ओलीले भक्तपुरमा मत खसालेपछि २१ फागुनमा पत्रकारसँग भनेका थिए,‘एमालेले भरसक बहुमत ल्याउँछ। बहुमत नआए पनि प्रमुख पार्टी त बन्छ । मलाई मेरो पार्टीले प्रधानमन्त्री बन्न भनेको छ ।’
विराटनगर — २०७९ को निर्वाचनको नतिजा सार्वजनिक भएपछि प्रमाणपत्र थाप्न झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ८ मंसिर २०७९ मा चन्द्रगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई ‘मामुली कुरा’ भएको बताएका थिए । उनले भनेका थिए, ‘स्वतन्त्र पार्टी मिडियाको कृपाले उदाएको हो, यो ठूलो कुरा होइन।’
तर, आज त्यही ‘मामुली’ ठानेको पार्टीले उनको राजनीतिक विरासतलाई चुनौती मात्रै दिएन, ‘लालकिल्ला’ नै भत्काइदियो । ‘सधैं ५० हजार मतान्तरले जित्ने यो क्षेत्रको मतान्तर कति होला ?’ ओलीले भनेका थिए,‘डबल ।’ सधैं भारी मतले अरुलाई हराउने नेता ओली अहिले तेब्बर बढी मतले आफै पराजित भए । रास्वपाका बालेन्द्र शाहले ६८ हजार ३ सय ४८ मत पाउँदा ओलीले १८ हजार ७ सय ३४ मत मात्रै पाए ।
रास्वपाको चुनावी आँधीले एमाले अध्यक्ष ओलीसहितका एमाले हस्तीहरुलाई देशभर पराजति गरेको छ । अन्य दलका दिग्गज नेताहरु पनि पराजित भएका छन् ।
प्रधानमन्त्री रहेका बेला ओलीले काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्रलाई तबला उपहार दिएका थिए । त्यो उपहार किन दिएका थिए भन्ने खासै चर्चा भएन । तर, यो निर्वाचनले भने प्रतीकात्मक रूपमा त्यही तबलाको ताल ओलीकै राजनीतिमाथि बजाइदिएको जस्तो देखियो ।
ओलीको राजनीतिक चरित्र सधैं आफूलाई ‘महान’ र अरूलाई ‘निम्छरो’ ठान्ने शैलीसँग जोडिन्छ । उनी अत्यन्त आत्मविश्वासी नेता मानिन्छन् । त्यही भएर जे मन लाग्यो फ्याट्ट बोलिहाल्ने उनको बानी छ । लामो समयदेखि प्रत्यारोपित मिर्गौलाको सहारामा भए पनि उनी सक्रिय राजनीतिक जीवनमा छन् । विरोधीलाई व्यंग्य गर्न माहिर उनले प्रयोग गर्ने उखान–टुक्का पनि चर्चामा आउने गर्छन् । निर्वाचनताका सामाजिक सञ्जालमा सार्वजनिक भएका उनका दर्जनौं भिडियो क्लिपहरूले त्यसको झल्को दिन्छन् ।
चुनावको दिनसम्म ओली बोलिरहे । बालेन्द्र मौन बसे । चुनावपछि भने उनको आवाज खासै सुनिएको छैन । भक्तपुरमा मत खसालेपछि उनले २१ फागुनमा पत्रकारसँग भनेका थिए,‘एमालेले भरसक बहुमत ल्याउँछ । बहुमत नआए पनि प्रमुख पार्टी त बन्छ । मलाई मेरो पार्टीले प्रधानमन्त्री बन्न भनेको छ ।’
केही महिनाअघिको एक भिडियोमा एक पत्रकार सोध्छन्, ‘बालेन शाहसँग प्रतिस्पर्धा भयो भने तपाईंको जित निश्चित छ ?’ ओली पुरानै शैलीमा जवाफ फर्काउँछन्, ‘के सोध्या हो यो ?’
झापामै चुनावी प्रचारका क्रममा अर्का पत्रकारले प्रश्न गरेका थिए,‘चुनावमा जित–हारको महत्व कति छ ?’ ओलीको उत्तर थियो, ‘अवश्य महत्व छ । तर, मेरा लागि कि अरूका लागि ? मेरा लागि कहाँबाट ल्याउनु भयो हार भन्ने शब्द?’
एक अन्तर्वार्तामा त उनले नेपालमै सर्वाधिक मत ल्याएर जित्ने दाबीसमेत गरेका थिए । ‘६० हजार मत सूर्य चिन्हमा आउँछ । अरू मत २३ जना उम्मेदवारमा बाँडिन्छ,’ उनले भनेका थिए ।
अर्को भिडियोमा उनलाई सोधिएको थियो,‘फागुन २१ पछि रास्वपाकै सरकार बन्छ ?’ ओलीले हाँस्दै जवाफ दिएका थिए,‘फागुन २१ अघि रास्वपाकै सरकार छ, त्यसपछि त गयो ।’
तर समयले कोल्टे फेर्यो । जेनजी आन्दोलनपछिको चुनावी परिणामले देखायो, कि राजनीतिमा प्रतिद्वन्द्वीलाई ‘मामुली’ ठान्नु कति महंगो पर्न सक्छ भन्ने कुरा । अरूलाई कम आँक्ने ‘ओली प्रवृति’ अन्ततः आफ्नै लागि घातक बन्न सक्छ भन्ने उदाहरणका रूपमा ओलीको यो पराजय अविस्मरणीय मात्रै बनेन, इतिहासका पानामा लेखिने पक्का भयो । नयाँ राजनीतिक शक्तिहरूको उदयलाई हल्का रूपमा लिनुको परिणाम के हुन्छ भन्ने पाठ पनि यो निर्वाचनले दिएको छ । राजनीतिमा समय सधैं ‘दाहिना’ रहँदैन । कहिले ताल बजाउनेले बजाउँछ, कहिले ताल सुन्नेले । यसपटक भने ताल सुन्नुपर्ने अवस्थामा पुगेका छन् ओली ।
ओली ०४८, २०५१ र २०५६ मा तत्कालीन झापा-६ बाट निर्वाचित भई संसदीय दलको उपनेतासम्मको जिम्मेवारीमा पुगेका थिए । संविधानसभा सदस्य निर्वाचन २०७० मा झापा-७ बाट निर्वाचित भएका उनले २०७४ मा संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि झापा ५ बाट निर्वाचित भएका थिए।
