष्ट्रिय कफी तथा चिया विकास बोर्डका केन्द्रीय उपाध्यक्ष बने । हाल उनी एमालेको जिल्ला इन्चार्जको रुपमा कार्यरत छन् ।

२०७० को संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नं २ मा उम्मेदवार बनेका उनी तत्कालीन समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री सुनिलबहादुर थापासँग पराजित भएका थिए । त्यसपछि दुई पटक सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थापालाई नै पराजित गर्दै राई विजयी बनेका थिए । 'यसअघि पनि मैले सकेसम्म जिल्लाबासीको लागि काम गरेको हुँ,' उनले भने, 'अब बाँकी काम योजनावद्ध रुपमा सम्पन्न गर्ने अठोट लिएको छु।' 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully